महिला हिंसा र समाधान

रविकिरण हमाल
नेपाली समाज लामो समय एकात्मक निरंकुश शासन व्यवस्थाको जञ्जिरमा बाधिएको थियो । मुलुक भौगोलिक रूपमा स्वाधीन भए पनि जनताको स्वाधिनता र स्वतन्त्रता कुन्ठित गरिएको थियो । पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि चली आएको महिलाप्रतिको भेदभावपूर्ण व्यवहार नेपाली समाजको यथार्थ हो । खासगरी १० वर्षे माओवादी आन्दोलनले नेपाली समाजमा विद्यमान लिङ्ग, जात, भाषा, धर्मको आधारमा भएको उत्पीडन विरुद्ध लड्न उत्प्रेरित गरेको थियो । हामी अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छांै, अहिले पनि महिलामाथि हिंसा उत्तिकै मात्रामा भइरहेको पाइन्छ । कसरी महिलामाथि हुने हिंसा र विभेद सकिएला चर्चा गरौ ।
अधिकार
हिंसा अक्सर शक्तिशालीहरूले नै गर्छन्, चाहे राजनैतिक अधिकार, चाहे आर्थिक अधिकारमा हुन् । नेपालमा राजनैतिक, आर्थिक वा सामाजिक कुरामा डिसिजन गर्ने सबै ठाँउमा पुरुषहरू बलियो अवस्थामा छन् । पहुँच र नियन्त्रणबीच ठूलो फरक छ । महिलालाहरूलाई कुनै कुरामा पहुँच मात्र दिएर पुग्दैन, त्यसमाथि नियन्त्रणको अधिकार पनि दिनुपर्छ । सामान्य उदाहरण, विद्यालयसम्म पहुँच पु¥याउने तर उनीहरूले मन लागेको विषय पढ्न नपाउने, घरपरिवार, छिमेकी वा शिक्षकले निर्धारण गर्ने भयो भने त्यो पूर्णअधिकार भएन ।
नेपाल जस्तो कृषिप्रधान देशमामा करिब ७५ प्रतिशत महिलाहरू कृषि पेसामा आवद्ध छन् तर १९.७ प्रतिशत महिलाहरूको नाममा पाँच प्रतिशत जमीन रहेको छ । ५१ प्रतिशत जनसंख्या भएको महिलालाई खासगरी जमिन माथि उत्तिकै नियन्त्रणकारी अधिकार प्रदान गर्नुपर्छ । महिलाहरूले घरभित्र, खेतबारीमा गरेको श्रमको कतै पनि लेखाजोखा गरेको पाइदैन, सरकारले गृहणीहरूको पनि श्रमलाई मान्यता दिनुपर्छ । वि.सं. २०६४ सालदेखि सदनमा पहिलाको तुलना गर्ने हो भने उल्लेखनीय मात्रामा उपस्थिति रहेको पाइन्छ, २०६४ पहिला संसदमा महिलाको प्रतिनिधित्व पाँच प्रतिशत भन्दा माथि पुग्न सकेको थिएन, २०६४ को संविधानसभामा ३३ प्रतिशत प्रतिनिधित्व थियो । गतसाल भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका र नगरपालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य थियो, अधिकांश राजनैतिक दलहरूले प्रमुख पदमा पुरुष उम्मेदवार उठाएका कारण दुई प्रतिशत महिलाहरू मात्र प्रमुख पदमा निर्वाचित भएका थिए । सबै राजनैतिक दलहरूले महिलाहरूलाई उत्तिकै महत्व दिएर नेतृत्व विकासमा जोड गर्नुपर्ने आजको आवश्यकता हो ।
हामीले लोकतन्त्रलाई सहभागीतामूलक र उन्नत बनाउन प्रत्यक्ष लोकतान्त्रिक अभ्यास गरेमा मात्र सबैको नेतृत्व विकास हुनेछ । उनीहरूको नीति निर्माणको तहमा उल्लेखनीय सहभागीताले पनि महिलाहरूलाई थप ऊर्जा प्रदान गर्ने कुरामा दुई मत हुँदैन ।
शिक्षा र रोजगारी
एउटा चिनियाँ उखान छ, ‘एउटा व्यक्ति योग्य छ भने उसका पछाडि अनेक व्यक्ति योग्य हुन्छन् ।’ एजुकेशन एक्टिभिस्ट मलालाको भनाइ छ, ‘संसार भरिका युवतीहरूसँग मेरो अपिल, आउ किताब र कलम उठाऔं । यो हाम्रो शक्तिशाली हतियार हो ।’ एक बच्चा, एक शिक्षक, एक किताब र एउटा कलमले नै संसार बदल्न सक्छ । समस्यालाई निर्मूल गर्नका लागि शिक्षा मात्रै एउटा समाधान हो । नेपालीको साक्षरता दर हेर्ने हो भने पुरुष ७६.४ प्रतिशत छ भने महिलाको ५३.१ प्रतिशत रहेको छ । शिक्षाले मानिसलाई चेतनशील बनाउछ, उनीहरूले आफ्नो अधिकार कसरी प्रयोग गर्ने भन्ने कुराको जानकारी पनि प्राप्त गर्ने गर्छन । शिक्षा प्राप्त गरेका महिलाहरूका सामु थुप्रै अवसरहरू हुन्छन्, सम्भावनाका ढोकाहरू खुल्छ्न जसले गर्दा उनीहरू अरुमा निर्भर हुने बाध्यता हट्नेछ । संसारमा जति पनि महिलाहरू प्रगति उन्नति गरेका छन् उनीहरू शिक्षित भएरै सफलता हासिल गरेका हुन्, हिलारी क्लिन्टन, सोनिया गान्धी, पारिजात आदि महिलाहरूको सफलताको कारण शिक्षा नै हो । रोजगारीका अवसरहरूको सिर्जना शिक्षाले नै गर्छ, विशेष गरेर प्राविधिक शिक्षाले रोजगारी पाउन सहज वातावरण निर्माण गर्छ, हामीले नैतिक शिक्षालाई पनि उत्तिकै महŒव दिनुपर्ने हुन्छ । हाम्रा युवा युवतीहरूलाई नैतिकवान बनाउने कुरामा समाज सदैव सजक र जिम्मेवार बन्नुपर्छ । महिला वा पुरुष बेरोजगार भएमा अनेक किसिममा नकारात्मक कर्ममा हात हाल्ने प्रवल सम्भावना रहन्छ, त्यसैले रोजगारीको हक सुनिश्चित गर्न सरकार र निजि छेत्र लाग्न जरुरी छ ।
धुम्रपान र लागू पदार्थ नियन्त्रण
हाम्रो शरीरमा विभिन्न थरिका हार्मोनहरू पाइन्छन् । नकारात्मक पदार्थ खाएमा वा सेवन गरेमा नकारात्मक हार्मोन बढी मात्रामा पैदा हुने गर्छ जसले दिमागलाई नकारात्मक काम गर्न प्रेरित गर्छ । समाजमा विभिन्न प्रकारका हत्या, हिंसा, बलात्कार, झगडा आदि जाड, रक्सी, गाजा र अन्य ड्रग्स सेवन गरेका व्यक्तिहरूबाट बढी मात्रामा हुने गरेको घटना छन् । नेपालका सहर वा गाउँका प्रत्येक पसलहरूमा मदिराजन्य पदर्थ सहजै पाउन सकिन्छ, गाउँघरमा घरेलुु जाँडरक्सी इजाजत विनै बनाउन दिने छाडा प्रथाका कारण विभिन्न समस्याहरू निम्तिरहेका छन् । मदिराजन्य पदार्थ सेवन गरेर घरमा गएका पुरुषले बालबच्चा र श्रीमतीलाई कुटपिट गर्ने गरेका घटना दिनहुँ बाहिर आउने गरेको पाइन्छ । स्थानीय सरकारले छाडा जाँडरक्सी बेच्ने र उत्पादन गर्ने कुरालाई कडाइ गर्नुपर्छ, सार्वजनिक ठाँउमा निषेध गर्नुपर्छ । सहजै जाँडरक्सी पाउने वातावरणको अन्त्य हुनुपर्छ ।
लागू पदार्थको सेवनले अहिले नेपाली युवायुवतीहरूको भविश्य अन्धकार बन्ने गम्भीर खतरा छ । गरिबी र बेरोजगारीका कारण शिक्षाबाट वञ्चित थुप्रै बालबालिका मुख्यत सिकार भएका छन् । लागू पदार्थ सेवन गर्ने लत बसेका मानिसहरू, त्यो प्राप्तीका लागि जस्तोसुकै हर्कत गर्न पछि हट्दैनन्, उनीहरूको दिमाग सही ठाँउमा नहुँदा हत्या र बलात्कार जस्ता अपराधहरू हुने गरेका छन् । जिम्मेवार सबै निकाय गम्भीरतापूर्वक लागेमा समाजमा शान्ति छाउनेछ ।
अश्लिल साइटमा सेन्सर
पूँजीवाद र उदारवादी धार भएका मुलुकहरूमा पोर्नोग्राफी एक उद्योगको रूपमा रहेको छ । अहिले नेपाल, भारत लगायत देशहरूमा पनि सजिलैसँग इन्टरनेटको माध्यमबाट पोर्न सामग्री पाउन सकिन्छ । हाम्रो देशमा पनि पोर्न उद्योग कमै मात्रामा भए पनि फस्टाउन थालेको देखिन्छ । पोर्नोग्राफीको कारणले बलात्कार, हिंसा जस्ता समस्याहरूलाई मलजल गरेको अध्ययनले देखाएको छ, मानिसले जे देख्यो त्यो गर्न खोज्नु स्वभावैले अन्यथा मान्नुहुँदैन तर गलत कुराहरूलाई निस्तेज गर्न सकिएको खण्डमा गलत हुनबाट जोगाउन सकिन्छ । पोर्नग्राफीलाई नियन्त्रण गर्न सूचना तथा सञ्चार मन्त्रालय गम्भीर भएर लाग्नुपर्छ । विशेषगरी कम उमेरका युवायुवतीहरू देखासिकी गर्ने नाउँमा विभिन्न गलत कर्तुतमा फसेका छन्, बढी चासो उनीहरूमा दिनुपर्छ ।
सन्तुलित भोजन र स्वच्छ वातावरण
हिंसा, हत्या आदिको बहस गर्दा सन्तुलित भोजन र स्वच्छ वातावरणकाको कुरा आउँदा आश्चर्य लाग्न सक्छ, तर मानीसको खानपिन राम्रो भएन भने शरीरले राम्रोसँग काम गर्दैन । विशेष गरी हाम्रो मानसपटलमा नकारात्मक कुराहरू बढी खेल्नुको एउटा कारण सन्तुलित भोजन र निद्राको कमि पनि हुन् । त्यस्तै स्वच्छ वातावरणले हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव पार्छ । राम्रो वातावरणमा मान्छे सिर्जनात्मक कुरामा बढी रुचि देखाउने गर्छ, सिर्जनाहरूको प्रस्फुटन हुनेगर्छ भने नकारात्मक वातावरणमा खराब चिन्तन हावी हुन्छ ।
यौन खुलस्तता
यौनलाई कुण्ठित गर्नु हुँदैन । यौन सम्पर्कका दुईवटा पाटा छन्, एक वंशको निरंतरता हो भने अर्को आनन्द वा रमाइलो अंग्रेजीमा प्लेजर पनि भनिन्छ । यौन सम्पर्क गर्ने कुरा अपराध होइन, प्राकृतिक प्रक्रिया हो । कसैको इच्छा विपरित गरिएको यौन सम्पर्क वा यौनजन्य क्रियाकलाप अपराध हो, कसैमाथिको नियन्त्रण हो । महिलामाथी हुने हिंसा प्रायः यौनजन्य गतिविधि बढी भएको पाइन्छ । युवा युवतीहरूले खुलेर यौनबारे बहस, छलफल नगर्दा यस्ता कुराहरूलाई गुम्स्याएर राख्दा थुप्रै समस्याहरू आउने गर्छन् । यौनप्रति सबैको उत्सुकता हुन्छ, जसलाई ठीक तरिकाले समाधान गर्नुपर्छ । यौन सम्पर्क गर्ने कुरालाई नेपाली समाजले गलत अर्थमा बुझाएको वा बुझाइ राखेको पाइन्छ जसलाई बदल्न जरुरी छ । यौन सम्पर्कलाई समाजिक प्रतिष्ठा र सम्मानको रूपमा ग्रहण गर्नु दुर्भाग्यपूर्ण छ । यौन सम्पर्क गरेमा इज्जत जाने जस्ता अत्यन्तै नकारात्मक चिन्तन हाम्रो समाजलाई मुक्त पार्नुपर्छ । आफ्ना सन्तानले यौन सम्पर्क गरेको सुनेर घरपरिवारले मान प्रतिस्ठा गुमेको सोच्नु र समाजले सोही कुरालाई सत्य स्थापित गर्ने बाटो गलत छ । अहिलेका युवायुवतीहरूले सकारात्मक तरिकाले यौन सम्पर्क भनेको प्राकृतिक कुरा हो, सुरक्षित यौन सम्पर्कले हामीलाई स्वस्थ बनाउँछ भन्ने हेक्का राख्नुपर्छ, इच्छा विपरित कुनै कुरा पनि सन्तोष मिल्दैन र त्यो बाटो समात्नु हुँदैन भनेर जनचेतना फैलाउन युवाहरू जुट्नुपर्छ ।
कडा कानुन
अपराधीलाई अन्तिम उपाय भनेको कानुन बमोजिम दण्ड दिने नै हो । अपराध गर्नेहरूलाई कडा कारबाही गरेमा अन्य मानिसहरू अपराध गर्न डराउँछन भन्ने मान्यता केही हदसम्म सत्य हो । अपराधीलाई सत्ता र शक्तिको दुरूपयोग गरेर उन्मुक्ति दिने जस्तो घृणित काम रोक्न सबै सचेत भएर लाग्नुपर्छ । नेपालमा घटनाको प्रवृत्ति हेरेर ५ देखि १५ वर्षसम्म जेल सजाय व्यवस्था भए पनि अहिले बलात्कारीलाई मृत्यु दण्ड दिन माग भइरहेको छ । बलात्कारीलाई एउटा अर्को सजाय उसको यौन निष्क्रिय बनाउने कुराको पनि बहस हुनुपर्छ ।
(लेखिक नयाँ शक्ति पार्टी नेपाल सुर्खेतका सचिवालय सदस्य हुन् ।)