यात्रुलाई सास्ती नै सास्ती

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ भदौ ।
दैलेखको भगवतिमाई गाउँपालिकाका प्रदिप खड्कासँग सार्वजनिक यातायातमा यात्रा गर्दा बेहोर्नु परेको सास्तीको फेहरिस्त नै छ । केही दिनअघि मात्रै सुर्खेतबाट दैलेख जान लागेका उनले अघिल्लो दिन नै टिकट लिन भ्याएनन् । भोलिपल्ट बिहान साढे चारबजे सुर्खेत बसपार्क पुगेका उनलाई टिकट काउण्टर नपुग्दै गाडी चालक र सहचालकहरूले तानातान गर्न थाले । उनीहरूको खिचातानीबाट उम्किएर उनी टिकट लिन काउण्टर पुगे ।
खड्कालाई आफ्नो गाडीमा लैजान दुई युवाबीच बाझाबाझ नै भयो । त्यसबाट उम्किएर काउण्टरमा पुगी टिकट लिएका उनले सीटमा बसेर यात्रा गर्न भने पाएनन् । उभिएरै गन्तव्यसम्म पुगे । ‘सीट मिलाउँछु भनेर भित्र पसेपछि बस हिँड्यो । तरभित्र उभिनका लागि समेत ठाउँ नपाइने अवस्था भएकाले उभिएरै कष्टकर यात्रा गरियो’ उनले भने ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकाका रामप्रसाद न्यौपानेलाई पनि सार्वजनिक यातायातमा यात्रा गर्नु जहिल्यै कष्टपूर्ण लाग्छ । ‘सीट क्षमताभन्दा दुई गुणा बढी यात्रुलाई भेडा कोचे जसरी राखेर बोक्छन्’ उनले भने, ‘पैसा कमाउने मोह भन्दा सुरक्षित यात्राको ग्यारेण्टी लिनुपर्ने जिम्मेवारी यातायात व्यवसायीको हो । यात्रा गरेपछि बिरामी हुुनुपर्ने अवस्था ग्रामीण क्षेत्रमा गुड्ने बसहरूमा छ ।’ सकस सीट नपाउनुको मात्रै होइन । उनी भन्छन्, ‘बसपार्क पुग्नेबित्तिकै आफ्नो गाडीमा बस्न जरजस्ती तानातान हुन्छ । अभद्र व्यवहार गरिन्छ । सीट क्षमताभन्दा बढी यात्रु कोचेर गाडी गुड्छन् । हो–हल्ला पनि त्यतिकै हुन्छ । गाडीमा यात्रा गर्नु भनेको सास्ती नै सास्ती खेप्नु हो । तर यस्ता सास्ती भोगेरै भए पनि यात्रा नगरी हुँदैन ।’
यस क्षेत्रमा सञ्चालन हुने अधिकांश सवारीका साधन पुराना र थोत्रा छन् । प्रदिपलाई थोत्रा बसको गन्धले नै सास्ती दिन्छ । ‘पुरानो गाडीको गन्धले नै वान्ता गराउँछ’ उनले भने, ‘त्यसमाथि असुरक्षित र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।’ कर्णालीका दुर्गम जिल्लाको सडकमा यातायात व्यवयासीहरूले घाटा हुने र कच्ची सडक भएकाले नयाँ बस सञ्चालन गर्न मान्दैनन् । पुराना बसहरू मात्रै पहाडी रुटमा सञ्चालन गर्ने गरेका छन् । एकातिर पुराना बस चढ्दा यात्रा असुरक्षित छ भने अर्काेतिर सवारी साधन पर्याप्त नहुँदा कष्टकर यात्रा गर्नुपर्ने बाध्यता र मारमा सर्वसाधारण रहेको उनले बताए । ‘बसभित्र यात्रु खचाखच भरिएका हुन्छन्, चेकपोष्टमा गाडी रोकिन्छ तर प्रहरीले बाहिरबाटै हेरेजस्तो गर्छ’ उनले भने, ‘चेकपोष्टमा पनि चेकजाँचमा कडाइ हुँदैन् । यहाँ नजिकै झर्ने यात्रु हुन् भन्दैमा बस छोडिन्छ । चेकजाँचमा लापरबाही हुँदा यात्रुले सुरक्षित यात्रा गर्न पाएका छैनन् ।’ सरकारले वृद्धवृद्धा, अपाङ्गता, असाहयलाई सार्वजनिक यातायातमा यात्रा गर्दा भाडामा ५० प्रतिशत सौलियत दिने कानूनी व्यवस्था गरेको छ । तर, कहिल्यै पनि लक्षित वर्गले यातायातका साधनहरूमा सौलियत पाउन नसकेको उनको गुनासो छ ।
प्रदिप र रामप्रसादका लागि सार्वजनिक यातायातमा पाएको सास्ती कुनै नौलो होइन् । उनीहरूले जस्तै बसपार्कदेखि गन्तब्यमा पुग्दासम्म हरेक यात्रुले दैनिक जसो यस्तै सकस भोग्नुपर्छ । सुर्खेतदेखि छुट्ने छोटो दूरीका यातायातमा सधैं यात्रुलाई सास्ती हुने गरेको छ । वीरेन्द्रनगर बजार क्षेत्रमा गुड्ने अटोरिक्सादेखि ३२–४० सिटे बसहरूमा समेत आरामदायी यात्रा गर्न नपाएको गुनासो सर्वसाधारणले गर्न थालेका छन् । बसापर्कदेखि गन्तव्य पुग्दासम्म सवारी साधनका कर्मचारीहरूले गर्ने व्यवहारबाट सर्वसाधारणहरू आजित छन् । तर, प्रहरी प्रशासनदेखि यातायात व्यवसायीसमेत सर्वसाधारणले सास्ती खेप्नु नपरेको दाबी गर्दै आएका छन् ।
काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटा भने यात्रुहरूलाई कुनै सास्ती हुन नदिएर सेवा दिइरहेको बताउँछन् । उनले बसपार्कमा यात्रु तानातान गर्ने प्रचलन रोक्ने काम सुरु भएको समेत बताए । पछिल्लो समयमा बसपार्क शान्त बनेको उनले जिकीर गरे । यात्रुहरूलाई बसपार्कमा असहजता नभएको भन्दै उनले आगामी दिनमा सहज र सुलभ तथा भरपर्दाे सेवा प्रदान गर्ने रणनीति प्रहरी प्रशासन, यातायात व्यवसायी र आमनागरिकको सहयोगमा तयार पारिने बताए । ‘नागरिकबाट थुप्रै गुनासोहरू आएका छन्’ उनले भने, ‘सबै यातायात व्यवसायीहरू बसेर समस्या समाधानमा छौं ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले यात्रा गर्दा नागरिकले भोग्नुपरेका समस्या समाधान गरिने बताउँछन् । यसका लागि सवारी चेकजाँचमा कडाइ गरिने उनले बताए । उनले सवारी साधनमा भएका विकृतिहरू रोक्न नागरिक तहबाट पनि सहयोग हुनुपर्ने बताए । ‘बसपार्कका समस्या समाधान भइसकेको छ’ उनले भने, ‘अब नागरिकको सहयोगमा सवारी दुर्घटना रोक्ने र गन्तव्यसम्मको सुरक्षित यात्राको पहल हुन्छ ।’

प्रकाशित मितिः   २९ भाद्र २०७५, शुक्रबार १५:१५