अहेबदेखि विशेषज्ञ डाक्टरसम्म

अवकाश लिएपछि पनि समाज सेवा गर्छु

उनी सानैदेखि सरसफाइमा विशेष ध्यान दिन्थे । स्वास्थ्यप्रति संवेदनशील थिए । उनको यही स्वभाव देखेका बाबुआमा र दाजुले उनलाई डाक्टर बनाउने सपना बुनिसकेका थिए । नभन्दै उनले पनि आफ्ना आमाबाबु र दाजुले देखेको सपना विपनामा परिणत गराए ।
उनी अर्थात् मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खड्का । बुबा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको कोखबाट वि.सं. २०२१ साल कार्तिक ११ गते वीरेन्द्रनगरको ईत्रामा जन्मिए, डम्बर । उनी सानैदेखि शान्त स्वभावका थिए । मेहेनती र लगनशील पनि थिए । आफ्नो र घरको सरसफाइको ख्याल राख्थे । त्यसैले पनि उनका दाजु पूर्णबहादुर खड्का भन्थे, ‘यसलाई डाक्टर बनाउनुपर्छ ।’ उनका आमाबाबुको सपना पनि छोरालाई डाक्टर बनाउने नै थियो । त्यसैले पनि उनले आफ्नो सपनाको पहिचान गर्नतिरै लागेनन् । परिवारको सपना पूरा गर्नेतर्फ नै आफूलाई केन्द्रित गरे । अन्ततः उनी डाक्टर भए । स्वास्थ्य सेवामार्फत् नै समाजका लागि योगदान पु¥याउने लक्ष्य लिएका खड्काले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो संघर्ष र पेसागत अनुभवहरू यसरी साटेः

म सानैदेखि शान्त र लगनशील स्वभावको थिएँ । पढाइमा भने मध्यमखालको विद्यार्थी हुँ । म कुनै निजी विद्यालयमा पढेको पनि होइन । सरकारी विद्यालयबाटै मैले एसएलसी उत्तीर्ण गरें । ईत्रामकै श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय ईत्राममा कक्षा १ र २ पढें । त्यसपछि दैलेखको भाषा पाठशालामा ३ कक्षा पढें । कक्षा ४ देखि ७ कक्षासम्म वीरेन्द्रनगरकै अमरज्योति माध्यमिक विद्यालय नेवारेमा पढें । कक्षा ८ देखि एसएलसीसम्मको मेरो शिक्षा जन उच्च माध्यमिक विद्यालयबाट पूरा गरें ।
मेरो बुबाआमा र दाजुको सपना मलाई डाक्टर बनाउने थियो । त्यसैले मेरो मनस्थिति पनि त्यस्तै बन्यो । म सानैदेखि स्वास्थ्य तथा सरसफाइमा अलिक बढी नै ध्यान दिने मान्छे । मैले मेरो र मेरो परिवारको चाहना अनुसार २०३६ सालमा एसएलसी पास गरेपछि सीएमए पढें । त्यतिबेला वीरेन्द्रनगरको कुहिनेपानीमा सीएमए क्याम्पस थियो । वि.सं. २०३८ सालमा सीएमए पास गरेपछि म काठमाडौं हानिएँ ।
वि.सं. २०३९ सालमा मानसिक वार्ड हस्पिटल काठमाडौंमा जागीर गरें । वि.सं. २०४० सालमा पोखरामा अहेव खुलेको थियो । परीक्षा दिएँ, पास पनि भएँ । मेरो पोस्टिङ पोखराको सार्देखोला हेल्थपोष्टमा भयो । त्यतिले मात्रै मेरो ईच्छा पूरा भएको थिएन । मलाई डाक्टर बन्ने सपना पूरा गर्नुथियो । डाक्टर पढाउनलाई घरको आर्थिक अवस्था मजबुत भने थिएन ।
दाई (पूर्णबहादुर खड्का) राजनीति गर्नुहुन्थ्यो । त्यतिबेला मैले आफै कमाउँदै पढ्दै गरें । घरमा एक जनालाई भन्दा अरुलाई पढाउने क्षमता थिएन । मेरो बाल्यकाल त्यति रमाइलो तरिकाले बित्न पनि पाएन । संघर्षमै बित्यो बालापन । त्यो बेलामा त्यति संघर्ष नगरिंदोहो त आज डम्बर खड्काको यो स्थान हुने थिएन जस्तो लाग्छ । त्यसमा मेरो दाई पूर्णबहादुर खड्काको ठूलो सहयोग छ । दाईको डरले पनि कुनै गलत कदम उठाइएन ।
बाल्यकालमा मैले पैसाको कमाउनका लागि वृक्षारोपण समेत गरेको छु । मलाई त्यो दिन आज पनि याद छ । मैले एक महिना जति कटकुवामा बसेर वृक्षारोपण गरेको थिएँ । धेरै साथीहरू थियौं । त्यसबापत प्राप्त पैसाले एउटा टेरीकर्टनको सर्ट किनेको थिएँ । त्यो बेलामा वर्षको एकपटक मात्र घरमा कपडा किनिदिने चलन हुन्थ्यो ।
ईत्राममा बाल पुस्तकालय छ । म त्यसको संस्थापक पनि हुँ । हामीहरूले वि.सं. २०२८ सालमा त्यो बाल पुस्तकालय स्थापना गरेका हौं । त्यसमा शंकर प्याकुरेल, लालबहादुर कोइराला लगायतका साथीहरू हुनुहुन्थ्यो । हामीहरूले हरेक वर्ष नाटक पनि देखाउँथ्यौं । त्यो पैसाबाट नयाँ किताबहरू किन्ने गर्दथ्यौं ।
वि.सं. २०४० सालमा म सार्देखोला हेल्थपोष्ट पोखरामा जागिरे थिएँ । तर त्यहाँ रहिरहन सकिनँ । ६ महिना पनि नबिताइ काठमाडौं फर्किएँ । मानसिक अस्पताल लगनखेलमा काम गर्न थालें । अमृत साइन्स क्याम्पसमा पढें । प्रथम वर्षको रिजल्ट त्यति राम्रो भएन । त्यसपछि मैले महाराजगञ्ज क्याम्पसमा एचए पढें । तीन वर्षे कोर्ष थियो । एचए पास गरेपछि लोकसेवा आयोगको परीक्षा दिएँ । सुर्खेतबाट एचएका लागि लोकसेवा खुलेको थियो । परीक्षा दिएँ, पास भएँ । त्यो बेलामा जिल्ला अस्पताल सुर्खेतमा पनि एचएको कोटा खाली थियो । तर मलाई कालिकोट पठाइयो । कालिकोटमा पनि मैले राम्रै काम गरें । तर मेरो उद्देश्य त पढ्नु थियो । त्यसैले ६ महिना जति कालीकोट बसेर म वीर अस्पताल काठमाडौंमा गएँ । त्यहाँ तीन वर्ष जति इमर्जेन्सीमा काम गरें । त्यसपछि २०४८ सालमा नेपाल सरकारको पूर्ण छात्रवृतिमा म यूएस सरकार हाल (रसिया) मा सात वर्षे एमबीबीएस डाक्टर पढ्न गएँ ।
त्यो बेलामा सात वर्षको भाषा पढेर आएपछि मेरो तलबी बिदा स्वीकृत भएको होला भनेको त बेतलबी बिदा स्वीकृत भएको रहेछ । तर पनि आफ्नो जागीरलाई निरन्तरता दिएँ । २०५६ सालमा लोकसेवा दिएर मेडिकल अफिसर उत्तीर्ण गरें । त्यही वर्ष मैले विवाह पनि गरें, बुटवलकी सञ्जु खातीसँग । उनी पनि डाक्टर नै हुन् । जागीर खाएपछि वीर अस्पतालमा एक वर्ष जति काम गरें । त्यसपछि सुर्खेत अस्पतालमा आएँ । मेरो परिवार पनि मेरीस्टोप सुर्खेतमा आइन् । तीन वर्ष जति मेडिकल अफिसरको रूपमा काम गरें र एम.डी.जी.पी विषय लिएर पिजी क्लास लिएँ । वीर अस्पतालबाट पिजी क्लास पास गरेको १० वर्ष भयो । म वि.सं. २०५७ सालबाट सुर्खेत अस्पतालमा नै कार्यरत छु । त्यतिबेलामा सुर्खेत अस्पताल थियो अहिले क्षेत्रीय अस्पताल भएको छ ।
लोकसेवा पास गरेरै म सुर्खेत अस्पताल आएको हुँ । म सुर्खेतको स्थानीय बासिन्दा भएकोले बाहिर जाने सोच्न सक्दिनँ । म मध्पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा २०७२ साल ६ महिना पाँच गतेदेखि हालसम्म मेडिकल सुपरिडेन्टेन्टको रूपमा काम गर्दै आएको छु । मलाई आफू प्रमुख हुँदा र अरुको अन्डरमा काम गर्दा त्यति फरक लागेको छैन । किनकी म स्थानीय बासिन्दा भएकोले मलाई सुर्खेतीको माया छ । त्यसैले मैले जुनसुकै अवस्थामा पनि सबैलाई सहयोग गरें ।
म मेरो पेसाप्रति गर्व गर्छु । काम गर्ने क्रममा धेरै अप्ठ्याराहरू आउँछन् । बिरामीको चाहाना झन् बढ्दै गएको छ । हामी भगवान् होइनौं तर आरोप डाक्टरलाई आउँछ । हामी डाक्टरहरूको चाहाना सकेसम्म बिरामीलाई कुनै पनि खालको अप्ठ्यारो नपारौं भन्ने हुन्छ । तर केही डाक्टरहरूको लापरबाहीले बिरामीको सफल उपचार हुँदैन । मलाई जस्तोसुकै अवस्थामा पनि पेसा छोडौं जस्तो लाग्दैन । मैले रात दिन यही अस्पताल भनेर काम गरेको छु । नामले क्षेत्रीय अस्पताल भए पनि खास यो ५० शैयाको अस्पताल हो । तर अहिले एक सय २० शैयाको अस्पताल बनाएका छौं । यो अस्पताल हरेक क्षेत्रमा उत्कृष्ट छ । नयाँ प्रसूती सेवा, डायालाशीस सेवा लगायतका सेवा बिरामीलाई दिएका छौं । भवन तथा तालिम कक्षा थप गरेका छौं । नेपाल सरकारको सम्पत्ति मर्मत सम्भार नगरेर चलाउने चलन छ । हामीहरूले मर्मत गरेका छौं । मेरो जीवन नै बिरामीप्रति समर्पित छ । अवकाश लिएपछि पनि समाज सेवाको लक्ष्य मैले राखेको छु ।