प्रहरी–नागरिक सहकार्यमा जोड

पञ्चपुरी, ११ भदौ । (साबिस)
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले कानून उल्लंघन गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताएका छन् । सोमवार इलाका प्रहरी कार्यालय बावियाचौरद्वारा आयोजित नागरिकसँग प्रहरीको अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अपराध नियन्त्रण गर्न प्रहरीलाई नागरिकले पनि साथ दिनुपर्ने धारणा राखे । प्रहरी र नागरिक दुवै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । आफूले जनताको हित भन्दा बाहिर रहेर कहिल्यै पनि काम नगर्ने एसपी रजौरेले बताए । उनले राजनीतिक आस्थाका आधारमा अपराधीहरूको संरक्षण नगर्नसमेत सबैसँग आग्रह गरे ।
विभिन्न हिंसात्मक क्रियाकलाप, लागूपदार्थ दुव्र्यसनी र अपराध न्यूनीकरण सम्बन्धी पश्चिमका सम्पूर्ण विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने पनि जनाइएको छ । साथै पश्चिम सुर्खेतमा आवश्यक थप प्रहरीविट स्थापना गर्न पहल गर्ने रजौरेले बताए ।
पञ्चपुरी नगरपालिका कार्यबाहक प्रमुख खड्क थापाले अपराधीलाई बचाउन खोज्नेहरू पनि अपराधी सरह नै भएको बताए । उनले इलाका प्रहरी कार्यालयसँग समन्वय गरी वडा र नगरपालिकाबाट हुने विभिन्न कार्यक्रमहरूलाई प्रभावकारी बनाउने समेत बताए ।

प्रकाशित मितिः   १२ भाद्र २०७५, मंगलवार १२:३६