मंगलगढीको साधारणसभा

सुर्खेत, २३ भदौ । (साबिस)
वीरेन्द्रनगर नगरपालिका वडा नं ९ को मंगलगढी मिलन टोल विकास संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरले साधारण सभाको शुभारम्भ गर्दै अहिलेको अवस्थामा काम गर्न केही कानुनी बाध्यताहरू रहेको हुँदा स्थानीय सरकारमार्फत् वडाहरूले काम गर्न नसकिरहेको बताए ।
सभामा वडा नं ९ कै बौद्ध टोल विकास संस्थाका अध्यक्ष प्रवाशकुमार शाक्यले प्रत्येक टोलका सदस्यहरू एकअर्कामा हातेमालो गर्दै अघि बढेमा टोल समाज हुँदै देश विकास हुने बताए । सभामा संस्थाका सल्लाहकार दुर्गबहादुर खत्री, राजेन्द्र बुढा तथा साझा सहकारीका मदन खड्काले आ–आफ्नो भनाइ राखेका थिए ।
मंगलगढी मिलन टोलका सदस्य गणेश थापाले स्वागत गर्नुभएको सभामा सचिव खगेन्द्रविक्रम राणाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रिता थापाले आय–व्यय विवरण पेश गरिन् । विश्वराज बोगटीले सञ्चालन गरेको कार्यक्रम टोलका अध्यक्ष कमलबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   २४ भाद्र २०७५, आईतवार १५:२०