दुर्घटनामा सात जना घाइते

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ भदौ ।
सोमवार सुर्खेतमा भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका र भेरीगंगा नगरपालिकामा भएको दुर्घटनामा सात जना घाइते भएका हुन् ।
काफलकोटदेखि बाह्रखर्कका लागि छुटेको लु २ च १९०९ नम्बरको जीप सिम्ता गाउँपालिका–२ दुर्पामा दुर्घटना हुँदा जीपमा सवार तीन जना यात्रु घाइते भएका छन् ।
डीएसपी श्यामसिंह चौधरीका अनुसार गुर्भाकोट नगरपालिका–४ सहारेका ३० वर्षीय दिनेश विक, सिम्ता–२ का २ महिनाको बालक देवेन्द्र बुढा र १८ महिनाको रोशन सिंह घाइते भएका छन् । दुर्घटनाका घाइतेमध्ये दुई जना बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोमवार नै भेरीगंगा नगरपालिका–२ छैसठ्ठीमा टिप्पर र बस ठोक्किँदा चार जना घाइते भएका छन् । नेपालगन्जबाट
सुर्खेततर्फ आउँदै गरेका ना १ ख २१४१ नम्बरको बस र वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको ना १ ख ८५९४ नम्बरको टिप्पर ठोक्किँदा चार जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा बाँकेका बैजनाथ गाउँपालिका–१ का बस चालक ३० वर्षीय तीर्थ बडुवाल, सुर्खेतको वीरेन्द्रनगर–४ कालागाउँका ४० वर्षीया रतनाकुमारी सुनार, पञ्चपुरी नगरपालिका–१ का २८ वर्षीय निरज सिजापति र दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ का जगमती थापा घाइते भएका छन् ।

प्रकाशित मितिः   १९ भाद्र २०७५, मंगलवार १७:५८