खुशीले मुस्कुराइरहेको हजुरको मुहार हेर्न मन छ, बुबा

क्रान्ति शर्मा
‘बुबा’ जुन शब्द उच्चारण गर्दा हर कोही सन्तानको हृदयमा एक अनौठो कम्पन उत्पन्न हुन्छ । त्यो हो, प्रेम, विश्वास, ईश्वरत्व जसलाई कहिल्यै हामी गुमाउन चाहदैनौं । भनिन्छ, संसारमा भगवान् भन्दा अर्को कोही ठूलो हुँदैन । त्यही संसारमा भगवानको स्वरूपमा बुबा–आमा हुन्छन् ।
हामी बुबा–आमालाई जबसम्म भौतिक रूपमा देख्नसक्छौं, तबसम्म भगवान् बुबा–आमालाई नै मान्छौं । जब भौतिक रुवरूपमा बुवाआमालाई पाउन सक्दैनौं तब एउटै शब्द ‘भगवान्’ भनेर पूजा गर्छौं । बुबा–आमा भागवान् त होइनन् तर भगवान्का रूपमा भौतिक स्वरूपमा देखिएका अंश हुन् । यसकारण पनि कहिले पनि बुबा–आमा अर्थात् भगवान् गलत हुनै सक्दैनन् ।
प्रिय बुबा, मान्छेलाई अनौठो लाग्ला बुबालाई पनि सम्बोधनमा प्रिय लेख्ने कस्ती मान्छे रै’छे ? तर म यत्ति भन्छु मेरो निम्ती संसारको कोही प्रिय मान्छे छन् त केवल बुबा–आमा हुन् । बुबा–आमा भन्दा दोस्रो कोही पनि प्रिय बनेर मेरो जीवनमा आउन सकेको छैन ।
बुबा मैले हजुरलाई भनिसकँे आमाको माया कसैसँग तुलना गर्न सकिदैन यहाँसम्म कि हजुरसँग पनि नै । मैले हजुर र आमाको मायामा तुलना गरँे तर दुवै मेरो निम्ती बराबर हुनुहुन्छ ।
म आज एक पत्र लेख्दैछु बुबा हजुरको नाममा !
प्रिय बुबा,
मैले हजुरसँग कुनै पनि कुरा लुकाएकै छैन । मसँग घट्ने हर घटना हजुरलाई थाहा छ । मैले बोकेको बेचैनी हजुरलाई थाहा छ । अन्यौलता हजुरलाई थाहा छ । म केही त पक्कै गर्छु त्यो हजुरलाई थाहा छ । मसँग विगतमा जे–जे भएको छ, सब हजुरलाई थाहा छ । मसँग वर्तमानमा जे–जे हुँदैछ, त्यो पनि हजुरलाई थाहा छ । यहाँसम्मकी हजुरलाई त मेरो भविष्यको अधिकांश घटनाको खबर छ । त्यसैले त तपाईं मेरो बुबा हो, ईश्वर हो । जसलाई म पूजा गर्छु, मेरा हर घटना सुनाउँछु, जसरी मान्छे भागवानको अगाडी खुशी माग्छन् म पनि हजुरसँग माग्छु ।
हजुरले भन्नुभएको छ, बुबा–आमा भन्दा ठूलो ईश्वर हो, बुबा–आमालाई सम्मान गर्नुपर्छ, गुरु मान्नुपर्छ मनमा भने ईश्वर राख्नुपर्छ । हामी त संसारबाट गइहाल्छौं । यादहरू राख्नु र ईश्वरलाई कहिल्यै आफूबाट अलग नगर्नु । सत्य नै इश्वर हो । बुवा, थाहा छ, मैले हजुरको प्रत्येक शब्दलाई नै याद बनाएर ओल्टाइ–पल्टाइ पढेको छु । मेरा निम्ती शब्द नै ठूलो उपहार हो, जो मलाई हजुरले दिनुभएको छ ।
जसको नजरमा विभेद छैन, नैराश्यता छैन, अशान्ति छैन, नकारात्मकता नै छैन । म भाग्यमानी छु किनकी म हजुरको छोरी भएर संसारमा हिँड्न पाएकी छु । समाजले सधैं दोस्रो स्थानमा राख्ने छोरी मान्छेलाई हजुरले पहिलो प्राथमिकतामा राखेर समाजमा बाँच्न सिकाउँदै हुनुहुन्छ । समाजमा अघि बढ्न सिकाउँदै हुनुहुन्छ । यदि हरकोही छोरीले हजुरजस्तो बुबा पाउँथे त यो समाज बद्लिन सक्थ्यो । नारीलाई कसिंगर सम्झेर यातना दिने मान्छे हुने नै थिएनन् । तर पनि म खुशी छु हजुर मेरो साथमा हुनुहुन्छ ।
छोरी मात्रै जन्मिएकै कारण घर, नाता सम्बन्ध तोडेर केवल आमा र हाम्रा निम्ती जसरी हजुर हिड्नुभयो । त्यो भन्दा ठूलो त्याग केही हुनै सक्दैन । त्यो भन्दा ठूलो कुने प्रेम, विश्वास हुनै सक्दैन ।
बुबा, खुशीले हाँसिरहेको हजुरको मुहार हेर्न मन छ । त्यो खुशी म हजुरलाई दिन अलि ढिला गरुँला कत्ति नरिसाउनु । म अब छिट्टै त्यो खुशी ल्याउन हिँडिरहेछु । मेरा हर अप्ठ्यारा परिस्थितिलाई हजुरबाहेक अरु कसैले बुझेकै छैन । जति अप्ठ्यारा आए पनि म पार गर्न तयार छु । हजुरको मुहार खुशीले भरिदिन मन छ । अनि छेउमै बसेर हजुरको मुहार पढ्न मन छ ।
भनिन्छ, युग बदलिन्छ, परिस्थिति बदलिन्छ, सोच बदलिन्छ तर बुबा–आमा जो कहिल्यै बदलिदैन । जसको माया कहिल्यै बदलिदैन । यही नबदलिने माया हर कोही सन्तानलाई मिलोस् । बुबा मलाई हजुरको खुशीको मुस्कुराइरहेको मुहार हेर्न मन छ ।

प्रकाशित मितिः   २४ भाद्र २०७५, आईतवार १५:११