उन्मुक्त उडान

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ भदौ ।
वीरेन्द्रनगरको कालुङ्गचौककी रैमति मगर बिहान उठ्नेबित्तिकै घर सफा गर्छिन् । चिया पकाउँछिन् । परिवारलाई बिहानको खाजा दिएपछि खाना पकाउन सुरु गर्छिन् । छोरा–छोरीलाई खाना खुवाएर विद्यालय पठाउँछिन् । परिवारलाई बिहानको खाना खुवाएपछि उनले दिनको काम थाल्छिन् ।
उनी बेलुका अबेरसम्म पनि निकै व्यस्त रहेन उनको दैनिकी घरायसी काममा नै बित्छ । फुर्सदको समयमा पनि घरकै काम र जिम्मेवारीलाई ध्यान दिन्छिन् । भन्छिन्, ‘घरको काम कति हो कति, बिहान उठेदेखि न काम गरे जस्तो न फुर्सद भए जस्तो । प्रायजसो दैनिकी काममा नै बित्छ । दशैं, तिहार, नयाँ वर्ष र मुख्य चाडपर्व आउँदा फुर्सद भएको महसुस हुन्छ ।’ काम विशेषले मात्रै वीरेन्द्रनगर बजारतिर आउने उनी घुम्न र खुलेरै रमाउने अवसर खासै पाउँदिनन् । आफन्त कहाँ र घरबाहिर गएपछि घरमा के गरे भन्ने चिन्ता हुन्छ उनलाई । ‘कहिल्ये काहीं घर छोडेर बाहिर गए पनि निर्धक्क मन बस्दैन’ उनले भनिन्, ‘घरमा के गरे, कसो गरे चिन्ता हुन्छ ।’ तर, बुधवार भने उनले आफ्नो अन्य दिनहरूको दैनिकी सबै भुलेर खुशीका साथ वीरेन्द्रनगरस्थित खुला मञ्चमा बिताइन् ।
वीरेन्द्रनगरकै ६२ वर्षीया जमुना ढकालको दैनिकी पनि निकै व्यस्त भएर बित्छ । बिहान उठेपछि घरका सदस्यहरूको जिम्मेवार बाँडफाँड र कामकाजमा नै दिन खर्चिन्छिन् । अन्य कामका लागि फुर्सद हुदैन । कहिले काहीं फुर्सद भइहाले पसलमा पालो दिन्छिन् । ‘खासै फुर्सद नै हुँदैन, घरमा केही न केही त काम परेकै हुन्छ’ उनले भनिन्, ‘आफन्तहरूसँग पनि खासै भेटघाट हुँदैन ।’ सधैंजसो निकै व्यस्त रहने जमुना पनि बुधवार बिहान ११ बजेदेखि नै वीरेन्द्रनगरको खुल्ला मञ्च पुगिन् । व्यस्त दैनिकी भुलेर छिमेकीसहित वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा पुगेकी उनी बेलुका झिसमिसे साँझ परेपछि मात्रै घरतर्फ हिँडिन् । दिनभर खुल्ला मञ्चमा मन खोलेर नाचिन्, गाइन् र रमाइन् ।
रैमती र जमुनाका लागि बुधवारको दिन घरायसी कामकाजबाट उन्मुक्ति पाएको जस्तै भयो । अन्य दिनमा छरछिमेकका दिदी बहिनीहरूसँग पनि भेटघाट हुन मुस्किल पर्ने रमैती बुधवार भने खुलामञ्चमा सबै छरछिमेकीका साथ जम्मा भएर तीजको गीतमा कम्मर मर्काइरहेकी थिइन् । छिमेकी, आफन्त, चिनेजानेका, र नजिकका नातेदारहरू भेट्न पाउँदा निकै खुशी देखिन्थिन् । ‘एक वर्षमा एक पटक आउने तीजले सबै दुःख, पीडा र व्यस्तता भुलाउँछ’ उनले भनिन्, ‘बाल्यकालमा सँगै हुर्के खेलेका साथीसंगीसँग भेट भयो । घरमा छोरी, बुहारी सबै जम्मा भएका छन् । बुढेसकालमा यो भन्दा खुशी अरु के हुनसक्छ ?’
वीरेन्द्रनगर–१० बुदबुदीकी परमिता नेपाली पनि बुधवार दिउँसो आफ्नो व्यस्त दैनिकी भुलेर खुल्ला मञ्च पुगेकी थिइन् । तीजको दिन आफ्ना लागि उन्मुक्ति र हर्षको दिनको रूपमा आउने गरेको उनले सुनाइन् । ‘घरायसी काममा व्यस्त हुँदा पिंजडामा परेको चरीजस्तै हुनुपर्छ’ उनले भनिन्, ‘आज त घरको चिन्ता छैन, दिदी बहिनीहरूसँग नाँच्ने हो, रमाउने हो ।’
परमिता, रैमती र जमुना जस्तै प्राय घरायसी कामकाजमा नै व्यस्त रहने महिलाहरू बुधवार खुलामञ्चमा उन्मुक्त भएर तीजको भाकामा नाचिरहेका थिए । कोही गीतमार्फत् आफ्ना कथा–व्यथा पोखिरहेका थिए भने कोही डेजमा गीत बजाएर कम्मर मर्काइरहेका थिए । अन्य दिनहरूमा खाली देखिने खुल्ला मञ्च बुधवार भने रंगीचंगी लुगामा सजिएका महिलाहरूको बाक्लो उपस्थितिले भरिभराउँ थियो । कोही रातो सारी, छड्के तिलहरीमा सजिएर
समूह–समूहमा विभाजित भइ नारीहरूले पराइको घर जाँदाका दुःख, घरपरिवारको व्यवहार, माइत जान नपाउँदाको पीडा, आमा–बुबा, दाजुभाइसँग भेट्न पाउँदाको हर्ष गीतको भावबाट पोखिरहेका थिए भने कतिपयले नारी विलौनाका गीत गाएर, नाचेर रमाइलो गरी यस वर्षको हरितालिका तीज मनाइरहेका थिए । सुर्खेतसहित देशभर नै बुधवार हिन्दु धर्मामवलम्बी महिलाहरूले नाँचगानसहित यस वर्षको तीज पर्वलाई बिदाई गरेका छन् ।

प्रकाशित मितिः   २८ भाद्र २०७५, बिहीबार १६:३९