सुर्खेतमा बहुआयामिक रंगशाला

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ भदौ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले खेलकुदको विकासका लागि सुर्खेतमा बहुआयामिक रंगशाला र हुम्लामा ‘हाइ अल्टिच्यूड कभर्ड हल’ निर्माण गरिने बताएका छन् । कर्णालीलाई खेलकुदमा अब्बल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री रावलले खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने बताएका हुन् ।
सुर्खेतमा राष्ट्रियस्तरको बहुआयामिक रंगशाला निर्माण लगायत पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको मन्त्री रावलको भनाइ छ । नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको नयाँ ‘पुम्से सेमिनार’ को उद्घाटन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् । तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् खेलाडीहरू समेतको सहभागिता रहेको सेमिनारमा बोल्दै मन्त्री रावलले सीमित बजेटका बाबजुत पनि खेल क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे ।
पहिला पुम्से विधा प्रदर्शनको रूपमा मात्रै रहेकोमा अब भने प्रतिस्पर्धाका रूपमा लिइने तेक्वान्दो संघका केन्द्रीय सदस्य नन्दा बस्यालले बताइन् । कोरियन प्रशिक्षकद्वारा प्रशिक्षण हुने भएकोले नयाँ नियम लागू गरी अन्य प्रदेश बराबरका खेलाडी कर्णाली प्रदेशमा पनि उत्पादन गर्ने केन्द्रीय सदस्य बस्यालको भनाइ थियो ।
कर्णाली प्रदेशमा सक्षम खेलाडी उत्पादन गर्नको लगि नयाँ पुम्से सेमिनार पनि उद्घाटन गरिएको सहायक प्रशिक्षक तथा सुर्खेत तेक्वान्दो संघका अध्यक्ष भुवन थापाले बताए । पुम्से बिधामा पनि कर्णाली प्रदेशका धेरै खेलाडीहरूले राष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यले नयाँ सेमिनार नै सुरु गरी प्रशिक्षण दिन लागेको उनको भनाइ छ । सेमिनारमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, उपाध्यक्ष जनक रावल लगायत तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक र खेलाडीहरूको सहभागिता रहेको
थियो । सेमिनार आगामी २० गतेसम्म चल्नेछ ।

प्रकाशित मितिः   १८ भाद्र २०७५, सोमबार १६:०४