समाज सेवामा समर्पित

वीरेन्द्रनगर–९ लाटीकोइलीकी तारा रास्कोटी वि.सं. २०३१ साल चैत्र २९ गते जन्मिएकी हुन् । बुबा बलबहादुर रास्कोटी र आमा विर्मा रास्कोटीको कोखबाट साइली छोरीको रूपमा उनको जन्म भयो । सानो छँदा ताराको कलाकार बन्ने ठूलो धोको थियो । शिव माध्यमिक विद्यालय लाटीकोइलीबाट एसएलसीसम्मको शिक्षा लिएकी तारा विद्यालयस्तरीय गायन प्रतियोगितामा धेरै पटक शील्ड जित्न सफलसमेत भएकी थिइन् ।
वि.सं. २०५० सालमा घर नजिकैका हरिबहादुर रास्कोटीसँग प्रेम विवाह गरेकी ताराको विवाहपछि भने कलाकारिता र पढाइले निरन्तरता पाउन सकेन । परिवारबाट सहयोग हुन्थ्यो या हुन्थेन ताराले आफ्नो मनको ईच्छा कसैलाई पनि भनिन् । वि.सं. २०५२ सालदेखि महिला स्वास्थ्य स्वयम्सेविकाको रूपमा काम गर्दै आएकी तारा रास्कोटी विवाहपछि नै सामाजिक सेवामा लागेकी हुन् । स्वयमसेवामार्फत् समाज सेवा गर्दाका अनुभव तथा पेसागत अप्ठ्याराकाबारे उनले साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खोलिन् ः
हाम्रो घरमा ७ जनाको परिवार थियो । चार बहिनी, एकजना दाइ र बुबाआमा । मेरो आमा विर्मा श्रेष्ठ पनी महिला स्वास्थ्य स्वयम् सेविका हुनुहुन्छ । म सानैदेखि कसैको अन्याय नसहने मान्छे । मलाई सानोमा कलाकार बन्ने ठूलो ईच्छा थियो । श्री शिव उच्च माध्यमिक विद्यालय लाटीकोइलीमा एसएलसीसम्मको मेरो शिक्षा हो । मैले विद्यालयस्तर पढ्दा खुब गीत गाउँथे । विद्यालयस्तरीय लोकगीत प्रतियोगितामा कति शील पनि जितियो । २०५० सालमा विवाह गरेपछि भने मेरो कलाकारिता टुंगियो । मेरो विवाह अन्तरजातीय विवाह हो । म श्रेष्ठको छोरी उहाँ मगरको छोरा । सुरु–सुरुमा अली अप्ठ्यारो भएको थियो । जे भए पनि मेरो श्रीमान्ले मेरो साथ छोड्नु भएन । त्यसमा खुशी लाग्छ । मैले विवाहपछि कलाकारिता र पढाइलाई अगाडि लैजान नसके पनि सामाजिक सेवामा भने मेरो उल्लेखनीय भूमिका रह्यो ।
वि.सं. २०५२ सालबाट म महिला स्वास्थ्य स्वयम्सेविकाको रूपमा काम गर्दै आएकी छु । मेरो आमा पनि महिला स्वास्थ्य स्वयम्सेविका भएकोले मेरो यो पेसाप्रति चासो बढेको हो । महिला स्वास्थ्य स्वयम् सेविकालाई महिला दिदीबहिनीहरूले गरेको माया देख्दा गर्व लागेर आउँछ । दिनरात महिला दिदीबहिनीहरूकै सेवामा समर्पित हुन्छौं हामीहरू । यो पेशा विशुद्ध रूपमा सामाजिक सेवा हो तर राज्यको ईच्छा अनुसार चल्नुपर्ने समाज सेवा हो । मलाई यो पेसाप्रति गर्व लागेर आउँछ । पेसा एकदमै सम्मानित हो भलै सेवा सुविधाका हिसाबले हामीहरूलाई नास्ता खान पनि पुग्दैन ।
पेसा मर्यादित र संवेदनशील भए पनि महिला स्वास्थ्य स्वयम् सेविकालाई राज्यले हेर्ने दुष्टिकाकोण एकदमै फरक छ । महिला स्वास्थ्य स्वयम् सेविकाको रूपमा काम गर्न भने एकदमै अप्ठ्यारो छ । रातदिन नभनी काममा खटिनुपर्ने तर राज्यले हाम्रा नाममा बजेट छुट्टाउन नसक्ने । हामीहरूलाई न्यूनतम् पारिश्रमिकसमेत तोक्न सकेको छैन । राज्यले खटाएको बेलामा हामीहरू अनिवार्य उपस्थिति हुनुपर्छ त्यो बेलामा दिनको चार सय रूपैयाँ बाहेक हाम्रा लागि अरु सेवा सुविधा छैन । पहिला नेपाल सरकारले दुई सय ५० व्यक्ति हेर्ने गरी हामीहरूलाई प्रत्येक वडामा खटाएको हो । अहिले धेरै वडाहरू मर्ज भएर एउटा वडा भएको छ । एक जना स्वयम्सेविकाले कम्तीमा पनि ७÷८ सय व्यक्ति हेर्नुपर्छ । तर सेवा सुविधा भने जहाँको त्यही । महिला स्वास्थ्य स्वयम् सेविका भएर घर धान्न त कुनै पनि हालतमा सकिदैंन । घाम पानी नभनी रात दिन खटिनुपर्ने तर सेवा सुविधामा राज्यले श्रम शोषण नै गरेको हो हामीहरूलाई । तर पनि पेसाप्रति नकारात्मक भावना कहिल्यै आएन । कति दिन भोकै पनि हिँडिन्छ ।
हामीहरूले महिला स्वास्थ्य स्वयम्सेविकाको अधिकारका लागि धेरै ठाउँमा आवाज पनि उठाएका छौं तर सुनुवाइ कतैबाट पनि भएको छैन । स्थानीय सरकार, प्रदेश सरकारसँग पनि हामीहरूको सेवा सुविधाका बारेमा भनेकै हौं उहाँहरूले समेत वास्ता गर्नुभएको छैन । वीरेन्द्रनगर नगरपालिकाले भने महिनामा एक पटक रिपोर्ट बुझाउन जाँदा यातायात भनेर पाँच सय रूपैयाँ छुट्याउने गरेको छ । त्यो बाहेक खाली हात समाज सेवामा खटिनुपर्छ ।
मेरो घरमा चार जनाको सुखी परिवार हो । तर दैवको लिला २०६८ सालमा छोराको गाडी दुर्घटनामा मृत्यु भयो । अहिले म, छोरी र मेरो श्रीमान् गरी तीन जनाको परिवार छौं । मेरो श्रीमान् पेसाले गाडी चालक हुनुहुन्छ । छोरी भने बौद्ध ग्रामीण सहकारी संस्थामा जागिर गर्छिन् । मेरो जीवनको खुशीको क्षण जसलाई मैले मनदेखि नै मनपराउँथें उसैसँग मेरो विवाह भयो । अहिले पनि सम्बन्ध उत्तिकै राम्रो छ । दुःखको क्षण मेरो आफ्नै छोरा आँखै अगाडि यो संसारबाट बिदा लिँदा त्यो दिन कसरी भुल्न सकुंला र ? मेरो भविष्यको लक्ष्य भनेको अरु त के गर्न सकिन्थ्यो र, तै पनि आफ्नो कार्यकालमा राज्यले महिला स्वास्थ्य स्वयम्सेविकाहरूको श्रम शोषण गरे पनि आउने नयाँ दिदीबहिनीहरूको सेवा सुविधाको लागि आवाज उठाउने छु ।

प्रकाशित मितिः   २० भाद्र २०७५, बुधबार १२:०८