व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ भदौ ।
सुर्खेतका व्यवसायीहरूलाई कर सम्बन्धी प्रशिक्षण दिइएको छ । सुर्खेत उद्योग वाणिज्य संघको समन्वय तथा आन्तरिक राजश्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुर्खेतका व्यवसायीहरूलाई आयकर तथा मूल्यअभिवृद्धि कर सम्बन्धी प्रशिक्षण दिइएको हो ।
आयकर र मूल्यअभिवृद्धि कर सम्बन्धी व्यवसायीहरूमा अन्यौलता देखिएकाले यसबारे सचेत गराउन तीन दिने तालिमको आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । राज्यका ऐन नियम सबैले मान्नुपर्ने भन्दै अध्यक्ष शाहीले व्यवसाय गर्दा आफूले पालना गर्नुपर्ने नीति नियमबारे पनि व्यवसायीहरू जानकार हुनुपर्ने बताए । साथै उनले प्रदेश र स्थानीय सरकारले लगाएको करले व्यवसायीहरू त्रसित बनेको भन्दै दोहोरो कर हटाउनुपर्ने र लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
आन्तरिक राजश्व कार्यालय सुर्खेतका यज्ञराज ढकालले कर सम्बन्धी बनेका नयाँ कानूनहरूबारे पनि सबै व्यवसायी जानकार हुनुपर्ने बताए । कर छल्ले गरी नभइ आफूले गरेको कारोबार अनुसारको कर राज्यलाई तिरेर सुरक्षित हुनेतर्फ व्यवसायी सजग हुनुपर्ने ढकालको भनाइ थियो । उनले पछिल्लो समय सुर्खेतमा कर तिर्नेको संख्यामा पनि वृद्धि भएको बताए ।
तालिमका प्रशिक्षक लक्ष्मीप्रसाद लुइँटेलले व्यवसायीहरूले भोगिरहेका कर सम्बन्धी समस्या र त्यसका समाधानका बारेमा जानकारी गराएका थिए । तालिम तीन दिनसम्म सञ्चालन भएको थियो । तालिमका सहभागी व्यवसायीहरूले तालिमबाट करका बारेमा धेरै कुरा थाहा पाइएको भन्दै यस्ता तालिमहरू समय–समयमा सञ्चालन गर्न आग्रह गरेका थिए ।

प्रकाशित मितिः   १८ भाद्र २०७५, सोमबार १६:०४