शिक्षकहरूबीच वक्तृत्वकला

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ भदौ ।
शिक्षकहरूबीच वक्तृत्वकला प्रगियोगिता गरी ३९ राष्ट्रिय शिक्षा दिवस तथा ५२औं अन्तर्राष्ट्रिय साक्षरता दिवस सुर्खेतमा मनाइएको छ । ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरी दिवस मनाइएको हो । कार्यक्रममा वक्ताहरूले कमजोर शिक्षा नीतिका कारण शिक्षामा सबैको पहुँच पुग्न नसकेको बताएका छन् । नेपालको संविधानले परिकल्पना गरेको समाजवाद शिक्षा क्षेत्रमा लागू हुन नसकेको वक्ताहरूले बताए । अनिवार्य र सर्वसुलभ शिक्षा पाउने मौलिक हकका रूपमा संविधानमा व्यवस्था भए पनि कार्यान्वयन हुन नसक्नु दुर्भाग्य भएको बताए । शिक्षा क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न नसक्नुले नै गुणस्तरीय शिक्षामाथि विभेद सुरु भएको उनीहरूको भनाइ थियो ।
वक्तृत्वकलामा आफ्ना तर्क राख्दै शिक्षक चन्द्रबहादुर खड्काले निजी र सरकारी शिक्षामा देखिएको विभेद अन्त्य हुनुपर्ने बताए । शिक्षाको पर्याप्त संरचना निर्माण गर्नुपर्ने भन्दै उनले शैक्षिक क्षेत्रमा प्रदान गरिने सेवा सुविधा समान हुनुपर्ने बताए । न्यून आयस्तर भएका परिवारले बालबालिकालाई आधारभूत शिक्षा पढाउन नसक्ने अवस्था कायम रहेको भन्दै उनले समाजवाद लागू गर्न सरकारी नीति कमजोर भएको बताए । वक्ता हरिमाया कोइरालाले शिक्षालाई जीवन उपयोगी र सर्वसुलभ बनाउन सके मात्रै समाजवाद उन्मूख शिक्षा लागू हुने बताइन् । शिक्षालाई राष्ट्रियकरण गरे मात्रै संविधानको कार्यान्वयन मानिने उनको भनाइ थियो । वक्तृत्वकलामा सहभागी २४ जनामध्ये चन्द्रबहादुर खड्का प्रथम, हरिमाया कोइराला द्वितीय, लोकप्रसाद ढकाल तृतीय र राजेन्द्र गौतमले सान्तवना स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा समाजिक विकास मन्त्रालयका शाखा अधिकृत सुर्वण खड्काले कर्णाली प्रदेशको शिक्षा नीति निर्माण गर्दा शैक्षिक क्षेत्रमा योगदान दिएको व्यक्तिहरूको प्रत्यक्ष सहभागितामा निर्माण गरिने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकालले कर्णालीका स्थानीय तहहरूमा परिवेश सुहाउँदो पाठ्यक्रम लागू गर्नुपर्ने बताए । डा. दिपक गौतमले शिक्षा क्षेत्रमा लगानी बृद्धि गर्नसके मात्रै संविधानमा परिकल्पना गरिएको समाजवाद लागू हुने बताए । उनले शिक्षा क्षेत्रको सुधारविना गुणस्तरीय जनशक्ति उत्पादन हुन नसक्ने बताए । कार्यक्रममा नेपाल शिक्षक महसंघ जिल्ला शाखा सुर्खेतका अध्यक्ष कृष्णबहादुर थापाले संघीय संरचना अनुसार बन्ने कानून र नीतिमा शिक्षकहरूको सहभागिता अनिवार्य हुुनुपर्ने बताए ।
यसैबीच, आफ्ना पेशागत मागप्रति सरकारले बेवास्था गरेको भन्दै नेपाल राहत शिक्षक समिति कर्णाली प्रदेशले तीन दिन शैक्षिक हड्ताल गर्ने भएको छ । शनिवार वीरेन्द्रनगरमा छलफलको आयोजना गरी राहत शिक्षकहरूले तीन दिने शैक्षिक हड्ताल सफल बनाउने निर्णय गरेका छन् । राहत शिक्षकहरूले भदौ २६ गतेदेखि २८ गतेसम्म शैक्षिक हड्ताल गर्ने भएका हुन् । समितिका प्रदेश अध्यक्ष बृद्धिसिंह विष्टको अध्यक्षतामा भएको भेलामा समितिका केन्द्रीय वष्ठी उपाध्यक्ष कुमार सापकोटा, उपाध्यक्ष देविराम आचार्य लगायत कर्णाली प्रदेशका सात जिल्लाका प्रतिनिधिहरूको सभागिता थियो । कार्यक्रमको सहजीकरण प्रदेश समितिका महासचिव प्रेमप्रसाद दाहालले गरेका थिए ।

प्रकाशित मितिः   २४ भाद्र २०७५, आईतवार १५:१९