रोपाइँ जात्रामा न्यायको खोजी

हिक्मतबहादुर नेपाली
दैलेख, १२ भदौ ।
पछिल्लो समय बढ्दै गएका महिला हिंसाविरुद्ध दैलेखका युवाहरूले प्रदर्शन गरेका छन् । हिंसा पीडितलाई सरकारले न्याय दिन नसकेको भन्दै युवाहरूले रोपाइँ जात्रामार्फत् प्रदर्शन गरेका हुन् । युवाहरूले रोपाइँ जात्रामार्फत् महिला अधिकार र न्यायको खोजी गरे ।
महिला अधिकार र न्यायको खोजी गर्दै दैलेख जिल्लाका स्थानीयबासीहरूले विगतको भन्दा फरक शैलीबाट रोपाइँ जात्रा मनाएका हुन् । युवाहरूले नाङ्गो शरीरमा बलात्कारीलाई फाँसी र महिलालाई सम्मान हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । बलात्कार र यौनजन्य हिंसा बढ्दै गएको भन्दै त्यसलाई निरुत्साहित र नियन्त्रण गर्न जात्रामार्फत् सचेत गराएका हुन् । सरकारलेसमेत महिला हिंसा रोक्न कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न नसकेको युवा मनोज भण्डारीले बताए । ‘महिलाहरू असुरक्षित छन्, निरन्तर भइरहेका घटनाबाटै प्रष्ट छ’ उनले भने, ‘यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न जात्राको माध्यमबाट चेतनावृद्धि गर्न र सरकारलाई दबाब दिन खोजिएको हो ।’
महिला अधिकार र न्यायको खोजीसँगै जात्रामा मान्छे नै गोरु जस्तै भएर जुवामा नारिएर सडकमा देखिँदा असारको रोपाइँको झझल्को देख्न सकिन्थ्यो । बाजा गाजा र रोपार, बाउसेसँगै असारे भाकामा स्थानीयले रोपाई जात्रा मनाएका छन् । केही मानिस बोरा लगाएर सडकमा आए भने कोही विदेशी नागरिक जस्तै भेषमा सजिएका थिए । जात्रामा सरदार सरदारनी बनेर जात्रालाई रोमाञ्चक बनाइएको थियो । कला र संस्कृतिले भरिपूर्ण दैलेख सदरमुकाममा वर्षेमेलाले अझै रौनक बढाएको छ । यसवर्ष पनि विभिन्न क्लबहरूको अगुवाइमा रोपाइँ जात्रा मनाइएको हो ।

प्रकाशित मितिः   १३ भाद्र २०७५, बुधबार १६:०४