कक्षा ११ र १२ मा अब सात विषय

साझा बिसौनी संवाददाता
काठमाडौं, ११ भदौ ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको पाठ्यक्रम संरचना २०७५ स्वीकृत गरेको छ । अब प्रारम्भिक बालकक्षादेखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको छ । परिवर्तित संरचना अनुसार विषयगत पाठ्यपुस्तकको तयारी थालिसकिएको छ ।
नयाँ संरचनामा कक्षा ११ र १२ मा संकाय खारेज गरी ७ विषय लागू गरिनेछन् । यसअघि पाँच वटा विषय मात्रै थिए । अब नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षासहित चार विषय अनिवार्य हुनेछन् भने तीन वटा ऐच्छिक । जीवनोपयोगी शिक्षालाई ऐच्छिक विषयसरह प्रतिहप्ता पाँच पाठ्य घण्टा छुट्याइएको छ । पाठ्यक्रमको प्रारूपमा कक्षा ११ र १२ मा गणित विषयलाई उपेक्षा गरिएको भन्दै विषय विज्ञले असन्तुष्टी जनाएका थिए । परिषद्ले तीनवटै ऐच्छिक विषय अध्ययन गर्ने विद्यार्थीले जीवनोपयोगी शिक्षाको सट्टा गणित अध्ययन गर्नसक्ने जनाएको छ । यसबाहेक प्रत्येक कक्षामा साताको २ पाठ्य घण्टा सूचना प्रविधि सम्बन्धी अभ्यास गराउने प्रबन्ध छ ।
साधारण धारबाहेक कक्षा ९ देखि १२ सम्म विद्यार्थीले प्राविधिक तथा व्यावसायिक, संस्कृत–वेद विद्याश्रम–गुरुकूल र परम्परागत शिक्षा समूह (बिहार–मदरसा) मा अध्ययन गर्न पाउनेछन् । यसअघि कक्षा ९ र १० मा आठ वटा विषय अध्ययन–अध्यापन हुँदै आएकोमा नयाँ पाठ्यक्रमले सात वटामा झारेको छ । स्वास्थ्य–जनसंख्या विषय हटाइएको छ । विज्ञानमा प्रविधि थप गरिएको छ । पाँच वटा अनिवार्य र दुई ऐच्छिक विषय छन् । त्यस्तै, कक्षा ६ देखि ८ सम्म अध्यापन हुँदै आएको पेशा व्यवसाय र नागरिक तथा नैतिक विषय हटाइएको छ । सामाजिक अध्ययनमा मानव मूल्य शिक्षा थप भएको छ । आधारभूत तहमै मातृभाषा र स्थानीय विषयमा पठन–पाठन गराउन प्रतिहप्ता चार घण्टा छुट्याइएको छ । कक्षा १–३ मा भने एकीकृत पाठ्यक्रम बनाएर विषयगत शिक्षण गर्न लागिएको छ ।
प्रारम्भिक बाल विकास कक्षामा दैनिक एक घण्टा मनोरञ्जनसहित आधारभूत र विषयगत सीप सिकाइको क्षेत्र निर्धारण गरिएको छ । यसअघि बाल विकास शिक्षाको आफ्नै पाठ्यक्रम थिएन । निःशुल्क तथा अनिवार्य शिक्षा ऐनको मस्यौदामा पनि कक्षा १ मा भर्ना हुनुअघि एक वर्ष अनिवार्य रूपमा बाल विकास कक्षा पढ्नुपर्ने उल्लेख छ ।

प्रकाशित मितिः   १२ भाद्र २०७५, मंगलवार १२:३७