तीज विशेष कार्यक्रम

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ भदौ ।
सुर्खेतमा तीजको माहोल तातिएको छ । नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै तीज विशेष कार्यक्रमहरू भइरहेका छन् । यही भदौ २७ गते परेको हरितालिकाको अवसर पारी साउथ एशियन स्कालर्स एकेडेमी तथा ज्ञानसिन्धु कलेज सुर्खेतले संयुक्त रूपमा शुक्रवार तीज विशेष कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका उप–सभामुख पुष्पा घर्तीले आधुनिकताका नाममा पछिल्लो समय तीजमा विकृति भित्रिएको भन्दै मौलिकता बचाउनुपर्ने धारणा राखिन् । कला संस्कृतिको जगेर्ना गर्न चुनौती बनेको भन्दै उनले महिलाहरूका लागि महान् मानिने यो पर्व तडक–भडक नभइ सौहार्द वातावरणमा मनाउन आग्रह गरिन् । पश्चिमा संस्कृतिको प्रभाव तीजमा परेको भन्दै उनले पुरानो तीज गीतहरू हराउँदै गएको बताइन् ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका उप–कोषाध्यक्ष एवम् चर्चित गायिका टीका पुनले गीत संगीतको संरक्षणका लागि कलाकर्मीहरू एकजुट हुनुपर्ने बताइन् । मौलिकता हराउन नदिन र तीजलाई भड्किलो बनाउन नदिन अरुको सिको गर्न त्याग्नुपर्ने उनको भनाइ थियो । उनले आफ्ना चर्चित तीज गीतसमेत प्रस्तुत गरेकी थिइन् । स्कुलको वार्षिक कार्यतालिका अनुसार तीज विशेष कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक सुमनकृष्ण खड्काले जानकारी दिए । स्कुलका संस्थापक सिर्जना पौडेलको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

प्रकाशित मितिः   २३ भाद्र २०७५, शनिबार १४:५७