आफूखुशी मूल्य वृद्धि
साझा बिसौनी संवाददाता
सुर्खेत, १० भदौ ।
सुर्खेतमा व्यवसायीहरूले आफूखुशी खसीको मासुको मूल्यवृद्धि गरेका छन् । जिल्लामा खसीको मासु प्रतिकिलो ६ सय रूपैयाँमा बिक्री
हुँदै आएको थियो । तर व्यवसायीहरूले आफूखुशी मृल्य बढाएर प्रतिकिलो सात सयदेखि सात सय ५० रुपैयाँमा बिक्री वितरण गरिरहेको पाइएको छ ।
ठूला शहरहरूमा मासुको मूल्य बढी भए पनि सुर्खेतमा नबढाइएकाले आफैले मूल्य बढाउनुपरेको व्यवसायीहरूको भनाइ छ । जिल्लाबाट बुटवल, भैरहवा, पोखरा, काठमाडौं जस्ता ठूला शहरमा खसी, बोका निर्बाधरुपमा बाहिरिन थालेपछि मासुको मूल्य बढाउनु परेको सुर्खेत मासु व्यवसायी संघका अध्यक्ष जनकबहादुर थापाले बताए । ‘सिधै किसानबाट बढी मूल्य दिएर बाहिरी जिल्लाका व्यापारीले खसीबोका खरिद गरेपछि मूल्य बढाउनु परेको छ,’ अध्यक्ष थापाले भने, ‘तीन महिना अघि प्रतिकिलो तीन सय ५० रुपैयाँमा खरिदबिक्री भएको जिउँदो खसी अहिले बढेर तीन सय ८० प्रतिकिलो खरिद गर्नुपर्दा मूल्य बढाउन बाध्य हुनु परेको हो ।’
उनले मूल्य समायोजनका लागि भदौ १ गतेदेखि खसीबोकाको मासु प्रतिकिलो सात सयदेखि सात सय ५० रुपैयाँमा बिक्री वितरण भइरहेको जनाए । उनका अनुसार खसी मासु व्यवसायीहरूको साउन २२ गते बसेको भेलाले मूल्य वृद्धि गर्ने निर्णय अनुसार मासुको मूल्य बढेको हो । जिल्लाका सबै सरोकारवाला तथा उपभोक्तालाई पूर्व जानकारी गराएर खसीको मासुको मूल्य वृद्धि गरिएको उनको भनाइ छ । सदरमुकाम वीरेन्द्रनगरमा खसीबोकाको मासुको मूल्य वृद्धि भए पछि जिल्लाभरी नै मासुको मूल्य बढेको हो ।
यता मासु व्यवसायीले खशीबोकाको मासुको मूल्य वृद्धि गरेपछि उपभोक्तामा यसको प्रत्यक्ष असर परेको उपभोक्ताहरू बताउँछन् । किसानले खसीको मूल्य बढाएका छैनन् । व्यवसायीले कसैको वास्तै नगरी मासुको मूल्य एक्कासी बढाउँदा नियामक निकायले मासुको अव्यवस्थित कारोबारलाई रोक्न कुनै चासो नदिएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्मा बताउँछन् । उपभोक्ताले यसको नियमन गर्न सरकारलाई आग्रह गरेका छन् ।
साझा बिसौनी ।