मुगुमा चामल अभाव

साझा बिसौनी संवाददाता
मुगु, २६ भदौ ।
जेठको अन्तिम सातादेखि भदौको तेस्रो सातासम्म लगातार परेको वर्षाले गमगढी–नाग्मा सडक खण्डमा गएको पहिरोले सडक अवरुद्ध भएपछि खाद्यान्न आपूर्तिमा समस्या भएको छ । खाद्य संस्थानमा गत आर्थिक वर्षमा जिल्लाका चार स्थानीय निकायलाई दिने भनिएको खाद्यन्न सकिएपछि जिल्लामा खाद्यान्नको चरम अभाव भएको हो ।
जिल्ला सदरमुकाम गमगढी जोड्ने सडकखण्डमा लगातारको वर्षाले गएको पहिरोले सडक यातायात अवरुद्ध भएपछि जिल्ला भर खाद्यान्नको चरम अभाव भएको हो । व्यापारीले बजारमा जसोतसो गरी ल्याएको खाद्यान्न लिन उपभोक्ताबीच तानातान हुन थालेको छ । जिल्ला खाद्य संस्थानमा जिल्लाका चार स्थानीय निकायलाई खाद्य संस्थान केन्द्रीय कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ का १८ हजार क्वीन्टल खाद्यान्न निर्धारण गरे पनि जिल्लामा १५ हजार क्वीन्टल खाद्यान्न मात्र संस्थानले आपूर्ति गरेको थियो । बाँकी तीन हजार क्वीन्टल खाद्यान्न आपूर्ति नगर्दा जिल्लामा खाद्यान्न अभाव भएका हो । बाँकी तीन हजार क्विन्टल खाद्यन्न खाद्य संस्थान केन्द्रीय कार्यालयले आपूर्ति गरेको भए यस्तो समस्या नहुने खाद्य संस्थान मुगुका प्रमुख भरत खनियाको भनाइ छ ।
खाद्य संस्थानमा तीन सय २३ क्वीन्टल खाद्यान्न मात्रै मौज्जाद छ । मौज्दात खाद्यान्न प्रति ३० केजीको बोराको एक हजार चार सय ४५ बाट एक हजार नौ सय मूल्य निर्धारण गरेपछी सेवाग्राही थप मर्कामा परेका छन् । जिल्ला खाद्य व्यवस्थापन समितिले चामलको मूल्य घटाउन र आवश्यक खाद्यान्न आपूर्ति गर्न खाद्य संस्थान केन्द्रीय कार्यालयलाई जानकारी गराएको छ । वर्षाले सडक अवरुद्ध भएपछि खाद्यान्न र दैनिक उपभोग्य सामग्री बोकेर आएका गाढी बीच बाटोमै रोकिएको छ । भरिया र खच्चडले बोकेर ल्याएको खाद्यान्न उपभोक्तामाझ पु¥याउन अझ सकिएको छैन ।
कतिपयले चामल नपाएको झोकमा झगडा गर्न आउने गरेको कामना स्टोर गमगढीका सञ्चालक बाँचु कला बुढाले बताइन् । ‘आफ्नो पसलबाट दैनिक ५० क्वीन्टल खाद्यान्न बिक्री हुने गरेको थियो’, कलाले भनिन्, ‘सडक अवरुद्ध भएपछि खच्चड र भरियाबाट ल्याएको एक दुई सय बोरा खाद्यान्न पसलमा आउनासाथ उपभोक्ताले तानतान हुने गरेको छ ।’
खाद्यान्न अभाव नभएका बेला बजारमा उपभोक्ताले खोजे अनुसार ३० केजी चामलको प्रति बोरा एक हजार ६ सयदेखि दुई हजार रूपैयाँमा किन्ने गरेका थिए । खाद्यान्न अभाव भएपछि बजारमा ३० केजी चामलको प्रति बोरा एक हजार आठ सयदेखि दुई हजार दुई सय रूपैयाँसम्म तिर्न बाध्य भएका छन् । खाद्य संस्थानले पनि कमसल खाले चामल बजारको भन्दा चर्को मूल्यमा बिक्री गरेको र त्यो पनि पाउन मुस्किल भएको उपभोक्ताको गुनासो छ ।
छायाँनाथ रारा नगरपालिका–१० का ६० वर्षीय कणसिंह बुढा खाद्यन्न खोजीमा सदरमुकाम गमगढी आएको तीन दिनमा पनि कतै नपाइएको बताए । खाली हात घर फर्कन लागेका बेला एकजना व्यापारी कहाँ चामल भएको सुनेपछि आफू पनि त्यतै लागेको बुढाले बताए । ‘आफूजस्तै गाउँबाट आएका सर्वसाधरण खाद्यान्न किन्न तानतान गरेको देख्दा मन मरेको थियो’, उनले भने, ‘तर साहुजीले बुढो मान्छे देखेर होला मलाई ३० केजीको एक बोरा चामल दिए ।’
पैसा तिरेर पनि खाद्यान्न नपाउनु दुःखलाग्दो भएको उनको भनाइ छ । जिल्लाबाट पाँच–पाँच सांसद विजयी भए पनि सर्वसाधरणको हितमा अहिलेसम्म कसैले काम नगरेको बुढाले दुखेसो पोखे । खाद्य संस्थान भन्दा सस्तो मूल्यमा पाइने खाद्यान्न बजारमा अभाव भएपछि उपभोक्ता खाद्य संस्थानमा प्रति ३० केजीको बोरालाई एक हजार नौ सय रूपैयाँ तिर्न बाध्य छन् ।

प्रकाशित मितिः   २७ भाद्र २०७५, बुधबार १६:२६