दस वटा सामुदायिक क्याम्पस बने आङ्गिक

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ भदौ ।
आफ्नो संरचना र क्षेत्र विस्तार गर्ने क्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १० वटा क्याम्पसलाई औपचारिक रूपमा आङ्गिक क्याम्पस बनाएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित विभिन्न १० वटा सामुदायिक क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रवारदेखि आफ्नो आङ्गिक क्याम्पसमा रूपान्तरण गरेको हो ।


त्रिभुवन विश्वविद्यालयले यसअघि नै ती १० क्याम्पसलाई मप विश्वविद्यालय मातहत सञ्चालन गर्न अनुमति दिइसकेको थियो । टीयूको अनुमति र मप विश्वविद्यालयको सिनेटको निर्णय कार्यान्वयन गर्दै उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले शुक्रवार १० वटा क्याम्पसलाई आङ्गिक क्याम्पसको आधिकारिक पत्र हस्तान्तरण गरेका हुन् । विश्वविद्यालय ऐन, नियम तथा आठौं सिनेट बैठकको निर्णय अनुरूप आधिकारिक पत्र दिएर कोइरालाले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालनमा रहेका १० वटा सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसमा रूपान्तरण गरेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए ।
स्थापना भएको आठ वर्षपछि विश्वविद्यालयले १० वटा आङ्गिक क्याम्पस थप्दै आफ्नो पहुँच साविकको मध्यपश्चिमका विभिन्न जिल्लामा विस्तार गरेको हो । आङ्गिक क्याम्पसको आधिकारिक पत्र पाएसँगै अब साविकको मध्यपश्चिमका विभिन्न नौ जिल्लाका १० वटा क्याम्पसले पूर्णरूपमा सरकारी सेवा र सुविधा पाउनेछन् भने मप विश्वविद्यालयको पाठ्यक्रम पढाइ हुनेछ ।
विश्वविद्यालयले साविकको कर्णालीका दुई वटा क्याम्पसलाई आङ्गिक बनाएको छ । कालिकोटको तिला बहुमुखी क्याम्पस र मुगुको रारा बहुमुखी क्याम्पस अब मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आङ्गिक क्याम्पस बनेका छन् । यस्तै सुर्खेतका जनता बहुमुखी क्याम्पस विद्यापुर र भेरी शिक्षा क्याम्पस गुमीले पनि मध्यपश्चिमाञ्चल विश्व–विद्यालय मातहत आएका छन् । विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीका अनुसार बर्दियाको बबई बहुमुखी क्याम्पस, बाँकेको बागेश्वरी बहुमुखी क्याम्पस, दैलेखको नारायण क्याम्पस, जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस, रुकुमको मुसिकोट बहुमुखी क्याम्पस र रोल्पाको जलजला बहुमुखी क्याम्पस पनि आङ्गिक बनेका छन् । उपकुलपति प्रा.डा. कोइरालाले अर्को व्यवस्था नभएसम्मका लागि हाललाई साविककै क्याम्पस प्रमुखहरूलाई नै क्याम्पस प्रमुखका रूपमा कार्य गर्ने गरी जिम्मेवारी दिएका छन् ।
वीरेन्द्रनगरस्थित साविकको वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा मात्र खुम्चिदैं आएको यो विश्वविद्यालयले १० वटा आङ्गिक क्याम्पस थपेसँगै साविकको मध्यपश्चिमाञ्चल क्षेत्रको अधिकांश जिल्लाभरी विस्तार भएको छ । आङ्गिक क्याम्पसको विस्तारसँगै अब शिक्षाको गुणस्तर पनि वृद्धि हुने विश्वविद्यालयले अपेक्षा गरेको छ । आर्थिक अभावका कारण स्रोत र साधनको समस्या भेल्दै आएका यस क्षेत्रका सामुदायिक क्याम्पसहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक भएसँगै अब सरकारी सहयोग प्राप्त र विगतको भन्दा सुधार हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा. कोइरालाको भनाइ छ । उनले आङ्गिक क्याम्पसको विस्तारले यस क्षेत्रमा उच्च शिक्षा प्राप्त गर्न सहज हुने बताए ।
आङ्गिक क्याम्पसका लागि अघिल्लो वर्ष नै प्रति क्याम्पस ८० लाख उपलब्ध गराउने गरी आठ करोड बजेट विनियोजन भएको थियो । वि.सं. २०७४ असोज २ गते नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने भनि दरबन्दीसमेत स्वीकृत गरिसकेको थियो । त्यस लगत्तै त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसको रूपमा रहेका ती क्याम्पसहरूलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आङ्गिक क्याम्पसको रूपमा हस्तान्तरण गर्ने प्रक्रिया थालिएको थियो ।
१० वटा क्याम्पसलाई औपचारिक रूपमा आङ्गिक बनाएको मप विश्वविद्यालयले थप १० वटा आङ्गिक क्याम्पस बनाउने निर्णय पनि गरिसकेको छ । भदौ ११ गते काठमाडौंमा सम्पन्न विश्वविद्यालयको आठौं सिनेटले १० वटा आङ्गिक क्याम्पस थप गर्ने निर्णय गरेको हो । सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पस, चामुण्डा क्याम्पस दैलेख, कोटदेवल जनआदर्श क्याम्पस दैलेख, रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी, पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँची, सिँजा बहुमुखी क्याम्पस जुम्ला, सिद्धार्थ बहुमुखी क्याम्पस कपिलवस्तु, सहिद नारायणप्रसाद क्याम्पस रूपन्देही, शितल बहुमुखी क्याम्पस रुकुम, चतुरहिरा पूर्णचन्द्र क्याम्पस मुगुलाई आङ्गिक क्याम्पसका लागि सिनेटले स्वीकृति दिइएको छ । चरणवद्ध रूपमा थप आङ्गिक क्याम्पसहरू पनि विस्तार गरिने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २३ भाद्र २०७५, शनिबार १४:५९