नेपाल सेमिफाइनलमा्

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ भदौ ।
आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको समूह ‘ए’ अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २–० गोल अन्तरले हराएर समूह बिजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।
अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएपछि अन्तिम चारमा स्थान
सुरक्षित गर्न नेपाललाई जीत चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए
पुग्थ्यो । तर, खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबाबमा राख्यो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई अग्रता दिलाए । उनले फ्रि–किकमार्फत् उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा भरत खवासको स्थानमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले अर्को गोल थप्दै नेपाललाई २–० गोल अन्तरको जीत दिलाएका हुन् । नेपालसँगै पाकिस्तानले पनि सेमिफाइनलको यात्रा तय गरेको छ भने आयोजक राष्ट्र बंगलादेश र भुटान बाहिरिएका छन् ।
यसअघि समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो भने भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।