कर्णाली विकासको योजना काठमाडौंबाटै !

विज्ञ समूहले गुरुयोजना बनाउने, काठमाडौंमा सम्पर्क कार्यालय

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ भदौ ।
कर्णाली प्रदेश सरकारलाई सघाउनका लागि गठन गरिएको विज्ञ समूहले काठमाडौंमा बसेर आफ्नो कामको सुरुवात गरेको छ । समूहको पहिलो बैठक शनिवार संघीय राजधानी काठमाडौंमा सम्पन्न भएको छ ।
गत शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेटेर ११ सदस्यीय विज्ञ समूह गठन गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माको संयोजकत्वमा रहेको उक्त समूहले काठमाडौंबाटै कर्णाली प्रदेश सरकारलाई सघाउने गरी काम अघि बढाएको छ । समूह संयोजक शर्माको अध्यक्षतामा शनिवार सम्पन्न बैठकले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेर काम गर्ने निर्णय गरेको छ । केही समयभित्रै काठमाडौंमा विज्ञ समूहको सम्पर्क कार्यालय स्थापना गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।
कर्णाली प्रदेशको समग्र विकास निर्माणका योजना तथा नीति निर्माणका लागि समूहले सरकारलाई सुझाव दिने र सहयोग गर्ने जनाइएको छ । कर्णालीका लागि के आवश्यकता छ र के गर्नुपर्छ भन्ने खोज अध्ययन गरेर समूहले सरकारलाई सुझाव दिने र सरकारले सोही अनुसार काम गर्ने प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘कर्णालीको एकीकृत विकासका लागि आवश्यक योजना बनाउन र सरकारलाई सुझाव दिएर सघाउनका लागि विज्ञ समूह गठन गरिएको हो’ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘यो समूहले दिने सुझावका आधारमा हामी काम गर्दै जानेछौं ।’ उनले सरकारले दैनिक रूपमा प्रशासनिकदेखि अन्य कामहरू पनि गर्नुपर्ने हुँदा विज्ञहरूको सुझावका आधारमा विकास निर्माणदेखि नीति निर्माणसम्मका काम गरिने बताए । यसले सरकारको काम प्रभावकारी हुने उनको विश्वास छ । सुरुवातका तीन÷चार महिना कर्णाली विकासको एकीकृत योजना निर्माणमा सरकारलाई सहयोग गर्ने उनले समूहका सदस्यहरूलाई आग्रह समेत गरे ।
मुख्यमन्त्री शाहीले प्राकृतिक स्रोत र साधन उपयोग गरेर कर्णालीको तीव्र विकासका लागि सरकारलाई विज्ञको सहयोग आवश्यक रहेको भन्दै विज्ञ समूहले परिणाममुखी काम गर्ने अपेक्षा व्यक्त गरे । उनले भौतिक पूर्वाधार, जलस्रोत, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रको विकासका लागि सरकारलाई ठोस योजना निर्माणमा सहयोग गर्न आग्रह गरे । मुख्यमन्त्री शाहीले कर्णालीलाई केही समयमै समृद्ध प्रदेशका रूपमा विकास गर्ने सरकारको सपना रहेको बताउँदै त्यसको लागि विज्ञहरूको सहयोग जरुरी रहेको जनाए ।
समूहको पहिलो बैठकले कर्णालीको विकासका लागि सबैभन्दा पहिले गुरुयोजना निर्माण गर्ने निश्कर्ष निकालेको छ । बैठकले समूहको कार्यविधि मस्यौदा तयार गर्ने, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना निर्माण गर्ने, प्रदेश सरकारको लागि आवश्यक कानुन निर्माणको तयारी गर्ने र काठमाडौंमा सम्पर्क कार्यालय सञ्चालन गर्ने लगायतका निर्णय गरेको समूहका संयोजक जनार्दन शर्मा प्रभाकरले जानकारी दिए ।
बैठकमा पूर्वगृहमन्त्री तथा समूहका संयोजक जनार्दन शर्मा प्रभाकरले कर्णालीको विकास मात्र नभइ विकासको नेपाली मोडेल तयार गरिने बताए । शर्माले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन तत्कालै कानुन निर्माण र संरचनाको विकास आवश्यक रहेको समेत बताए । उनले राजनैतिक ईच्छाशक्तिमा विज्ञताको प्रयोग गरेर कर्णालीलाई मुलुककै समृद्ध प्रदेश बनाउन सकिने धारणा व्यक्त गरे ।
बैठकमा विज्ञहरू डा. सुरेन्द्र उप्रेती, डा. पूण्य रेग्मी, डा. सुरेश तिवारी, वालानन्द पौडेल, सुरेन्द्रबहादुर शाह, डा. कुशेन्द्र महत, डा. कृष्णप्रसाद पौडेल, पूर्व महान्यायधिवक्ता मुक्ति प्रधान, गोविन्दप्रसाद शर्मा र डा. पदमबहादुर शाहीको सहभागिता रहेको थियो ।
समुहले स्वयम्सेवी रूपमा कार्य गर्ने र सरकारलाई आर्थिक भार नपार्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । सल्लाहकार समूहमा कृषि, जलस्रोत, कानुन, सुरक्षा, आर्थिक क्षेत्रका विज्ञहरू रहेका छन् । सरकारले समूहमा आवश्यकता अनुसार अन्य क्षेत्रका विज्ञहरू पनि थप गर्न सकिने जनाइएको छ ।

प्रकाशित मितिः   २४ भाद्र २०७५, आईतवार १५:२१