दृष्टिविहीन क्रिकेट प्रतियोगिता
साझा बिसौनी संवाददाता
सुर्खेत, १६ भदौ ।
सुर्खेतमा पहिलो पटक जिल्लास्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा शिखर माध्यमिक विद्यालय रामघाटको टिम १३ रनले विजयी भएको छ ।
पहिले ब्याटिङ्ग गरेको शिखर माविले बागेश्वरी मावि राकमलाई १३ रनले हराएको हो । १८ जना खेलाडी सहभागी भएको प्रतियोगितामा शिखर माविले पाँच ओभरमा दुई विकेट गुमाएर ४१ रन बनाएको थियो । ४२ रनको लक्ष्य पछ्याएको बागेश्वरीले पाँच ओभरमा ६ विकेट गुमाएर २९ रन बनाएको युवा तथा खेलकुद उपसमिति संयोजक रमेश तुलाधरले जानकारी दिए ।
प्रतियोगिता प्रथम हुने टिमलाई पाँच हजार र द्वितीय स्थान हासिल गर्ने टिमलाई नगद तीन हजार पुरस्कार प्रदान गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले पुरस्कार वितरण गरेका हुन् ।
यसैबीच, प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभालाई विकासका निम्ति प्रयोग गर्नुपर्ने बताइन् । उनले अपाङ्गताका क्षेत्रमा काम गर्ने संघ–संस्थाहरूसँग पनि अपाङ्गता भएकाहरूको संरक्षणका लागि सुझाव दिन पनि आग्रह गरिन् ।
यो प्रतियोगिताले दृष्टिविहीनहरूको क्षमतालाई ऊजागर गर्न मद्दत पु¥याउने विश्वास आयोजकले लिएको छ । दृष्टिविहीनहरूले खेलेको देखेर अरुलाई पनि ऊर्जा मिल्ने सहकारीका अध्यक्ष भीमबहादुर भण्डारीले बताए ।
साझा बिसौनी संवाददाता ।