विभेदभित्रको विभेद
सविता जिसी
एउटा खुला छलफल । अतिथि दीर्घामा कर्णाली प्रदेशसभाका सांसद, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष लगायतका केही व्यक्ति । कार्यक्रम स्थल जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बराहताल गाउँपालिका वडा नम्बर ६ ।
सहभागी दीर्घामा ५० जना भन्दा बढी । दलित समुदायमा अन्तर समुदायबीचको तीन घण्टाको छलफलका क्रममा, फरक–फरक दृश्य देखिए । अघिल्लोपट्टी राखिएको ब्यानरमा प्रभावकारी सहभागिता, आधारतभूत सेवा र समन्यायिक पहुँचका विषयमा अन्तरसमुदायबीच संवाद कार्यक्रम लेखिएको थियो । छलफलका सहभागीले निर्धक्क भएर आफ्ना कुरा राखिरहेका थिए । छलफलका क्रममा जातीय विभेद र छुवाछुतको प्रसंगले नै अलि बढी समय लियो ।
सामान्यतः जातीय विभेद भन्ने वित्तिकै दलित समुदायका व्यक्तिलाई गैर दलितले गर्ने फरक व्यवहार भन्ने अधिकांशको सोच हुन्छ । तर सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ६ ब्युरेनीका कविराम विकलाई भने दलित समुदायभित्रकै विभेदले बिझाएको रहेछ । एकातिर कथित उपल्लो जाति भनिएका समुदायले गर्ने विभेद त छँदैछ, दलित समुदायभित्रैको विभेद र छुवाछुतले आक्रान्त बनाएको कविरामले गुनासो गरे ।
कविरामका कुरामा हो मा हो मिलाउँदै कार्यक्रमका अन्य सहभागीहरूले थपे ‘हामीभित्रै बेमेल छ, हामी एक हुन सकेका छैनौं, त्यसैले पनि जातका आधारमा विभेदका घटनामा कमी आउन सकेको छैन ।’ वडा नं. ६ को बसन्तपुर, बुटी, ब्युरेनीमा दलित समुदायको बाहुल्यता छ । दलित समुदायको बाहुल्यता रहेकाले यहाँका नागरिकले आफ्नै समुदायभित्रका आफूलाई कथित उच्च जाति ठान्नेहरूबाटै विभेद सहनु परेको गुनासो गरे । छलफलका अवधिमा अधिकांश सहभागीको मुखबाट दोहोरिएको शब्द थियो, ‘कथित उपल्लो जातिबाट हुने विभेद त छँदैछ, हाम्रै समुदाय भित्रको विभेद पहिले अन्त्य गरौं ।’
विभेदका स्वरूप फरक–फरक
दलित र गैरदलित माथिको विभेद बराहतालका अन्य गाउँमा समेत व्याप्त छ । अझै पनि सार्वजनिक धारामा निर्धक्क साथ पानी भर्न नपाएको बराहतालका दलित समुदायको गुनासो छ । बराहताल–६ का चन्द्रबहादुर विकले पहिलेको तुलनामा विभेद केही कम भए पनि दलित माथिको विभेद पुरै हट्न नसकेको बताए । चन्द्रबहादुरले पहिले र अहिलेका मानिसमा चेतनाको स्तर केही माथि उठे पनि विभेद भने कायमै रहेको गुनासो गरे । उनले आफूहरू उच्च समुदायका हौं भन्ने घमण्डका कारण विभेद उस्तै रहेको बताए ।
ब्यूरेनीका महिलाहरू आफूमाथि भएका विभेदका क्षणहरू सुनाउँदा मलिन अनुहारमा देखिन्थे । आफ्ना भोगाइहरू सुनाउँदा अधिकांश महिलाहरू अहिलेको समयमा पनि जातको नाममा समाजबाट अपहेलित हुनुपरेको क्षण सम्झदैं भक्कानीय ।
बराहताल गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य अमृता विक दलित समुदायलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाउँदैछिन् । स्थानीय तहको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएपछि उनले दलित समुदायको नेतृत्व गरेकी छन् । उनी दलित समुदाय अगाडि बढ्नका लागि जाँड रक्सीलाई निरुत्साहन गर्नुपर्ने देख्छिन् । राज्यका ऐन कानुन कार्यान्वय गर्ने निकाय मात्रै बलियो भएर हुँदैन दलित समुदाय पनि आफ्नो आवाज उठाउन सक्ने हुनुपर्छ भन्ने उनलाई लागेको छ । मानवअधिकार पैरवी सञ्जाल बराहताल गाउँपालिकाका अध्यक्ष कर्णबहादुर विकलाई भने जातीय विभेद तथा छुवाछुत सम्बन्धी बनेका कानुन प्रभावकारी रूपमा कार्यन्वयन नहुँदा जातीय विभेद तथा छुवाछुत निर्मूल हुन नसेको भन्ने लागेको छ । उनले राज्यका कानुन कार्यान्वयन हुन नसक्दा दलितहरूले मूल्यहीन काम गर्नु, कम सम्मान पाउनु, र अन्य जातिबाट हेपिएर बस्नु, उनीहरूको सेवामा तल्लीन हुनुपर्ने जस्ता समस्या भोग्नुपरेको बताए । केही व्यक्तिले जातीय छुवाछुतलाई धर्मसँग पनि जोड्ने गरेका छन् । जातका आधारमा पछि परेका दलित समुदाय यहाँ नेर फेरि अर्को पटक धर्मका कारण थिचोमिचोमा परेका छन् ।
ठाउँ र परिवेश अनुसार धार्मिक दृष्टिकोणले सबै जाति विभेदमा परेका छन्, तर अन्य समुदायको तुलनामा दलित समुदाय बढि विभेदको सिकार बनिरहेका छन् ।
सुधार्नुपर्ने कानुन कि मानसिकता ?
कानुनतः देशलाई नै छुवाछुतमुक्त घोषणा गरिएको छ, तर गाउँबस्तीमा दलित समुदायले वास्तविकतामा त्यसको अनुभूति गर्न पाएका छैनन् । जातीय भेदभाव हटाउनका लागि विभिन्न नीति नियम बनेका छन्, केही नीति बन्ने प्रक्रियामै छन्, यसरी हेर्दा जातीय भेदभाव अन्त्यका लागि नीति नियमको अभाव खड्किएको अवस्था छैन ।
सरकारी तथा गैरसरकारी निकायबाट पनि जातीय विभेद अन्त्यका लागि विभिन्न पहल कदमी भएका छन् । तर जातका आधारमा हुने विभेद र छुवाछुत बस्ती बस्तीमा जकडिएर बसेको छ । त्यसैले अब जातीय विभेद न्यूनीकरण गर्नका लागि गैर दलित मात्र नभइ कथित उच्च भनिने जातिका समुदायको मानसिकतामा परिवर्तन आउनुपर्छ । राज्यले विभेद न्यूनीकरणका लागि आवश्यक योजना तथा कार्यक्रम बनाउनु पर्दछ ।
जातीय विभेदका घटना धेरै हुने गरे पनि प्रहरी वा सम्बन्धित निकायसम्म निकै नै कम आउँने गरेका छन् । एकतातिर उजुरी कम पर्ने र परेका केही उजुरीको पनि समयमै उचित कारबाही नुहुनुले यस्ता कार्यलाई घटाउने भन्दा पनि दुरुत्साहन गरेको देखिन्छ । नेपालले आफूलाई मानवअधिकारको पक्षमा, लोकतन्त्रको पक्षमा उभ्याएको छ तर पनि कहिले पानी छोएको निहुँमा, कहिले बोक्सीको निहुँमा त कहिले अन्तरजातीय विवाह गरेको निहुँमा नेपाली समाजमा सामाजिक रूपमा नै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा छुवाछुत र विभेद निरन्तर हुँदै आएका छन् ।
हालसम्म भएका विभेदका घटनाहरू हेर्दा केही प्रतिनिधिमूलक घटनाहरू आफूलाई उच्च जातिको भन्ने व्यक्तिबाटै भएको पनि छन् । समाजको निर्दोष महिलाहरू बोक्सीको आरोपमा कुटिरहेका छन्, यसरी कुटिनेमा अघिकांश पीडित दलित समुदायकै छन् । यसले गर्दा दलितको बाँच्न पाउने अधिकार माथि नै प्रश्न सिर्जना हुने परिस्थिति आएको छ । त्यसैले अब दलितहरूलाई दलितको रूपमा मात्र हेर्ने दृष्टिकोण फराकिलो बनाउनुपर्दछ । अब हामीले सकरात्मक भएर सोच्नुपर्ने आवश्यक छ ।
साझा बिसौनी संवाददाता ।