सुर्खेत–जुम्ला हवाई सेवा सुरु

सुर्खेत, २७ भदौ । (साबिस)
सुर्खेतदेखि जुम्लाका लागि हवाई सेवा सुरु भएको छ । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टूरले व्यवस्थापन गर्ने गरी समिट एयरले सुर्खेत–जुम्ला उडान गरेको हो ।
कर्णाली प्रदेश पर्यटनमन्त्री नन्दसिंह बुढाले आफै चढेर सुर्खेत जुम्लाको हवाई यात्रा आरम्भसहित उद्घाटन गरेका हुन् । मन्त्री बुढाले पर्यटकीय दृष्टिकोण तथा सेवाग्राहीको सजिलोका लागि जुम्ला सुर्खेत उडान भएको बताए ।
उनले कर्णालीको विकासका लागि प्रदेश राजधानीबाट सबै जिल्लामा हवाई सेवा सञ्चालन गर्न अपरिहार्य रहेकोसमेत बताए । प्रदेश राजधानीलाई संघीय राजधानी र प्रदेशभित्रका सबै जिल्लासम्म हवाई सेवामार्फत् जोड्ने प्रदेश सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।
पहिलो पटक १८ जना यात्रुले सुर्खेत जुम्ला र १० जनाले जुम्लाबाट सुर्खेत यात्रा गरेका समिट एयर जुम्लाका इन्चार्ज सन्तोजङ्ग शाहीले जानकारी दिए । बुधवारदेखि सुरु भएको हवाई यात्राको भाडादर जुम्लाबाट सुर्खेतका लागि चार हजार र सुर्खेतबाट जुम्लाका लगि चार हजार एक सय रूपैयाँ निर्धारण गरिएको छ ।
गो कर्णाली टूर एण्ड ट्राभल्स तथा स्नोल्याण्ड होटल सञ्चालक पार्वती महतका अनुसार हरेक शुक्रवार र मंगलवार उडान हुनेछ । कर्णाली प्रदेशको राजधानी सुर्खेत भएको लामो समयपछि नेपालगन्ज र जुम्ला उडान सुरु भए पनि सुर्खेत जुम्ला हवाई उडान लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन ।

प्रकाशित मितिः   २८ भाद्र २०७५, बिहीबार १६:३४