कर्णालीमा स्वास्थ्योपचार पाउनै सकस

महिनौसम्म रोग पालेर बस्नुपर्ने बाध्यता, स्वास्थ्य संस्था पुग्नै कठिन


साझा बिसौनी संवाददाता
सुर्खेत, २६ भदौ ।
हातमा छाता, पिठ्युँमा बच्चा । साँझ छिप्पिनै लाग्दा चौरजहारी पुग्न हतारमा देखिन्थिन्, जाजरकोटको छेडाघाट नगरपालिका थलकी देवी खत्री । घरबाट बिहान १० बजे हिँडेकी खत्री साँझ साढे ६ बजे भेरी नगरपालिकामा पर्ने कुदु बजार पुगिन् । कुदुदेखि चौरजहारी पुग्न करिब १५ मिनेट लाग्छ । पहिलो पटक रुकुमको चौरजहारी हिँडेकी खत्री भेरी पुल तरेपछि अस्पताल कहाँ छ भन्ने अन्यौलमा परिन् । दिनभरी हिँडेर थाकेकी खत्रीलाई साँझ ढल्दै जाँदा एकातिर कहाँ बास बस्ने भन्ने चिन्ता थियो भने, अर्काेतिर उपचार हुने हो की होइन् भन्ने चिन्ताले पिरोलेको थियो । ‘चौरजहारी अस्पताल कता छ ?’ पुल कट्ने बित्तिकै उनले सोधिन्, ‘अस्पतालमा डाक्टरहरू छन् की छैनन् ?’
बिहान १० बजेदेखि जाजरकोटको थल बजारदेखि हिँडेकी खत्री छोरी र नातीसहित चौरजहारी पुगेकी थिइन् । जाजरकोटमा उपचारका लागि सुविधा सम्पन्न अस्पताल नभएपछि स्वास्थ्य जाँच गराउन अघिल्लो दिन नै चौरजहारी आएको उनले बताइन् । ‘सदरमुकाममा रहेको जिल्ला अस्पताल पुग्न दुई दिन लाग्छ’ उनले भनिन्, ‘घरबाट चौरजहारी नजिक पर्छ, खलङ्गा जाँदा र फर्किदा चार दिन लाग्छ ।’
४६ वर्षीया खत्रीको पेट विगत तीन महिनादेखि निरन्तर दुख्न थालेको हो । सुरु–सुरुमा नजिकैको स्वास्थ्यचौकीमा स्वास्थ्यजाँच गरेर औषधि सेवन गर्दै आएकी थिइन् । उनले प्राथमिक स्वास्थ्यचौकीबाट ल्याएको औषधिले रोग निको नभएपछि सुविधायुक्त अस्पताल खोज्दै रुकुमको चौरजहारी पुगेकी हुन् । ज्यानलाई बिसन्चो बढेपछि पश्चिम रुकुम पुगेकी उनले गुणस्तरीय र भरपर्दाे स्वास्थोपचार गाउँमा पाउन नसकेको गुनासो गरिन् । ‘गाउँ–गाउँमा सरकार आयो भन्छन् तर, जनताका दुःख कसैले देखेनन्’ उनले भनिन्, ‘पैसा नहुँदा निजी स्वास्थ्य संस्था र बाह्य जिल्ला गएर उपचार गराउन सकिएको छैन ।’
खत्री एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै जाजरकोटको छेडाघाट र भेरी नगरपालिकाका अधिकांश नागरिकहरू उपचारका लागि जिल्ला अस्पताल भन्दा पनि पश्चिम रुकुमको चौरजहारी अस्पताल पुग्ने गर्दछन् । जिल्ला अस्पताल पुग्न टाढा पर्ने भएकाले पनि चौरजहारी पुगेर उपचार गराउनुपर्ने बाध्यता त्यस क्षेत्रका नागरिकको छ । स्थानीय तहमा भएका स्वास्थ्यचौकीमा पर्याप्त औषधि नपाउने, जनशक्ति अभाव लगायतका समस्याले जाजरकोटमा मात्रै होइन् समग्र कर्णालीका नागरिकले भरपर्दाे स्वास्थ्य उपचार पाउन सकेका छैनन् । संविधान अनुसार नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने उल्लेख छ । तर, नागरिकले भने भरपर्दाे स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गर्दै आएका छन् ।
कर्णालीमा पर्याप्त स्वास्थ्य संस्था नै छैनन् । भएका स्वास्थ्य समस्या पनि अनेकौं समस्याबाट गुज्रदै आएका छन् । भौतिक पूर्वाधारको अभाव एकातिर छ भने आवश्यक र दक्ष जनशक्तिको अभाव, पर्याप्त औषधिको अभाव लगायतका समस्या यहाँका स्वास्थ्य संस्थाका साझा समस्या हुन् । जसले गर्दा नागरिकले सहज रूपमा स्वास्थ्योपचार पाउन सकेका छैनन् । भौगोलिक विकटताका कारण कम्तीमा पनि एक दिनदेखि तीन दिनसम्म हिँडेर स्वास्थ्य संस्था पुग्नेपर्ने अवस्था रहेको नागरिकहरूको गुनासो छ । सडक र सवारी साधनको पहुँच नपुगेका ग्रामीण क्षेत्रका नागरिक हिँडेर स्वास्थ्य संस्था पुगुञ्जेल थप बिरामी पर्ने गरेका छन् ।
यता कर्णाली प्रदेश सरकारले भने प्रदेशका सबै नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित आफ्ना कार्यक्रम तर्जुमा गरेको जनाएको छ । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधार, भौतिक संरचना निर्माण, स्तरोन्नति लगायतका योजनाहरू चालु आर्थिक वर्षमा सञ्चालन गर्ने भएको छ । कर्णालीका १० वटै जिल्ला तथा स्थानीय तहसम्म भरपर्दाे स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहितका कार्यक्रम बजेटमा समेत समेटिएको छ । सामाजिक विकास मन्त्रालयले जिल्ला तथा स्थानीय स्तरको अस्पतालको भौतिक सुधार र विस्तार गर्न, ल्याब सेवा स्तर वृद्धि तथा विस्तार गर्न बजेट विनियोजन गरेको छ । जिल्ला अस्पतालको भौतिक सुधारका लागि दुई करोड, स्वास्थ्य संस्थाको सेवा वृद्धिका लागि एक करोड, एम्वुलेन्स खरिदमा दुई करोड ५० लाख, स्थानीय तथा जिल्लास्तरीय ल्याब सेवा विस्तार गर्न ६० लाख रूपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ । यसले यहाँका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   २७ भाद्र २०७५, बुधबार १६:३५