स्थापना दिवसमा रक्तदान

सुर्खेत, १९ भदौ । (साबिस)
नेपाल निजामती कर्मचारी युनियन (संघ)ले रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । संघको जिल्ला कार्यसमिति सुर्खेतले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई आवश्यक सरसफाइ सामग्री सहयोग र रक्तदान गरी दिवस मनाएको हो ।
कार्यक्रममा क्षेत्रीय अस्पतालका अधिकृत विनोद बस्नेतले सामाजिक हितका लागि रक्तदान गरी संघले स्थापना दिवस मनाउनु उदाहरणीय काम भएको बताए । स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष उदय थापाले संघको काम निकै स्रहानीय भएको बताए । संघ कर्णाली प्रदेशका अध्यक्ष नृपजंग शाहीले निजामती कर्मचारीले जनताको सेवा मात्र गर्दैन परेको बेला सामाजिक सेवा पनि गर्दछ भन्ने सन्देश गएको बताए ।
अस्पताल विकास समितिका पूर्वअध्यक्ष नारायण सापकोटाले निजामती कर्मचारीहरूको व्यवहारमा सुधार आउनुपर्ने बताए ।
संघका अध्यक्ष राजेश बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी लगायत निजामती कर्मचारी युनियन (संघ) र स्वास्थ्यकर्मी संघमा आवद्ध सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २० भाद्र २०७५, बुधबार १२:१३