विद्युत नहुँदा सदरमुकाम अन्धकार
डोल्पा, १९ भदौ । (साबिस)
डोल्पाको सदरमुकाम दुनै मंगलवार रातीदेखि अन्धकारमय भएको छ । जैरीगरा पावरहाउसबाट उत्पादन हुने विद्युतको नहर पहिरोले भत्काएपछि विद्युत अवरुद्ध हुँदा सदरमुकाम दुनै अन्धकार भएको हो ।
भारी वर्षाका कारण पहिरो खसेपछि आएका ठूला–ठूला ढुङ्गाले विद्युतको १२ मिटर नहर पूरै भत्काएको छ । कूल दुई सय किलोवाट क्षमताको जैरीगार पावरहाउसबाट हाल जम्मा ४० किलोवाट विद्युत मात्र उत्पादन हुने गरको छ । निरन्तर परेको वर्षाका कारण पहिरो खसेपछि नहर भत्किँदा एक हजार तीन सय सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् ।
पहिरोले नहर भत्काएपछि मर्मतका लागि भन्दै सोमवार नेपाली सेना र नेपाल प्रहरी पहिरो खसेको स्थानमा गए पनि मर्मत तत्काल हुन नसक्ने नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रले जानकारी दिएको छ ।
एउटा मेसिनको मर्मत काम भइरहेको छ । मेसिन छिटो बनाउन सके लोडसेडिङ्गको मारमा ग्राहक नपर्ने निमित्त प्रमुख कालीबहादुर महतले जानकारी दिए ।
साझा बिसौनी ।