सुरक्षाको प्रत्याभूति दिलाउन माग

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ भदौ ।
आम नागरिक सुरक्षित भएको अनुभूति दिलाउने गरी प्रहरी प्रशासनले काम गर्न माग गरिएको छ । चाडपर्वको आगमनसँगै हुने चोरी–डकैती, गुण्डागर्दी बढ्नसक्ने भन्दै एक कार्यक्रमका सहभागीले यस्तो माग गरेका हुन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी तोकिएसँगै आपराधिक गतिविधि वृद्धि भएको भन्दै उनीहरूले प्रहरी प्रशासनले चेकजाँचमा कन्जुस्याइ नगर्न आग्रहसमेत गरेका छन् ।
अव्यवस्थित रूपमा हुने पार्किङ्ग, बसपार्कमा यात्रु तानातान गर्ने यातायात व्यवसायीहरूको प्रवृति, लागूऔषध कारोबार लगायतका विषयमा प्रहरीले गम्भीर हुनुपर्ने उनीहरूको माग छ ।
वीरेन्द्रनगर नगर प्रहरीको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सुर्खेत बसपार्कमा प्रहरीको संयन्त्र कमजोर हुँदा यात्रुहरूले मार खेप्नुपरेको वीरेनद्रनगर–११ का कृष्णबहादुर बुढाले बताए । उनले यात्रु बसपार्क पुग्दा यातायात व्यवसायीबाट गरिने व्यवहारले
आजित परिसकेको बताए । चाडपर्व सुरु हुन थालेपछि बसपार्कमा यात्रुको चाप बढेको छ । गन्तव्यमा जानुपर्ने यात्रु व्यवसायीहरूबीचको तानातानले हैरानी खेप्नुपरेको उनले बताए । ‘एउटै गन्तव्यमा हिँडेका श्रीमान् एउटा र श्रीमती अर्काे बसमा जानुपर्ने बाध्यता बसपार्कमा सिर्जना भएको छ’ उनले भने, ‘बस व्यवसायीहरूबीच भएको अस्वस्थ प्रतिष्पर्धाको मारमा यात्रु परेका छन् ।’ उनले बसपार्कमा हुने सास्ती रोक्न सुरक्षा व्यवस्था मजबुत बनाउन माग गरे । कार्यक्रमका सहभागीहरूले सुरक्षा चुनौतीबारे योजना बनाएर प्रहरी प्रशासन लाग्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बसन्त रजौरेले जिल्लाको शान्ति सु–व्यवस्था कायम राख्न प्रहरी प्रशासन लागि परेको बताए । उनले अपराध न्यूनीकरणका लागि नागरिकहरूको सहयोग आवश्यक पर्ने बताए । समाजमा भएका गतिविधिबारे प्रहरी प्रशासनलाई जानकारी दिन आग्रह गर्दै उनले चाडपर्व लक्षित गरी विशेष सुरक्षा टोली परिचालन गरिने बताए । वीरेन्द्रनगर नगरपालिका–६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले शान्त र समृद्ध समुदायका लागि स्थानीय सरकारले जनतासँग सहकार्य गरेरै अगाडि बढ्ने बताए ।

प्रकाशित मितिः   २६ भाद्र २०७५, मंगलवार १६:१४