जनस्वास्थ्यमाथि खेलवाड
साझा बिसौनी संवाददाता
सुर्खेत, ११ भदौ ।
वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा गत बुधवार बजार अनुगमन भयो । अनुगमन गर्दा कतिपय पसलहरूमा मूल्यसूची नै राखिएको थिएन भने कतिपयमा म्याद नाघेका खाद्यवस्तुहरूको निर्बाध बिक्री वितरण समेत भइरहेको थियो । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने दैनिक उपभोग्य वस्तुमा हुने मिसावटदेखि म्याद नाघेका र अखाद्य वस्तुको बिक्री वितरण भइरहे पनि यसको उचित नियमन हुन भने सकेको छैन । जसको प्रत्यक्ष र अप्रत्यक्ष असर उपभोक्ताको स्वास्थ्यमा परिरहेको छ । अनुगमन र नियमन प्रभावकारी नहुँदा यस्तो भएको सरोकारवाला बताउँछन् ।
सदरमुकाम वीरेन्द्रनगर लगायत जिल्लाभरी नै म्याद नाघेका खाद्य वस्तुको बिक्री बढेको गुनासो उपभोक्ताहरूले गरेका छन् । पटक–पटक संयुक्त बजार अनुगमन समितिले गर्ने अनुगमनका क्रममा पनि खाद्य वस्तुहरूमा उत्पादन गरिएका कारखानाको नाम, उत्पादन गरिएको र म्याद सकिएको तिथि मितिसमेत उल्लेख नभएको तथा म्याद सकिएका वस्तुहरू फेला पर्ने गरेका छन् । बुधवार नौ वटा पसलमा अनुगमन गर्दा पनि अधिकांशमा म्याद गुज्रेका वस्तु फेला परेका थिए ।
अनुगमनमा गएका वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले विभिन्न होटेल तथा खाद्य पसलहरूमा मूल्यसूची नराखिएको, म्याद नाघेका सामान राखेको र पसल नवीकरण नगरेको पाइएको जानकारी दिए । उनले भने, ‘हामीले पहिलो पटक सुझाव दिएका छौं । फेरि यस्तो भेटिएमा कानून बमोजिम दण्ड जरिवाना र सामान जफत समेत गर्नेछौं ।’
अनुगमन हुन्छ, कारबाही हुँदैन
अनुगमन समितिले विभिन्न समयमा बजार अनुगमन गर्ने गरे पनि कानून विपरित काम गर्नेलाई कारबाहीको दायरामा नल्याउँदा यस्ता कार्य दोहोरिने गरेका छन् । अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु, म्याद गुज्रेका वस्तुहरू संकलन गरेर जलाउने गरिएको छ । जिल्ला खाद्य इकाई सुर्खेतका खाद्य निरीक्षक भेषराज थापा सुरुवातमा सचेत गराउने र फेरि पनि सोही गल्ती दोहोरिए कानून बमोजिम कारबाही गरिने बताउँछन् । उनले अखाद्य वस्तुको बिक्री वितरण विस्तारै कम हुँदै गएको बताए । पहिलेको भन्दा सुधार भए पनि अपेक्षाकृत रूपमा सुधार हुन नसकेको उनको भनाइ छ ।
निरीक्षक थापाले कुनै पनि वस्तु खरिद गर्दा उपभोक्ता आफै पनि सचेत हुनुपर्ने बताए । खाद्यवस्तुमा भएको मिसावट र त्यसको म्याद नाघेको छ कि छैन भन्ने हेरेर मात्र कुनै पनि वस्तु खरिद गर्नुपर्ने बताए । त्यसैगरी कानून विपरित यस्ता वस्तुहरूको बिक्री वितरण नगर्न व्यवसायीहरू पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।
मूल्य पनि फरक–फरक
एकातर्फ निर्बाध रूपमा म्याद नाघेका खाद्यवस्तुहरू बिक्री वितरण भइरहेको छ भने अर्कोतर्फ बजारमा एउटै वस्तुको मूल्य पसल अनुसार फरक–फरक हुने गरेको गुनासो उपभोक्ताहरूको छ । पसलैपिच्छे दैनिक उपभोग्य सामानको मूल्य फरक भएपछि स्थानीय उपभोक्ता ठगिँदै आएका छन् । उपभोक्ता ठग्नकै लागि पसलहरूले मूल्यसूचीसमेत नराख्ने गरेको उच्च शिक्षा अध्ययनका लागि वीरेन्द्रनगरमा बस्दै आएका कालिकोटका कविराज रावतले बताए ।
प्रशासनले पटक–पटक मूल्यसूची राख्न निर्देशन दिए पनि व्यवसायीले खासै चासो देखाएका छैनन् । कतिपय व्यवसायीहरूले भने पसलमा देखिने गरी मूल्यसूची राखेका छन् । व्यवसायीले अत्यावश्यक वस्तुको मूल्य मनपरी निर्धारण गर्दा पनि सम्बन्धित निकायको ध्यान नपुगेको सर्वसाधारणको गुनासो छ । केही व्यवसायीले खाद्यान्नलगायत तरकारी, फलफूल फरक–फरक मूल्यमा महँगोमा बिक्री गर्दै आएको रावतले बताए । पसलमा मूल्यसूची नहुँदा सामानको वास्तविक मूल्य थाहा हुन नसकेको उनको भनाइ छ । ‘चिनीदेखि तेलसम्मको मूल्य पसलपिच्छे फरक छ । व्यवसायीले आफूखुशी मूल्य निर्धारण गरी बेच्दै आए पनि स्थानीय प्रशासनको ध्यान पुगेको छैन’ उनले भने ।
ऐनमा के छ ?
खाद्य ऐन २०२३ मा न्यूनस्तर तथा अखाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पहिलो पटक एक हजार देखि दुई हजार रूपैयाँसम्म जरिवाना र दोस्रो पटक देखि प्रत्येक पटक दुई हजारदेखि पाँच हजार रूपैयाँसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै गरी बारम्बार दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पाँच हजारदेखि १० हजार रूपैयाँसम्म जरिवाना वा १ वर्षदेखि २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै कुनै दूषित खाद्य पदार्थ खानाले कुनै व्यक्तिको मृत्यु हुने सम्भावना भएमा वा मृत्यु भएमा वा शरीरलाई अपुरणीय क्षति भएमा वा हुने सम्भावना भएमा त्यस्तो दूषित खाद्य पदार्थ उत्पादन वा बिक्री वितरण गर्ने व्यक्तिलाई १० हजार देखि २५ हजार रूपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद हुन सक्नेछ ।
साझा बिसौनी संवाददाता ।