देवानी संहिताबारे अन्तरक्रिया
साझा बिसौनी संवाददाता
पञ्चपुरी, १९ भदौ ।
महिला तथा बालबालिका सम्बन्धी मुलुकी देवानी संहितामा भएको व्यवस्थाबारे सरोकारवालाहरूसँग मंगलवार अन्तरक्रिया गरिएको छ । भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनमा महिला तथा बालबालिकाको लागि पुरानो मुलुकी देवानी ऐन र अहिलेका ऐनमा गरिएका व्यवस्थाका बारेमा अधिवक्ता रमा प्याकुरेलले अन्तरक्रियामार्फत् जानकारी दिएकी थिइन् । उनले महिलाहरूले नीति नियम र ऐन नबुझेकै कारण समस्यामा परेको र कानुनको अध्ययन गर्न जरुरी रहेको बताइन् ।
पञ्चपुरी नगरपालिकाकी उपप्रमुख मुक्ति रेग्मीले जतिसुकै नयाँ ऐन, कानुन आए पनि महिलाहरूको हितका लागि नभएको गुनासो गरिन् । उनले भनिन् ‘न्यायिक समितिको संयोजक भएर काम त गरिन्छ तर न्यायिक समितिलाई पनि जति आवश्यक पर्ने अधिकार दिइनुपर्ने हो त्यति नदिँदा काम गर्न अप्ठ्यारो भएको छ ।’
इलाका प्रहरी कार्यलय बावियाचौरका प्रमुख सुशोभन श्रेष्ठले अहिलेको नयाँ मुलुकी देवानी संहिताले पत्रकार, डाक्टर र प्रहरीलाई अप्ठ्यारो पारेको बताए । साथै उनले स्थानीयस्तरमा सानातिना घटनाहरू न्यायिक समितिसँग समन्वय गरी काम गर्ने बताए । कानुन नबुझेकै कारण सामाजिक सरोकारका कामहरू कठिनाइ भएको आवाज संस्थाका सामाजिक परिचालक तेजबहादुर रोकायले बताए ।
आवाज संस्थाको समन्वय र पञ्चपुरी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर १ देखि ११ सम्मका महिला जनप्रतिनिधि, महिला सञ्जालका प्रतिनिधि, बाल सञ्जाल, युवा सञ्जाल, नगरपालिकाका प्रतिनिधिहरूले नयाँ ऐनका बारेमा अन्तरक्रिया गरेका थिए ।
साझा बिसौनी ।