महाशाखाले बनाएको ‘डिजाइन’ नै गलत
साझा बिसौनी संवाददाता
सुर्खेत, १४ भदौ ।
पूर्वी सुर्खेतको दशरथपुर र रामघाट जोड्नका लागि भेरी नदीमा निर्माण गर्ने भनिएको पक्की पुल निर्माण सुरु नहुँदै अलपत्र परेको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले गलत डिजाइन गर्दा निर्माण कार्य सुरु भए लगत्तै काम रोकिएको छ ।
पुल निर्माणका लागि महाशाखाले बनाएको नक्सामा पिल्लर उठाउनुपर्ने ठाउँमा चट्टान भेटिनुपर्ने थियो । तर पुल निर्माणको काम सुरु गरेर पिल्लरका लागि जग खन्दा चट्टान नै नभेटिएपछि महाशाखाले तयार पारेको गलत डिजाइनको रहस्य खुलेको हो । सम्झौता अनुसार निर्माण सम्पन्न भइसक्नुपर्ने समय सकिन ६ महिना मात्र बाँकी रहँदा पुलको काम नै अघि बढ्नसकेको छैन ।
वि.सं. २०७३ साल पुस २ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उक्त पुलको शिलान्यास गरेका थिए । शिलान्यासका क्रममा उनले भनेका थिए, ‘अब यहाँका नागरिकले भेरी तर्नका लागि डुङ्गा वा झोलुङ्गे पुलको भर पर्नुपर्ने छैन ।’ तर शिलान्यास भएको दुई वर्ष पुग्नै लाग्दासमेत दशरथपुर र रामघाटका नागरिक भेरी तर्नका लागि झोलुङ्गे पुलकै भर पर्दै आएका छन् ।
महाशाखाको बेवास्ता
पुल निर्माणको काम अघि बढाउन नयाँ नक्सा बनाउनुपर्ने हुन्छ । यसका लागि सडक डिभिजन कार्यालय सुर्खेतले पहल नै नगरेको भने होइन । तर पुल महाशाखाले बेवास्ता गर्दा काम अघि बढ्न सकेको छैन ।
सडक डिभिजन कार्यालय सुर्खेतले डिजाइन पुनर्मूल्यांकनका लागि सडक विभाग अन्तर्गतको पुल महाशाखामा पटक–पटक अनुरोध गर्दा पनि महाशाखाले सुनुवाइ नगरेको जनाएको छ । कार्यालयका इन्जिनियर खुमबहादुर भण्डारीले पहिलेको डिजाइन पुनर्मूल्यांकन गरेर नयाँ नक्सा बनाएपछि मात्रै काम सुरु हुनसक्ने जनाए । उनले डिजाइन रिभ्यू हुने प्रक्रियामै भएकाले काम सुरु हुन नसकेको समेत जानकारी दिए ।
पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी सडक डिभिजन कार्यालय सुर्खेतको मुख ताकेर बसिरहेको छ भने सडक डिभिजन कार्यालय भने पुल महाशाखाले डिजाइन रिभ्यू गर्ने प्रतिक्षामा छ । जसले गर्दा पुल निर्माणको काम सुरु हुन सकेको छैन ।
स्टील ट्रष्ट पुलको ठेक्का जेन्सी÷पिसी÷आशिष जेभीले लिएको छ । एक सय ५४ मिटर लामो स्टील ट्रष्ट पुल फुटपाथबाहेक सात मिटर चौडाइको हो । भ्याट बाहेक २० करोड ९० लाख ८६ हजार तीन सय ७० रूपैयाँको लागतमा निर्माण हुने पुल २०७६ माघ ९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने हो । निर्माण कम्पनीले शिलान्यास लगत्तै पुल निर्माणका लागि काम सुरु गरेको थियो । कम्पनीले पुल निर्माणका लागि आवश्यक गिट्टी, बालुवा, सिमेन्ट र छड आयोजनास्थलमा खसालेको थियो । तर दायाँतर्फको पिल्लर उठाउनुपर्ने जग खन्दा डिजाइन अनुसार चट्टान नभेटिएपछि काम रोक्नु परेको जनाएको छ ।
स्थानीयबासी निराश
रामघाट र दशरथपुर जोड्नका लागि भेरी नदीमा पक्की पुलको शिलान्यास हुँदा दशरथपुरका ५९ वर्षीय मानबहादुर नेपाली निकै हर्षित भएका थिए । भेरी नदीमाथि पक्की पुल बन्ने र नदी वारपार गर्न सहज हुने परिकल्पना गर्दै हर्षित बनेका उनी यतिबेला भने निराश छन् । पुल शिलान्यास भएको दुई वर्ष पुग्नै लाग्दा समेत निर्माण कार्य सुरु नै नभएपछि उनी निराश बनेका हुन् ।
‘समयमै पुल बन्छ भने, मन्त्रीलाई समेत ल्याएर तामझामका साथ शिलान्यास पनि गरे’ नेपाली भन्छन्, ‘पुल बन्ला र सजिलो होला भनेर हामी पनि खुशी भयौं तर अहिले नक्सा नै गलत भो भनेर काम रोकेका छन् ।’ उनले गलत डिजाइन गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने बताए । ‘माटो परीक्षण नै गलत भयो भनेको सुन्छु, पुल बनाउने ठाउँमै नआएर सहरतिरै बसेर बनाए होलान्’ उनले कर्मचारीमाथि शंका गर्दै भने, ‘भेरी नदीमाथि बनाउने पुलको नक्सा नै गलत बनाउनेलाई कारबाही नै गर्नुपर्छ ।’
भेरी नदीमा पक्की पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्नु परिरहेको रामघाटका पहलसिंह थापा बताउँछन् । पुल निर्माण नहुँदा भेरीगंगा नगरपालिकाका साथै, लेकवेशी नगरपालिका, रामघाट, दशरथपुर तथा चिङ्गाड गाउँपालिकाका बासिन्दालाई वारपार गर्न कठिनाइ भइरहेको उनले बताए । पुल बन्छ भनेर हर्षित भएका स्थानीयबासीहरू अब भने पुल नै नबन्ने हो कि भन्ने चिन्ताले पिरोलिएका छन् ।
साझा बिसौनी संवाददाता ।