संगठन विस्तारमा राप्रपा प्रजातान्त्रिक
सुर्खेत, २९ भदौ । (साबिस)
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सुर्खेतले संगठन विस्तारमा जोड दिँदै घरदैलो कार्यक्रम गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्ला, नगर, गाउँ, वडा हुँदै घरघरसम्म पुग्नेगरी संगठन विस्तार अभियान सञ्चालन गरिने जनाइएको छ ।
पार्टीको विधान बमोजिम स्थानीय तहदेखि प्रदेशसम्मका कार्य समितिहरूमा हेरफेर, पुनर्गठन, जनजागरण अभियान चलाउने उद्देश्यका साथ सुर्खेतको वीरेन्द्रनगरमा पार्टीका कर्णाली प्रदेश इञ्चार्ज दीपबहादुर शाहीको प्रमुख आतिथ्यतामा जिल्ला कार्य समितिको बैठकसमेत शुक्रवार सम्पन्न भएको छ । उक्त बैठकले संगठन विस्तारलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको सुर्खेत जिल्ला कार्य समितिका अध्यक्ष कविराम पुरीले जानकारी दिए ।
हिन्दु राष्ट्र पुनस्र्थापनादेखि संवैधानिक राजतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्थाका लागि समृद्धवादको आवश्यकतालाई पूरा गर्ने कार्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अब जनताका घरदैलोमा पुग्ने अध्यक्ष पुरीको भनाइ थियो । प्रदेश इन्चार्ज शाहीले करिब एक वर्ष अगाडि भएका विभिन्न निर्वाचनमा विभिन्न कारणले पार्टीले हार व्यहोर्नु परेता पनि त्यसबाट नेता तथा कार्यकर्ता विचलित नभएको र अझ कटिबद्ध भएर संगठन विस्तारमा लागेको बताए । बैठकमा पार्टीका केन्द्रीय सदस्य बसन्तकुमार थापाले बाह्य शक्तिका कारण एकीकृत भएको पार्टीमा फेरि फुटको सिर्जना गरेर कसैले स्वार्थपूर्ति गरे पनि अब फेरि पार्टी एकताको लागि जोड दिइने र राष्ट्रवादलाई बलियो बनाउने अभिभारा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को काँधमा आएकोले जनताले साथ दिनेमा विश्वास व्यक्त गरे । उनले भने, ‘बीपीको सिद्धान्तबाट विचलित भएको कांग्रेस थला परिसकेकोले देशमा प्रजातान्त्रिक शक्तिको रूपमा जनताले विकल्प खोजेका छन् त्यो हामी पूरा गर्छौं ।’
कार्यक्रममा पार्टीको सुर्खेतस्थित सबै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू लगायत जिल्ला कार्य समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो । उक्त बैठकमा पार्टीलाई स्थानीय तहमा संगठित गरेर लैजान उपस्थित नेता तथा कार्यकर्ताहरूले सुझाव प्रस्तुत गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले सुर्खेतका नौ वटै स्थानीय तहमा संगठन विस्तारका लागि समितिहरू समेत गठन गरेको छ भने प्रदेश इन्चार्जको संयोजकत्वमा अनुगमन तथा व्यवस्थापन समिति समेत गठन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) पछिल्लो समयमा प्रत्येक जिल्लाहरूमा संगठन विस्तार कार्यमा जुटेको छ । प्रत्येक प्रदेशहरूमा व्यापक जनसहभागितासहितको कार्यक्रम गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) जिल्ला कार्य समिति सुर्खेतले जनाएको छ ।
साझा बिसौनी ।