बाली उठाएर गुरुकुल सञ्चालन

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ भदौ ।
आधुनिक शिक्षा पद्धतिको विकाससँगै गुरुकुल शिक्षा लोप हुँदै गइरहेको बेला सुर्खेतमा भने घरघरबाट बाली उठाएर गुरुकुल विद्यालय सञ्चालन गरिएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा शिवधाम मन्दिर व्यवस्थापन समितिले विगत चार वर्षदेखि गाउँमा बाली उठाएर विद्यालय सञ्चालन गरेको हो ।

समितिले विद्यालय सञ्चालनका लागि प्रतिबाली एक–एक पाथी खाद्यन्न संकलन गर्ने गरेको छ । नगरपालिकाका पाँच वडामा रहेका प्रत्येक घरबाट अन्नबाली संकलन गरेर गुरुकुल विद्यालय सञ्चालन गरिएको हो । सरकारले दिने अनुदान रकमबाट मात्रै विद्यालय सञ्चालन गर्न कठिनाइ भएपछि बालीघरे प्रथालाई अवलम्बन गरिएको छ । शिवधाम मन्दिर व्यवस्थापन समितिले वि.सं. २०६३ सालमा गठन गरेको गुरुकुल विद्यालय तदर्थ समितिले २०७२ साल वैशाख ८ गतेदेखि अध्ययन अध्यापन थालेको हो । गुरुकुल विद्यालय सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय सुर्खेतले २०७३ सालमा अनुमति दिएको थियो । दुई कक्षासम्म सञ्चालन गर्ने अनुमति पाएको विद्यालयमा हाल कक्षा चारसम्म अध्ययन हुँदै आएको छ ।

‘प्रत्येक वैशाखमा भर्ना लिइन्छ, विद्यार्थीलाई धर्मकर्म गर्दा आवश्यक पर्ने गम्छा, धोतीदेखि गास, बाससहितको सबै सुविधा छ’ प्रधानाध्यापक वासुदेव शर्माले भने, ‘छात्रहरूका लागि हामीले ६ महिनामा प्रतिपरिवार एक÷एक मानापाथी बाली उठाउने गरेका छौं ।’ मन्दिरमा आउने भक्तालुबाट उठ्ने भेटी, मन्दिरमा चढाइने चामल, पिठोसमेत विद्यालयले लिने गरेको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर ३, ५, ६, ८ र ९ वडाबाट बाली संकलन गरिन्छ । यसरी संकलन गरिएको अन्नबालीबाट विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खानाको व्यवस्था मिलाइएको छ ।
विद्यालयमा धार्मिक ग्रन्थका साथसाथै सरकारी विद्यालयमा पढाइ हुने पाठ्यक्रम पनि पढाउने गरिएको छ । ‘बिहान एक घण्टा धार्मिक ग्रन्थ पढाइ हुन्छ’ विद्यालयका प्रधानाध्यापक शर्माले भने, ‘दिउँसो सरकारी विद्यालयमा पढाइ हुने अंग्रेजी, गणित, विज्ञान विषय पढाउँछौं ।’ विद्यालयमा गुरुकुल नेपाली र गुरुकुल सामाजिकसहित ६ विषय अध्यापन गराउने गरिएको उनले जानकारी दिए । बिहान आठ बजेदेखि नौ बजेसम्म वेद, पुराण, गीता लगायतका धर्म ग्रन्थहरू पढाइ हुन्छन् । विद्यालयमा हाल १८ जना छात्र अध्ययनरत छन् ।
गुरुकुलमा अध्ययनका लागि कर्णाली प्रदेश र सात नम्बर प्रदेशबाट विद्यार्थीहरू आउने गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये गुरुकुल शिक्षा दैलेख, सुर्खेत र जाजरकोटका केही धार्मिक गुठीहरूमा पढाइ हुन्छ । प्रधानाध्यापक शर्माका अनुसार विद्यालयमा अध्ययनरत छात्रमध्ये सुर्खेतबाहेक दैलेखबाट तीन जना र कैलालीबाट एक जना छन् ।
गुरुकुल विद्यालयमार्फत् शास्त्री, आचार्य लगायतका उपाधि प्राप्त गरेपछि ज्योतिषी, वैद्य, कविराज लगायत लोकसेवामा समेत अवसर मिल्ने प्रधानाध्यापक शर्माको भनाइ छ । तर पछिल्लो समय लोप हुन थालेको गुरुकुलमा विद्यार्थी संख्या भने न्यून रहेको उनले बताए । विद्यालयमा दलित, जनजाति, पिछडा वर्ग लगायतलाई समेत पढ्न पाउने व्यवस्था छ । तर, हालसम्म ब्राम्हण समुदायका छात्रहरू मात्रै पढ्न आउने गरेका छन् । ‘विद्यालयमा कुनै विभेद छैन, तर अन्य समुदायका बालबालिका शास्त्रीय शिक्षा लिन आएका छैनन्’ उनले भने, ‘प्रचार अभावका कारण पनि विद्यालय ओझेलमा परेको छ ।’
पूर्वाधार अभाव, अनुदान अपुग
विद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा एक लाख ८८ हजार रूपैयाँ सरकारले अनुदान दिएको छ । विद्यालयमा तीन जना शिक्षक, एक जना कार्यालय सहयोगी र एक भान्सेसहित पाँच जना कर्मचारी कार्यरत छन् । पर्याप्त दरबन्दी नहुँदा पनि विद्यालय सञ्चालनमा चुनौती हुने गरेको प्रधानाध्यापक शर्माले बताए ।
विद्यालयका लागि भौतिक पूर्वाधारको अभाव छ । मन्दिर व्यवस्थापन समितिले वृद्धाश्रमका लागि बनाइएको भवनमा कक्षा सञ्चालन भइरहेको छ । आश्रमका लागि मन्दिर परिसरमा टिन लगाइएको चार कोठे भवन बनाइएको छ । भौतिक पूर्वाधार, शैक्षिक सामग्री र प्रविधिको अभाव विद्यालयका समस्या हुन् । ‘विद्यालयका लागि आवश्यकता अनुसार भवन र शैक्षिक सामग्री छैनन्’ प्रधानाध्यापक शर्माले भने, ‘विद्यालयमा कम्प्युटर समेत छैन ।’ विभिन्न अभाव र कठिनाइका बीच लोप हुने अवस्थामा पुगेको गुरुकुल शिक्षालाई निरन्तरता दिइएको उनले बताए ।
गुरुकुल शिक्षालाई सरकारले पनि प्राथमिकता दिएको पाइदैन । पञ्चपुरी नगरपालिकाले चालु आर्थिक वर्षमा समग्र शिक्षा क्षेत्रको सुधारका लागि भनेर ५० लाख रूपैयाँ विनियोजन गरेको छ । तर गुरुकुल शिक्षाका लागि भने बजेटले सम्बोधन गरेको छैन । नगरपालिका प्रमुख उपेन्द्र थापाले भने गुरुकुल विद्यालयको भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने जनाए । उनले साझा बिसौनीसँग भने, ‘ओझेलमा परेको गुरुकुल विद्यालयलाई नगरपालिकाले संरक्षण गर्छ ।’

प्रकाशित मितिः   १८ भाद्र २०७५, सोमबार १६:०८