सुर्खेतमा औषधि उद्योग स्थापना

दुई वटा औषधि उद्योग

अक्सिजन प्लान्ट

आयुर्वेदिक अस्पताल

प्रादेशिक शिक्षण अस्पताल

रक्तसञ्चार केन्द्र विस्तार

स्वास्थ्य प्रहरी कार्यक्रम

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ भदौ ।
कर्णाली प्रदेश सरकारले सुर्खेतमा औषधि उद्योग स्थापना गर्ने भएको छ । कर्णाली प्रदेशमा उत्पादित जडिबुटीहरूमा आधारित औषधि उद्योग स्थापनाका लागि चालु आर्थिक वर्ष २०७५÷०७६ मा बजेट समेत छुट्याइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुर्खेतमा जडिबुटीमा आधारित एउटा औषधि उद्योगको अध्ययन र त्यसको सुरुवात गर्नका लागि यस वर्ष १० लाख रूपैयाँ बजेट विनियोजन
गरेको हो ।
उक्त बजेटबाट पहिलो चौमासिकमा पाँच लाख र दोस्रो चौमासिकमा पाँच लाख खर्च गर्ने लक्ष्य लिइएको छ । कर्णाली जडिबुटीको खानी भएकाले यहाँका जडिबुटीहरूको सदुपयोग गर्ने गरी सुर्खेतमा औषधि उद्योग स्थापना गर्ने योजना मन्त्रालयले अघि सारेको हो । कर्णालीलाई आत्मनिर्भर बनाउने योजना अन्तर्गत पनि औषधि उद्योग स्थापना गरिने जनाइएको छ ।
जडिबुटीमा आधारित औषधि उद्योगका साथै थप अर्को एउटा औषधि उद्योग पनि स्थापना गरिने भएको छ । मन्त्रालयले सुर्खेतमा नै थप अर्को औषधि उद्योग स्थापनाका लागि आवश्यक अध्ययन गर्न १० लाख रूपैयाँ नै बजेट छुट्याएको छ । पहिलो वर्ष औषधि उद्योग स्थापनाका लागि अध्ययन गरिने र अध्ययनबाट प्राप्त निश्कर्षका आधारमा आगामी वर्षदेखि उद्योग स्थापनाको काम गरिने जनाइएको छ ।
सुर्खेतमा दुई वटा औषधि उद्योग स्थापना गर्ने लक्ष्यसहित सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि स्वीकृत बजेटको बाँडफाँड गरेको छ । एक अर्ब ६९ करोड रूपैयाँ बराबरको कार्यक्रम बजेट बाँडफाँड गरिएको हो । मन्त्रालयले बजेटको सीमा, यहाँको भूगोल र आवश्यकतालाई आधार बनाएर कर्णाली प्रदेशको स्वास्थ्य, शिक्षा लगायत सामाजिक संरचना अन्तर्गत चालु आवको बजेट खर्चिने गरी मन्त्रालयले कार्यक्रम तयार पारेको छ । मन्त्रालयले कर्णालीको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि कार्यक्रम बनाएको छ । स्वास्थ्य संस्थाहरूको स्तरोन्नतिदेखि मर्मत सम्भारलाई प्राथमिकता दिएको छ । कर्णालीबासीलाई भरपर्दो स्वास्थ्योपचार पु¥याउन प्रदेश सरकारले विभिन्न कार्यक्रम तय गरेको हो ।
चालु आर्थिक वर्षमा सरकारले नै एम्बुलेन्स खरिद, विशेषज्ञसहितको घुम्ती शिविर सञ्चालन, औषधि उद्योग स्थापना, स्वास्थ्य प्रहरी कार्यक्रम लागू र आकस्मिक स्वास्थ्य कोष स्थापना लगायतका कार्यक्रमहरूका लागि बजेट विनियोजन गरिएको छ । कर्णालीका १० जिल्लामा मागका आधारमा एम्बुलेन्स वितरण गर्ने योजना बनाइएको छ । जसका लागि दुई करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ । मन्त्रालयले डोल्पा र हुम्लामा अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालन गर्ने भएको छ । जिल्ला अस्पताल हुम्ला र डोल्पामा अक्सिजन प्लान्ट निर्माण तथा सञ्चालनका लागि मन्त्रालयले एक÷एक करोड रूपैयाँ बजेट छुट्याएको मन्त्रालयले जनाएको छ ।
यस्तै, १० वटै जिल्लामा विशेषज्ञ डाक्टरसहितको घुम्ती शिविर सञ्चालन गर्न एक करोड विनियोजन गरिएको छ भने स्वास्थ्य प्रहरी कार्यक्रम सञ्चालन गर्न २० लाख रूपैयाँ मन्त्रालयले बजेट छुट्याएको छ । मन्त्रालयले प्रदेशका १० वटै जिल्ला लक्षित गरी एक करोड रूपैयाँ बराबरको आकस्मिक स्वास्थ्य कोष स्थापना गर्ने भएको छ ।
यसैगरी दैलेख, हुम्ला, रुकुम र जाजरकोट जिल्ला अस्पतालको स्तरोन्नतिका लागि दुई करोड, सुर्खेतमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणका लागि तीस लाख, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रादेशिक शिक्षण अस्पतालको रूपमा विकास गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १० करोड विनियोजन गरिएको छ ।
सुर्खेतमा रक्तसञ्चार केन्द्र विस्तारका लागि १० लाख, १० वटै जिल्लामा आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकसहितको घुम्ती स्वास्थ्य शिविर सञ्चाल गर्न एक करोड, प्रदेशस्तरीय आयुर्वेद ग्रामीण फार्मेसी स्थापनाका लागि २५ लाख, प्रदेशस्तरमा चिकित्सा शिक्षा शिक्षण कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन र सञ्चालनका लागि पाँच लाख, बर्थिङ सेन्टरहरूको स्तरोन्नतिका लागि ५० लाख, मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्न ३० लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः   २६ भाद्र २०७५, मंगलवार १६:१७