‘छोरीले पढ्नु हुँदैन भन्थे म भागेर विद्यालय गएँ’

लक्ष्मी शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतकी नेतृ हुन् । वि.सं. २०४६ सालपछि राजनीतिमा प्रवेश गरेकी शर्मा तत्कालीन एमालेको जिल्ला कमिटीको पूर्व सदस्यसमेत हुन् । स्व. बुबा ऋषीराम पौडेल र आमा रिमादेवी पौडेलको कोखबाट उनी २०२४ मंसिर १० गते जन्मिएकी हुन् । राजनीतिलाई नै समाजसेवाको बाटो बनाएकी शर्माले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन्ः
मेरो बाल्यकाल रमाइलोसँग नै बित्यो । गर्पनमा हाम्रो पौडेल परिवारको एउटै बस्ती थियो । ठूलो परिवार एकै ठाउँमा थियौं । बाजेहरू, ठूलोबुबा, अकंलहरू सबै एकै ठाउँमा थियौं । भाइबिहिनीहरू धेरै हुन्थ्यौं । सबै भाइबहिनीहरू मिलेर खेल्दा निकै रमाइलो हुन्थ्यो । भोक लाग्यो भने जसको घरमा गएर पनि खान पाइहाल्थ्यौं ।
त्यसबेलामा पढ्नुपर्छ भन्ने भावनाको विकास भइसकेको थिएन । दाइहरू पढ्न जानुहुन्थ्यो । छोरीहरूलाई पढाउनु हुँदैन भन्ने चलन थियोे । छोरीलाई बाहिर जान दिँदैन्थे । कसैसँग बोल्न हुँदैन भन्थे । हाँस्यो भने समस्या हुन्थ्यो । अझ ब्राम्हणको समाजमा त झन् गाह्रो थियो । त्यसकारण हामी विद्यालय पनि जान पाउँदैन्थ्यौं । घरको काम गर्ने, भाइबहिनी हेर्नै नै मुख्य काम हुन्थ्यो । दाइहरूले पढेको देखेर धेरै पढ्न मन लाग्थ्यो । दाइले पढेको सुनेरै धेरै कुरा सिकेकी थिएँ मैले ।
म ११ वर्षको पुगेको थिएँ । विद्यालय जान धेरै नै मन लाग्यो । एक दिन अरु दाइहरूलाई म पनि आज विद्यालय जाने हो, पर्खनु भनें । त्यस दिन भाइबहिनी हेर्ने काम छोडेर घरका कसैलाई थाहा नै नदिइ भागेर विद्यालय पुगें । आमा मलाई खोज्दै स्कुल पुग्नु भएको थियो । पहिले आमा र बुबाले नपढे पनि हुन्छ । बाहिर गएर केही भयो भने के गर्ने बाहिर जानुहुँदैन भन्नुहुन्थ्यो ।
घरबाट स्कुल पुग्न आधा घण्टाभन्दा बढी हिँड्नुपथ्र्यो । स्कुलमा मेरो अंकल शिक्षक हुनुहुन्थ्यो । दाइ त्यही पढ्नुहुन्थ्यो । मलाई पढ्न जानेकी छस् भनेर अंकलले सोध्नुभयो । मैले जानेकी छु भनें । अनि पढ्न सक्छेस् त भनेर भन्नुभुयो । मैले पनि सक्छु भनें । त्यसपछि कक्षा २ मा नाम लेखाइदिनुभयो ।
विद्यालय पुग्न उकालो र ओरालो हिँड्नुपथ्र्यो । म सुरुमै दुई कक्षामा भर्ना भएँ । मेरो जीवनको सबैभन्दा खुशीको क्षण नै त्यही हो । त्यो दिन म यति खुशी थिएँ कि अहिले वयान गर्न सक्दिनँ । उमेर धेरै भएकाले मलाई सुरुमै कक्षा २ मा भर्ना गरिदिनुभएको थियो । पहिलो वर्ष नै कक्षा प्रथम भएँ । तीन कक्षासम्म गर्पनमा नै पढें ।
तीन कक्षापछि पढ्नका लागि मेहेली गएँ । त्यहाँ चार कक्षा नपढेरै पाँचमा भर्ना भएँ । पाँचमा भने ते्रसो स्थानमा उत्तीर्ण भएँ । दुुई जना म भन्दा अलि सिनियर दाइहरू थिए । उनीहरू प्रथम र दोस्रो हुन्थे । केटी साथीहरूमा म नै प्रथम हुन्थें । केटा साथीहरूलाई मैले जित्नुपर्छ भनेर मेहेनत गर्थें । एक–दुई नम्बर कम हुँदा तेस्रो हुन्थें । तर पनि सन्तुष्टी थिएँ । पढाइमा मेहेनत गर्थें । प्रथम र दोस्रो हुनेहरू नियमित विद्यालय जान्थे । मैले भने घरमा पनि काम गर्नुपथ्यो । घरायसी अन्य कामका साथै खाना पकाएर मात्र पढ्न जान्थें । घरमा पनि मैले भात पकाउँदै पढ्ने गथें ।
हामी सात जना मात्र केटी साथीहरू थियौं । घरबाट मेहेली पुग्न दुई घण्टा लाग्थ्यो । बाटोमा आउँदा छिटोछिटो स्कुल आउने र जाँदा खेल्दै–रमाउँदै जान्थ्यौं । बाटोमा भोक लाग्थ्यो । कहिले खाजा ल्याएर आउँथ्यौं, कहिले भोकै हुन्थ्यौं । मकै, केराउ भुटेर खाजा ल्याउँथ्यौं । घरमा साँझ समयमै जानुपर्ने हुन्थ्यो । हामी खेल्दै जाँदा रात पथ्र्यो अनि बुबाआमाले गाली गर्नुहुन्थ्यो । घर गएर कहिले काहीं खाना पनि पकाउनुपर्ने बाध्यता हुन्थ्यो । साँझको खाना खाएर छिटो–छिटो होमवर्क गर्न बस्नुपथ्र्यो ।
बाल्यकालमा खेल्न धेरै मन लाग्थ्यो । त्यस बेलामा डन्डीबियो, खुट्टे, गोट्टा धेरै खेलियो । भैंसी हेर्न जाने अनि भैंसीलाई पोखरीमा छोडेर हामी मजाले खेल्थ्यौं । साथीहरू मिलेर काँक्रा, उखु चोरेर
खान्थ्यौं । साथीहरू जाम भनिहाल्थे । मलाई डर लाग्थ्यो । कहिले काहीं डराइडाइ जान्थें । कहिले काहीं आ–आफ्नै घरमा पनि चोर्न पुग्थ्यौं । बारीमा जति भने पनि फल्थे । रमाइलो हुन्थ्यो ।
बाल्यकालदेखि नैै मेरो स्वभाव कसैसँग डराउनु हुँदैन । दमन सहनु हुँदैन भन्ने थियो । गाउँघरमा महिनावारी हुँदा बाहिर सुत्नुपर्ने, गाइभैंसीको दुध खान नहुने भन्थे । खानै दिँदैनथे । देउता रिसाउँछन् भन्थे । हाम्रो घरमा बाहिर सुत्नु पर्दैन्थ्यो । तर गाइभैंसीको दुध खान भने पाइदैन्थ्यो । मलाई लाग्थ्यो, महिनावारी हुँदा काम गर्न हुन्छ घाँस काट्नुहुन्छ तर दुध किन खान पाइदैन ? हामीले पनि महिनावारी हुँदा खानुपर्छ भन्ने लाग्थ्यो । बुबाले मलाई कहिले पनि नराम्रोसँग गाली गर्नुहुन्थेन । मैले भनेको नाइ भन्न सक्नुहुन्थेन । एक पटक म महिनावारी हुँदा बुबासँग मोही नभएसम्म म खाना खाँदैन भनें । मैले धेरै कर गरेपछि बुबाले खान दिनुभयो । त्यसपछि म गाउँभरी नै मैले महिनावारी हुँदा दुध मोही खाएँ भन्दै हिँडे । साथीहरूलाई पनि अबदेखि खानु भनें । अभियान जस्तै गरें । त्यसपछिबाट अरुले पनि खान थाले ।
म कक्षा ८ मा पढ्दै गर्दा विवाह भयो । १६ वर्षको मात्र थिएँ । पहिले सानै उमेरमा घरमा माग्न आउने चलन हुन्थ्यो । विवाह भएर वीरेन्द्रनगर १४ गढीको थालीमा आएँ । त्यसबेलामा अहिलेको जस्तो गाडीको सुविधा थिएन । जन्ती हिँडेर नै गएका थिए । घर आउँदा हिँडेर आएँ । मेहेलीमा कक्षा ८ सम्म पढे पछि फिनिकाँडा पढें । मैले त्यहाँ कक्षा १० मा नाम लेखाएर पढें । घरव्यवहारले गर्दा भनेको जसरी पढाइलाई अघि बढाउन सकिनँ । बाल्यकालमा पढ्न नपाएको त्यो इच्छालाई अहिले आएर पूरा गरें । २०६८ सालमा एसएलसी पास गरें । २०७३ सालमा ११ र १२ पास गरें ।
बाल्यकालदेखि नै राजनीतिको प्रभाव परेको थियो । महिलाले पनि केही गर्नुपर्छ भन्ने लाग्थ्यो । मेरो जेठो बुबा प्रधान हुनुहुन्थ्यो । मैले २०४६ सालको आन्दोलनमा पनि सहभागिता जनाएँ । त्यसपछि राजनीतिमा लागें । बहुदल आएपछि पार्टी स्थापना भए । म तत्कालीन एमालेको वडा कमिटी सदस्य भएर प्रवेश गरेको हुँ । तत्कालीन वीरेन्द्रनगर–३ को वडा सदस्य भएर राजनीतिमा लागें । पछि पार्टीको महिला संगठन, जिल्ला कमिटी सदस्य र जिल्लाको सचिवालय सदस्य पनि भएँ ।

प्रकाशित मितिः   १८ भाद्र २०७५, सोमबार १६:०३