बिम्सटेकको प्रभाव
डा.दिपक गौतम
शान्ति, समृद्धि तथा दिगो विकासको केन्द्रीय भाव अनुकुल बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) को चौथो सम्मेलन बिहीवार र शुक्रवारका दिन स्म्पन्न भएको छ । शिखर बैठकले थुपै्र कुराहरू उठाएको छ । यहाँ बहुक्षेत्रीय भन्नाले भूपरिवेष्ठित र गैरभूपरिवेष्ठित या दक्षिण एसियाली र पूर्वी एसियाली मुलुकहरू क्रमशः नेपाल, भुटान, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्याण्ड गरी सात सदस्य राष्ट्रहरूलाई सम्बोधन गरिएको छ । भारत विश्वको अर्थतन्त्रमा सातौं ठूलो मुलुक हो । यी राष्ट्रहरूको आर्थिक तथा प्राविधिक सहयोग सदस्य राष्ट्रहरूलाई अपरिहार्य र अनिवार्य स्थिति साझा महसुस भएको आधारमा सहयोगको महसुस गरिएपछि सन् १९९७ देखि शिखर सम्मेलन गरिंदैछ । सहयोगका लागि बंगालको खाडीको प्रयास पदावलीले बंगालको खाडी प्रयोग र उपयोगद्वारा सम्बद्ध राष्ट्रहरूको आर्थिक तथा प्राविधिक विकास गरी नागरिकको शान्ति, राष्ट्र समृद्धि र क्षेत्रको वातावरणीय प्रबद्र्धनलाई अन्तिम लक्ष्य बनाइएको हुनसक्छ ।
बंगालको खाडी यस क्षेत्रको पानीको आधारभूत स्रोत हो । यस क्षेत्रमा साझा समयमा उदाउँदै आएको सूर्यको रापबाट वाष्पीकरण भइ जलकण, हिमाल र पहाडमा ठोक्किएर हिउँपानी परेर हिमनदीहरू हुन गएका छन् । थाइल्याण्डदेखि नेपालसम्मका पानीका नदी र चुहावट बंगालकै खाडीमा पुग्छन् र खाडी भरिन्छ । बंगालको खाडी भरिएपछि हिन्दमहासागर हुँदै प्रशान्त महासागर निर्माण हुन्छ । यही जलाधारबाट नागरिकको संस्कार, संस्कृति, भाषा, जीवनशैली पेसा व्यवसाय, ज्ञानगुन फैलिएको छ । यसकारण बंगालको खाडी जीवनप्राण हो, स्पन्दन हो । हिमालदेखि सागरसम्म बस्ने बासिन्दाको आर्थिक–प्राविधिक स्रोत हो । बंगालको खाडीको उपयोगका माध्यमद्वारा यस क्षेत्रको विश्वबजार अर्थतन्त्रको मात्र विकास हुनेछैन, सद्भाव शान्ति र विकासका बहुआयामहरू विस्तार हुन सक्छन् । यो क्षेत्रमा प्राकृतिक स्रोत र ऊर्जाशील जनसंख्या रहेको छ । विश्वकै ठूलो जलस्रोत बंगाल गंगा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, कावेरी, कृष्ण, बह्मपुत्र नदीहरू यसैमा मिसिन्छन् र चेन्नइ चितगाउँ, कोलकत्ता, कोलम्बो, मोङ्ला, मुख्य बन्दरगाहाहरू यसैसँग जोडिएका छन् ।
यस क्षेत्रको शान्ति, समृद्धि तथा दिगो विकासका लागि गरिबी अभाव, सडक, हवाई, रेल सम्पर्क, अप्टिकल फाइबर, ऊर्जा व्यापार, प्रविधि विकास, आतंकवाद, महिला किनबेच, लागूपदार्थ ओसारपसार, अन्तरदेशीय संगठित अपराध ठूलो समस्या बनेर आएका छन् । यसरी नै कृषि, बेरोजगारी, अशिक्षा, पछौटेपन सामाजिक विभेद पनि मूल समस्या बनेर आइरहेका छन् । विश्वको कुलजनसंख्याको २२% एक अर्ब ६५ करोड जनसंख्याले ५% मात्र आर्थिक योगदान गर्दैछ ।
उत्पादन, उपभोग, वितरण र विनिमय (व्यापार) सँग सम्बन्धित अनि कुनै किसिमको विज्ञान शिल्पकला आदीसँग सरोकार राख्ने, प्राविधिक वा प्रविधिसम्बन्धी विषयको सहायताका लागि जलक्षेत्रका देशको बंगालको प्रयोग प्रयासलाई साधन मानिएको साझा मञ्चको दूरदृष्टि, प्रतिबद्धता र कार्यले विश्व राजनीतिलाई र अर्थतन्त्रलाईसमेत प्रभाव पार्नसक्छ । यति हुँदाहुँदै पनि शीर्ष बैठकमा सदस्य राष्ट्रहरूका आ–आफ्ना रुचि, चासो, चाहना र समस्याहरू व्यक्तिगत रूपमा प्रष्टिन पुगेका छन् । ओलीले अस्वस्थ, अमानवीय र निषेध गर्ने नेपाली गरिबीलाई नष्ट नगरे समृद्धिको सपना चकनाचुर हुने धारणा राखेका छन् । ओलीले नेपालले कहिल्यै नगरेको गल्ती प्रकृति प्रकोप खेप्नुपरेको गुनासो गर्दै युवा र बालिका प्रतिको लगानी माग गरे । सेख हासिनाले गरिबी, भोकभरी असुरक्षा, पर्यटन, ऊर्जा सम्पर्क सञ्जालका समृद्धिका साधनबाट राजनीतिक आर्थिक विकास हुने विचार राखिरहँदा नरेन्द्र मोदीले आतंकवाद, अन्तरदेशीय अपराध र लागूपदार्थ ओसारपसार भारतको मूल समस्या रहेको निश्कर्ष निकालेका छन् । भुटानी सरकार प्रतिनिधि छिरिङ बाङचोकले जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई मुद्दाका रूपमा उठाए । यस्ता प्रतिनिधि भनाइबाट सदस्य राष्ट्रका आ–आफ्ना समस्याहरू छन् भने देखिएको छ ।
शीर्ष सम्मेलनले थुप्रै राम्रा–नराम्रा संकेतहरू छोडेको छ । बैठकले नेपाली कुटनीतिक क्षेत्र सवल, सक्षम र व्यवहारिक हुनुपर्ने सन्देश दिएको छ । कुटनीति भनेको शान्तिका साधनद्वारा देश र नागरिकलाई बृहत्तर रूपमा सकारात्मक दिशा दिनु हो । अर्थतन्त्र कुटनीतिको वास्तविक चालक हो । राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वाभिमान, स्वाधिनतासँगै नागरिक जीवनलाई स्तरोन्नति गर्नु कुटनीतिको मूल गन्तव्य हो । नेपाली कुटनीतिले यसलाई आत्मसात् गर्नु पहिलो पक्ष बनेको छ । सबै विकासको कुटनीति हुन्छ । सम्मेलनका अवसरमा नेपाली कुटनीति अलि तङ्ग्रीएको देखियो । आजका विकसित देशहरू सक्षम कुटनीतिको परिणाम हो । आगामी दिनका वीआरआई या अन्य कुनै विकास परियोजनाका लागि नेपाली कुटनीति स्तरीय बन्न आवश्यक छ । यसरी नै सम्मेलनले नेपाली कुटनीतिलाई ट्रान्स एसियन रेलवे, कनेक्टीभीटी, ऊर्जा सञ्जाल, इनल्याण्ड वाटर, ट्रान्सपोर्ट, कोस्टल सपिङ, एग्रिमेन्ट तथा माउन्टेनेरिङ इकोनोमो, विमस्टेक, प्रवुद्ध समूह, अर्थतन्त्रमा डीएनए इकोलोजीका विषयमा व्यापक ज्ञान आर्जन गर्नुपर्ने बाध्य पारी गएको छ । यसैगरी नेपाली अर्थ कुटनीतिले बीआरआई, सार्क प्लस वान जस्ता नयाँ शक्तिका पदावलीको बारेमा सघन अध्ययन गर्नुपर्ने सिकाएको छ ।
शीर्ष सम्मेलनमा भएका स्थायी कार्यसमितिको व्यवस्था, ऐनको निर्माण सचिवालयका लागि कोश विमस्टेक कोशको आवश्यकता बोध, विद्युत ग्रिडको निर्माणको निर्णयहरूमा सकारात्मक भावहरू रहेका छन्, तर इतिहासमै विमस्टेक कमजोर गतिमा छ, यस अघिका कुनै पनि निर्णयहरूले कार्यरूप लिएका छैनन्, एकातिर भने अर्कातिर डब्लूटीओ गर्ने काम जुँधेको छ । यसैगरी बैठकले निर्णय गरेकोप्रति आतंकवाद, पर्यटन विकास, कृषि विकास, माउन्टनरेण्ड तथा ब्लू इकोनोमी नेपालका लागि अति लाभदायक निर्णयहरू छन् । बुद्ध सर्किट मत्स्यापालन, गरिबी निवारण, पूर्वाधार विकासका लागि थाइल्याण्डद्वारा गुरुयोजना निर्माण पनि बैठकका सकारात्मक उपलब्धिहरू हुन् । तर नेपाल जस्ता सबै सदस्य राष्ट्रसँग व्यापारघाटामा रहेको नेपालले जोडदार कुरा तथा कुटनीति नगर्नु निराशाजनक विषय हो । यतिमात्र हैन भुटानी शरणार्थी रोहिङ्ग्या शरणार्थीका बारेमा कुरा नउठ्दा निराशा छाएको छ । नेपाली नेतृत्वको अन्तर्राष्ट्रिय संस्थागत संरचना शर्त क्षमता अभिवृद्धि सम्मेलनको प्राप्ती हो भने सञ्चारमाध्यमहरूमा यसको भविष्यकाबारे उठाइएका विमर्शले सचेतनता बढेको छ । भारतीय अवधारणाको बुद्ध सर्किट अपूर्ण अवधारणा हो । बुद्धको पहिलो मूर्ति पाकिस्तानमा छ, तथ्यगत प्रमाणहरू अफगानिस्तानमा छन्, जन्मस्थल नेपाल हो, बन्दुसंख्यक जनता चीनमा छन् । अष्टधातु श्रीलंकामा छ । यसकारण पाकिस्तान, चीन विनाको भारतीय बुद्ध सर्किट संकुचित हो । यसले नेपाललाई पनि नकारात्मक असर पार्छ । प्रभावकारीता कार्यान्वयनमा भरपर्छ । पाकिस्तान, चीन, अफगानिस्तानको बहिष्करणविना यस क्षेत्रको दिगो विकास समृद्धि तथा शान्ति असंभवमात्र छैन, वीआरआई जस्तो विशाल चिनियाँ रणनीतिले विमस्टेकलाई समाहित गर्नेछ । विनमिन्ट सिरियालाले लुम्बिनीको दर्शन मोदीको पशुपति दर्शन, द्विपक्षीय बहुपक्षीय वार्ता, शिखर सम्मेलनका सकारात्मक प्राप्तीहरू हुन् । श्रीलंका र नेपाली भाषाको समानता पाइयो भने विविध भाषाको प्रयोग पनि सकारात्मक लाभ नै हुन् ।
विमस्टेकका सदस्य राष्ट्रहरूको पर्यावरण, धर्म, संस्कृति र औसत जीवनस्तर उही र उस्तै छ । यस्तै प्रकृतिको युरोपियन युनियनबाट बेलायत निस्कदा हवाई, पानीजहाज लगायत अन्य आर्थिक–वित्तीय गतिविधि नहुनसक्ने चेतावनी भइरहेको समानान्तर समयमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासको चौथो शिखर सम्मेलन भएको छ । बंगाल तथा बंगालमा मिसिने गंगा ब्रम्हपुत्र तथा यस क्षेत्रका तालको पानी वाष्पीकरण भइ हिमालमा पुगेर वर्षा भइ फेरि बंगालको खाडी बन्ने पर्यावरणीय वास्तविकता छ । यस वास्तविकताले बिमस्टेकका राष्ट्रहरूलाई प्राकृतिक रूपमा बाँघेको छ र साझा प्रयास, प्रयत्न, सहकार्य गर्नैपर्ने वस्तुस्थिति छ । यसकारण यस क्षेत्रको जल, जमिन, जनशक्ति, वातावरण, प्रकृति, संस्कृतिक, हावापानी, मौसम, समय, साझा बनेका छन् । सबै राष्ट्रमा हिन्दुधर्मावलम्बी छन् । सबै राष्ट्रमा बौद्ध र इसाई र मुस्लिमहरू छन् । दलित, महिला र जनजाति, सिमान्तकृत र बहिष्कृतहरू छन् । दलितहरू महास्रष्टा हुन् । महिला महामाया र जनजाती महासद्भाव हुन् । तर यिनी सबै जात, वर्ण, लिंग, क्षेत्र, वंशद्वारा पीडित छन् । यी सबै राष्ट्रहरू उदारीकरणबाट अन्तर्राष्ट्रिय रूपमा पीडित त छन् लामो समयदेखि साम्राज्यवादी, उपनिवेशवादी, शोषणवबाट त्राहिमाम छन् । मणि मणिक्य, जुहार, सुन, चाँदी, खानी वन यहाँबाट बेलायन पु¥याइएको छ । गरिबी, बेजोरगारी, भेदभाव, रुढता समीश्रणता र उद्यमहीनता छाडिएको छ ।
भारतलाई ‘ठूल्दाजु’ बन्न सिकाइएको छ । म्यानमारमा रोहङगिया मुसलमानलाई थिचिरहन सिकाइएको छ । भुटानलाई भारतको छायाँमा रहन पारिएको छ । म्यानमार र बंगलादेश, थाइल्याण्ड र भारत, भारत र छिमेकी राष्ट्रबीच सन्देह रोपिएको छ । आज पञ्चशील पञ्चशील जस्तो छैन, संयुक्त राष्ट्रसंघ संयुक्त छैन, युरोपियन युनियन विभक्त छ, सार्क भातृप्रायः छ । आसियान गतिलो छैन । आन्तरिक प्रजातन्त्र कमजोर छ । कुटनैतिक क्षमता स्खलित छ । यस पृष्ठभूमिमा विमस्टेकले सम्मेलनको व्यवहारिक स्वरूप पाउँदा आवश्यक बजेट र सचिवालयका लागि गाडीहरू बढ्ने छन् भने कनेक्टिभिटीको प्रस्तावनाले रेल, सडक, जल, अप्टिकल फाइबर, ग्रीडकनेक्सन, उड्यन सम्बन्धी सम्झौताहरू गर्न नीति निर्माण भए नेपाल, भुटानजस्ता भू–परिवेष्ठित देशहरू सबैभन्दा बढी लाभान्वित हुनेछन् । यहाँको उत्पादित विद्युत ऊर्जा थाइल्याण्ड, लाओस्, सिंंगापुर, भियतनामसम्म बेच्न सकिने मात्र छैन हिन्दमहासागर हुँदै प्रशान्त महासागरमा झण्डा फरफराउँदै पौडिने छन् । आम सामग्रीहरू सस्तोमा बिक्री हुनेछन् । यताका उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउँदा लगानी उत्पादन, उत्पादकत्व बढ्ने छ ।
बैठक अवधिभर सेनाले सुरक्षा नेतृत्व दिइरहँदा प्रहरी, सशस्त्र र गुप्तचर टोलीले नयाँ ज्ञान पाएका छन् र नेपालको सुरक्षा प्रबन्धको अन्तर्राष्ट्रिय प्रशंसा भएको छ । यो नेपालका लागि सकारात्मक प्रतिष्ठा हो । भर्खरै ट्रम्प र उत्तरकोरियाली राष्ट्राध्यक्षको शिखर बैठकमा गोर्खाले सम्पूर्ण सुरक्षा लिएबाट नेपालीको गौरव विस्तार हुन पुगेको छ । मोदी लगातार चौथो पटकको नेपाल भ्रमणले विगतमा कमजोर भएको राजनीतिकस्तर सम्बन्ध र सहकार्य मजबुद बनेको छ भन्न सकिन्छ । नयाँ विश्वासको जग बसेको छ । यसपटक नेपाल–भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गो सम्बन्धी सम्झौता भयो सबै भारतीय सहयोगमा पशुपतिमा निर्मित धर्मशालाको उद्घाटन हुन गएको छ । बृहत आकारको ढुवानी बल्क कार्गो हो । यस्तो ढुवानीमा कम लागतमा बढी समग्री आपूर्ति भइ नेपाल–भुटान जस्ता भू–राजनीतिमा परेका देशका लागि सामग्री सस्ता बन्न जान्छ , बीच–बीचमा झमेला पनि बेहोर्नुपर्ने छैन ।
साझा बिसौनी ।