लक्ष्य भेट्न दृढसंकल्पित
‘गाउँबाट डाक्टर बन्ने सपना बोकेर राजधानी आएको छु’
गुराँस गाउँपालिका–७ लालीकाँडा दैलेखमा वि.स. २०५७ साल माघ १६ गते जन्मिएका दिपेन्द्र कुमार विसी (दिपु) घरका कान्छा छोरा हुन् । बुवा विरेन्द्रकुमार विसी र आमा टिका विसीको कोखबाट जन्मिएका दिपेन्द्र सानैदेखी जिज्ञासु स्वाभावका थिए । नयाँ ठाउँको भ्रमण गर्न र नयाँ मान्छेहरूसँग परिचय गर्न रुचाउने उनी पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय हुन्छन् । सानैदेखी डाक्टर बन्ने सपना देखेका दिपेन्द्रका बुवाआमाको पनि सपना छोरो डाक्टर बनेको हेर्ने छ । अमरज्योती नमुना माध्यामीक विद्यालय सुर्खेतमा विज्ञान विषय पढ्दै गरेका दिपेन्द्र बिसीले आफ्नो कलेज लाईफका बारेमा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खुलाए :
मेरो सपना नै बुवाआमाको सपना
-मेरो सानैदेखीको सपना हो, डाक्टर बन्नु । बुवाआमाको चाहना पनि त्यही नै छ । बुवा भारतमा मजदुरी गर्नुहुन्छ । आमा घरमा खेती किसानी गर्नुहुन्छ । मैले वि.स. २०७४ सालमा शान्ति माध्यमिक विद्यालय लालीकाँडा दैलेखबाट एसइइ उत्तीर्ण गरेपछि डाक्टर बन्ने सपना पुरा गर्नको लागी वीेरेन्द्रनगर झरें । मेरो बुवाआमाले मलाई साथ दिनु भयो । घरको आर्थिक अवस्था जस्तो भएपनि मेरो सपनाको लागी मेरो आमा बुवा दिन रात पसिना बगाउंदै हुनुहुन्छ ।
हुन त हरेक बुवाआमा आºनो सन्तानको लागी जस्तो सुकै दुख गर्न तयार हुन्छन् । मेरो बुवाआमा पनि मेरो सपना पुरा गर्नको लागी दिनरात दुख गर्नुभएको छ । म पनी मेरो सपना र बुवाआमाको म प्रतीको विस्वास मर्न नदिनको लागी दिनरात प्रयास गरिरहेको छु । मलाई पढाईको अलवा समाज सेवामा पनि तिव्र ईच्छा छ । म अन्याय सहन सक्दिनँ ।
कलेजको पहिलो दिन
-म गाउँमा जन्मेको मान्छे । शहरमा आउँदा सबै कुरा नौलो लाग्यो । म दोधारमा भईराखेँ । मैले मेरो सपना र बुवाआमाको विस्वास जित्न सक्छु की सक्दिन भन्ने मलाई लागिरह्यो । कलेजबाट फर्कंदा पनि मैले अरु केही सोचिनँ, मेरो बुवाआमाले मलाई मजदुरी गरेरै भएपनि डाक्टर बन्ने सपना बुनेर पढ्नको लागी पठाउनु भएको छ । सपना पुरा होलाकी नहोला भन्ने लागीरह्यो । कलेजको पहिलो दिनमै मैले साथीहरू धेरै नै बनाएँ ।
मलाई कलेजको पढाई र विद्यालयको पढाईमा एकदमै फरक लाग्यो । विद्यालयमा शिक्षकहरूले प्रत्यक्ष निगरानी गरेर पढाउने तर कलेजका त्यो वातावरण नपाईने । अर्को कुरा गाउँको सानो विद्यालयमा पढेको मान्छे । भौतिक संरचना र सेवासुविधामा एकदमै कमी तर शहरमा विद्यालयको वातारण सुविधा सम्पन्न देख्दा मलाई अचम्म लाग्यो । धेरै विद्यार्थी र सुविधा सम्पन्न विद्यालयको प्राङ्गणमा आफुलाई पाउँदा भाग्यमानी नै ठानेको थिएँ । म कलेजबाहेक घरमा ८ घण्टाजती पढ्ने गर्दछु ।
मलाई कलेजको राम्रो पक्ष भनेको विभिन्न विश्वविद्यालयहरूमा अध्यापन गराईरहेका शिक्षकहरूले अध्यापन गराउनु हुन्छ र नयाँ नयाँ साथीहरूसँग परिचय हुन्छ । आफुमा जिम्मेवारी थपिएको महशुष समेत हुने गर्दछ । नराम्रो पक्ष भनेको कलेजमा विद्यालयमा जस्तो कमजोर विद्यार्थीलाई सहयोग गर्ने भावना पाइदैन । ट्यालेण्ट विद्यार्थीमा मात्रै शिक्षकको ध्यान जाने गर्दछ मलाई त्यसमा अली दुख लाग्छ ।
पढाईमा नै केन्द्रीत
-प्रेम केटा र केटिमा मात्रै हुने चिज होईन । यो त सजिव प्राणि मात्र होइन निर्जीव सबै वस्तुमा हुने कुरा हो । हामी हरेक वस्तुलाई प्रेम गरेका हुन्छौं । हरेक काममा समेत हाम्रो प्रेम झल्कन्छ । तर मलाई केटा र केटीमा हुने प्रेमकोबारे कुनै परिभाषा पनि छैन र महसुष पनि छैन । कलेज लाईफ जो भविष्य बनाउने बेला हो यस्तो बेलामा गरेको प्रेमले भविष्य बिगार्छ मलाई यती मात्रै थाहा छ ।
मैले कलेज लाईफमा क्लास बङ्क पनि कहिल्यै गरेको छैन । फिल्म हेर्न पनि कहिल्यै गएको छैन । मलाई फिल्म हल कस्तो हुन्छ थाहा छैन । मलाई यति मात्रै थाहा छ कि मैले मेरो आमाबुवाको म माथीको विस्वास मर्न दिनु हुन्न ।
अर्को सपना
-म विद्यालय पढ्दादेखी नै विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिने गर्दथें । जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगीतामा प्रथम समेत भएको थिएँ । पढाईमा पनि कहिल्यै पास मात्रै भईनँ, प्रथम, द्धितिय र तृतीय स्थान कहिल्यै छुटेन । कलेज लाईफमा पनि मैले अतिरिक्त क्रियाकलापमा भाग लिने गरेको छु । प्रथम, द्धितिय स्थान सामान्य लाग्छ ।
मलाई जीवनमा डाक्टर बन्ने ठुलो ईच्छा छ । यदि कुनै कारणले मेरो सपना पुरा भएन भने मलाई राजनिती गरेर देशको नेतृत्व गर्ने तिव्र ईच्छा छ । र म मा त्यो गुण पनि छ जस्तो लाग्छ ।
साझा बिसौनी ।