चट्याङले एक जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ भदौ ।
जिल्लाको गुर्भाकोट नगरपालिकामा सोमबार चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । घरमाथि चट्याङ पर्दा गुर्भाकोट–१४ जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जना महिला पनि घाइते भएकी छन् । घाइते हुनेमा ४८ वर्षीय खगिसरा पुन रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले बताए । घाइते पुनको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर गोठमा रहेका २ गाई, १ गोरु र एक कुकुर समेतको मृत्यु भएको उनले जानकारी दिए ।