राजमार्गमा दैनिक पहिरो

कालिकोट, १९ भदौ । (साबिस)
कर्णाली राजमार्गका विभिन्न स्थानमा दैनिक जसो पहिरो जान थालेपछि यात्रुहरूले सास्ती भोग्नुपरेको छ । हरेक वर्षजस्तै यस वर्ष पनि वर्षा लागेसँगै राजमार्गका विभिन्न स्थानमा दैनिक रूपमा पहिरो गइरहेको छ ।
एकातर्फ पहिरोको जोखिम छ भने अर्कोतर्फ सडक हिलाम्मे हुँदा यात्रुले थप कष्ट बेहोर्नु परिरहेको गुनासो गरेका छन् । कर्णाली राजमार्ग कालोपत्रे भएको एक वर्ष नबित्दै कालोपत्रे भत्किएपछि यात्रुलाई सास्ती भएको हो । सडक डिभिजन कार्यालय जुम्लाले ती खाल्डा–खुल्डीमा माटो हालेपछि सडक हिलाम्मे भएको यात्रुको गुनासो छ ।
हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ । कर्णाली राजमार्गको घट्टे, दही, गगने, शेरीघाट र सुनार खोलामा सडक हिलाम्मे भएछि यात्रा जोखिमपूर्ण बन्दै गएको हो । कालिकोट सदरमुकाम नजिकै रहेको सुनार खोलामा दैनिक यात्रुले गाडी धकेल्नुपर्छ । वर्षा लागेदेखि नै कर्णाली राजमार्गमा जोखिमपूर्ण यात्रा गर्नु परिरहेको चालक खगेन्द्र शाहीले बताए । ‘कतिबेला कहाँ पहिरो खस्छ थाहा हुँदैन’ उनले भने, ‘सडक हिलाम्मे छ जसले गर्दा दैनिक सास्ती हुन्छ ।’ कतिपय समयमा यात्रुले ठेल्दासमेत निकाल्न नसक्दा एक हजार रूपैयाँ तिरेर डोजर लगाएर गाडी तान्नु पर्ने बाध्यता रहेको शाहीको भनाइ छ ।

प्रकाशित मितिः   २० भाद्र २०७५, बुधबार १२:२६