सहकारीद्वारा स्वास्थ्य बीमा कार्यक्रम लागू

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ भदौ ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वास्थ्य बीमा कार्यक्रम सुुरु गरेको छ । सहकारीले सञ्चालन गरेको उक्त स्वास्थ्य बीमा कार्यक्रमको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले शनिवार एक कार्यक्रमका बीच उद्घाटन गरेकी छन् ।
उद्घाटनका क्रममा मन्त्री केसीले स्वास्थ्य बीमा उपलब्धीमूलक हुनुपर्ने बताइन् । पछिल्लो समय सहकारीका माध्यमबाट समाजमा कृषि तथा सामाजिक कार्यमा सहजता आएको बताउँदै मन्त्री केसीले सहकारीहरूले स्थानीयस्तरमै रोजगारी सिर्जना गरेर युवाहरूलाई विदेशिनुबाट रोक्नुपर्नेमा जोड दिइन् । ‘अहिले पनि लाखौंको संख्यामा युवा कामको खोजीमा विदेशिने गरेको अवस्था सबैलाई अवगतै छ’ मन्त्री केसीले भनिन्, ‘पछिल्लो समय गाउँघरमा पायक पर्नेगरी खुलेका ती सहकारीहरूले नाफा मात्र नहेरेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सक्रिय हुन जरुरी छ ।’
सहकारीले आफ्नो शेयर सदस्यहरूलाई स्वास्थ्य सेवामा सहज वातावरण सिर्जना गर्ने उद्देश्यका साथ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम बिसीले जानकारी दिए । विकटमा रहेका शेयर सदस्यहरूलाई समेत स्वास्थ्य उपचारमा सहज पहुँच पुगोस् भन्ने हेतुले बीमा कार्यक्रम सञ्चालन गरेको बताउँदै अध्यक्ष बिसीले हाल बचत तथा ऋण, कृषि, लघुवित्त जस्ता कार्यक्रम सञ्चालन गर्दै आएकोमा अब केही समयमै नागरिकले प्रत्यक्ष सेवा लिन सक्ने खालका अन्य कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख गरे ।
संस्थाका कानूनी सल्लाहकार रामबाबु बिसीले नागरिकहरूलाई स्वास्थ्य बीमाको बारेमा जानकारी दिनुका साथै शेयर सदस्यहरूको स्वास्थ्य सेवामा सहजता ल्याउन बीमा कार्यक्रम सञ्चालन गरिएको बताए । सहकारीले सञ्चालन गरेको स्वास्थ्य बीमा गर्न सहकारीको अनिवार्य शेयर सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ । बीमा गरेका सदस्यहरूले बीमा शुल्क अनुसार वार्षिक एक लाखसम्मको स्वास्थ्य बीमा रहनेछ । सदस्यहरूले बढी बीमा गर्न चाहेमा बीमा शुल्क दर अनुसार शुल्क थप गरेर पाँच लाखसम्मको स्वास्थ्य बीमा गर्न सकिने छ ।
यस्तै नेपाल र भारतसहित ६ सयभन्दा बढी अस्पतालहरूमा नगदसहित सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । बीमा रकम विना झन्झट सजिलै भुक्तानी गरिने संस्थाका अध्यक्ष प्रेमकुमार बिसीले बताए ।

प्रकाशित मितिः   १७ भाद्र २०७५, आईतवार १५:३४