१४ दिनमा १५ जना पक्राउ
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ भदौ ।
नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको भे ४ प ३४२१ नम्बरको मोटरसाइकल जाँच गर्दा मंगलवार प्रहरीले चार पुडिया दुई ग्राम लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गर्यो ।
वीरेन्द्रनगर–३ तातापानी बस्ने २९ वर्षीय रमेशकुमार मल्लले मोटरसाइकलको लुकिङ्ग ग्लासमा लुकाएर ल्याउँदै गरेको ब्राउन सुगर प्रहरीले बरामद गरेको हो ।
मंगलवार नै नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे ८ प ३७०६ नम्बरको मोटरसाइकलमा सवार वीरेन्द्रनगर–३ कै २४ वर्षीय समिर थापा र सोही ठाउँका २३ वर्षीय यज्ञ सुनार पनि एक पुडिया ब्राउनसुगरसहित पक्राउ परे ।
त्यसैगरी भे ३ प ४२९४ नम्बरको मोटरसाइकलमा नेपालगन्जबाट सुर्खेत आउँदै गरेका वीरेन्द्रनगर–४ का सन्तोष बस्याल र वीरेन्द्रनगर–१ का डम्मरबहादुर भण्डारी पनि नौ ग्राम भन्दा बढी ब्राउनसुगरसहित नै भेटिए । प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको छ ।
उल्लेखित तीन घटना जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरीचौकी सुब्बाकुनाले संयुक्त रूपमा गरेको जाँचका क्रममा नेपालगन्जबाट ब्राउनसुगर ल्याउँदै गर्दा प्रक्राउ परेका उदाहरण मात्रै हुन् । यसरी हरेक दिन जसो सुर्खेतमा लागूऔषध भित्रिने गरेको छ । यसलाई प्रहरी नै स्वीकार्छ ।
सुर्खेतमा पछिल्लो समय लागूऔषधको कारोबारमा वृद्धि भएको पाइएको छ । प्रहरीले पक्राउ गरेका लागूऔषधको कारोबारी र प्रयोगकर्ताहरूको तथ्यांकलाई मात्रै हेर्ने हो भने पनि सुर्खेतमा पछिल्लो समय लागूऔषधको व्यापार बढ्दै गएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो १४ दिनमा लागूऔषधको कारोबारमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । यसले जिल्लामा मौलाउँदै गएको लागूऔषध कारोबारको अवस्था प्रष्ट्याउँछ ।
प्रहरीका अनुसार लागूऔषधको कारोबार र प्रयोगमा युवाहरूको संख्या ठूलो छ । विशेष गरी १८ देखि ४० वर्षसम्मका युवाहरू नै यसको
ओसार–पसार र प्रयोगमा संलग्न हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले बताए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो एक महिनामा कार्यालयले गरेका कामको विवरण सार्वजनिक गरेको छ । एसपी रजौरेका अनुसार गत साउन २८ देखि भदौ १३ गतेसम्म सुर्खेत जिल्लामा विभिन्न आपराधिक गतिविधि भएका छन् । प्रहरी कार्यालयमा यो अवधिमा चोरीका चार, अपहरण तथा शरीर बन्धक सम्बन्धी दुई, आत्महत्या सम्बन्धी आठ, जबरजस्ती करणीका ६, लागूऔषध ब्राउनसुगर सम्बन्धी आठ, गाँजा सम्बन्धी तीन तथा बहुविवाह सम्बन्धीका तीन वटा मुद्दा दर्ता भएका छन् ।
एसपी रजौरेले समाजमा शान्ति सुरक्षा कायम गर्न अपराध नियन्त्रणका लागि प्रहरीले काम गरिरहेको बताए । उनले प्रहरीले सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको जानकारी दिए । लागूऔषध तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू विद्यालयस्तरमा, गाउँस्तरमा र विभिन्न सरोकारवालाहरूसँग गरिएको जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।