बलात्कार रोक्न सरकारलाई ज्ञापनपत्र
साझा बिसौनी संवाददाता
सुर्खेत, १७ भदौ ।
बालिकाहरूमाथि भइरहेका बलात्कार र हिंसाका घटना रोक्न माग गर्दै नेपाल युवा संस्था सञ्जाल (आयोन) कर्णाली प्रदेशले आइतवार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई पाँच बुँदे मागपत्र बुझाएको छ ।
बालिकामाथि बलात्कार तथा हिंसाका घटना बढ्दै गर्दा कर्णाली प्रदेशमा यस्ता खालका घटना हुन नदिनको लागि पहल गर्नुपर्ने भन्दै संस्थाले मागपत्र बुझाएको हो । आयोनको सदस्य संस्था मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) समन्वयमा अन्य सदस्य संस्थाहरू सामाजिक विकास तथा प्रवद्र्धन केन्द्र सुर्खेत, ग्रामीण विकास नेपाल कालिकोट लगायत युवाका क्षेत्रमा काम गरिरहेका दर्जन बढी संस्थाहरूले समेत यस कार्यमा ऐक्यबद्धता जनाएका छन् ।
स्थानीय तहका टोल–टोलदेखि सबै ठाउँमा बलात्कारविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने, आम जनमानस देशको सुरक्षा व्यवस्थाप्रति विश्वस्त हुनसक्ने कार्यको सुनिश्चितता गर्नुपर्ने, कानूनले कसैलाई पनि विभेद नगरी दोषीलाई सजाय र पीडितलाई यथासक्य न्यायको आभाष दिलाउनुपर्ने भन्दै कर्णाली सरकारका सामाजिक विकास मन्त्रीलाई मागपत्र बुझाइएको आयोन कर्णाली प्रदेशका संयोजक चरित्राकुमारी केसीले जानकारी दिइन् ।
त्यसैगरी यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका कुराहरू पाठ्यक्रममा समावेश गरी हरेक तहका कक्षामा पढाउनुपर्ने, विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई समेत यस सम्बन्धी तालिमको व्यवस्था र आत्मरक्षाको तालिम दिइनुपर्ने र यौनजन्य तथा महिलाविरुद्ध हुने हिंसाको अन्त्य गर्न प्रदेश सरकार र स्थानीय सरकारले नीति बनाएर प्रभावकारी रूपमा कार्यान्वय गर्नुपर्ने माग राखिएको छ ।
नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेशको माागपत्र बुझ्दै कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावलले मागपत्रप्रती गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । उनले भने ‘बलात्कारीलाई मृत्यु दण्ड दिईनुपर्ने हो तर त्यसमा नेपालको संविधान र विभिन्न अन्र्तराष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेकोले मिल्दैन । बलात्कारीलाई बांचुन्जेल जेलमा सड्न दिनु पर्छ ।’ उनले कर्णालीमा जनता ढुक्क हुने वातावरण तय गर्न सरकार लागिरहेको जिकिर गरे ।
साझा बिसौनी संवाददाता ।