देउवा र पौडेल पुनः भिड्दै

काठमाडौं, २३ चैत । 
नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पार्टी नेता रामचन्द्र पौडेलबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा प्रतिस्पर्धा गरेको एक महिना बित्न नपाउँदै देउवा र पौडेल संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।
भोली बुधवार हुने निर्वाचनका लागि देउवा र पौडेल दुवैले उम्मेदवारी दर्ता गराएका छन् । देउवाको प्रस्तावकमा फरमुल्ला मन्सुर छन भने समर्थकमा पद्मनारायण चौधरी रहेको सांसद चन्द्र भण्डारीले जानकारी दिए ।
यस्तै पार्टी सभापतिमा देउवासँग पराजित भएका नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर नेता पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह छन् भने समर्थकमा महामन्त्री शशांक कोइराला छन् ।
१३ औं महाधिवेशनमा देउवालाई सभापतिमा समर्थन गर्ने सांसद संख्यालाई आँकलन गर्दै देउवा पक्ष  संसदीय दलमा सुविधाजनक बहुमत पुग्नेमा ढुक्क छन् । तत्कालीन सभापति सुशील कोइरालासँग २०७० माघ १२ गते भएको संसदीय दलको निर्वाचनमा देउवा १६ मतले पछि परेका थिए । त्यतिबेला कोइरालापक्षका भनिएका अर्जुननरसिंह केसी, जगदिश्वरनरसिंह केसी, कुलबहादुर गुरुङ्ग, चन्द्र भण्डारी, मानबहादुर विक, अमृत अर्याल, सूर्यमान गुरुङ, फर्मुल्लाह मन्सुर, केशवकुमार बुढाथोकी, अर्जुनप्रसाद जोशी, मधु शाही, अमरेशकुमार सिंहसहित नेता महाधिवेशनमा देउवाको पक्षमा उभिएका थिए । त्यस्तै, कोइरालाको पक्षमा देखिएका तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला, गगनकुमार थापा, तारामान गुरुङ्ग, उषा गुरुङ्ग, गणेशप्रसाद बिमलीसहित नेता १३ औं महाधिवेशनमा नेता पौडेलको विपक्षमा देखिएका थिए । त्यसको लाभ देउवालाई पुग्नसक्ने निकट नेताहरूको विश्लेषण छ । 
प्रकाशित मितिः   २३ चैत्र २०७२, मंगलवार ०६:४८