विद्युतविहीन बराहताल

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ भदौ ।
कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगरसँगै जोडिएको गाउँपालिका हो, बराहताल । सदरमुकामसँगै जोडिएको भए पनि हालसम्म पनि उक्त गाउँपालिका विद्युतविहीन अवस्थामा छ ।

विद्युत प्रसारणलाइन विस्तार नहुँदा बराहतालबासी अहिले पनि सोलारसहितका वैकल्पिक ऊर्जाको प्रयोग गर्न बाध्य छन् । पटक–पटक विद्युत विस्तारको माग राख्दा पनि बेवास्ता भएपछि यतिबेला बराहतालका केही अगुवा जनप्रतिनिधिहरू सोही माग पूरा गराउन स्थानीयदेखि प्रदेश सरकारसम्म धाउन थालेका छन् ।
बराहतालका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अगुवा प्रतिनिधिहरूको टोलीले शुक्रवार विभिन्न चार बुँदे मागसहित कर्णाली प्रदेश सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् । बराहतालको वडा नं. ५ देखि ९ सम्म तत्काल विद्युत सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइएको नेकपाका नेता ताराकेशर गौतमले जानकारी दिए । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीका साथै नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखालाई पनि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।
‘पोल र तार विस्तार भइसकेकाले तत्काल ट्रान्समिटर जडान गरी विद्युत सेवा सञ्चालन गर्नका लागि आवश्यक कार्य अघि बढाइदिन अनुरोध गरेका छौं’ गौतमले भने । ‘पटक–पटक माग राख्दा पनि अहिलेसम्म पश्चिम सुर्खेतमा विद्युत पुग्न सकेको छैन’ नेकपाकै अर्का नेता डम्मर गरंजाले भने, ‘जतिसक्दो छिटो विद्युत पु¥याउनका लागि हामीले प्रदेश सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराएका छौं ।’
ट्रान्समिटर नहुँदा बराहतालसम्म विद्युत विस्तार हुन नसकेको हो ।
यसका साथै उक्त टोलीले टेलिफोनको लाइन विस्तार गर्नुपर्ने, बड्डिचौरको प्रहरीचौकीको नयाँ भवन बनाउनुपर्ने, कृषि क्याम्पस स्थापना हुनुपर्ने माग पनि मन्त्रीलाई बुझाएको छ । बड्डिचौरमा रहेको टेलिफोनको टावरले राम्रो सेवा नदिएकाले ल्याण्डलाइन फोन र इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमलाई अनुरोध गरिएको हो । यसैगरी पुरानो भवनबाट सञ्चालन हुँदै आएको बड्डिचौर प्रहरीचौकीका लागि आवश्यक भवन निर्माण गर्न रकम उपलब्ध गराइदिन उक्त टोलीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गरेको छ ।
यसैगरी बड्डिचौरमा कृषि क्याम्पस सञ्चालनका लागि पनि प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलको ध्यानाकर्षण गराइएको छ । बड्डिचौरमा रहेको जनज्योति माध्यमिक विद्यालयलाई बीएससी एजी सञ्चालनका लागि आवश्यक पहल गरिदिन मन्त्रीलाई अनुरोध गरिएको उक्त टोलीका संयोजक नन्दराम अधिकारीले जानकारी दिए । टोलीमा अर्जुनकुमार बुचा, घनश्याम पौडेल, सर्वजित गरंजा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ९ भाद्र २०७५, शनिबार १४:४७