ओझेलमा मालिका

मदनप्रसाद शर्मा
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा नौ स्थानीय तह छन् । उत्तर–पूर्वी सुर्खेतमा अवस्थित साविकको मटेला, रानीबास, रजेना, पाम्का र अवल्चिङ्ग गरी पाँच वटा गाविस मिलाएर हाल चिङ्गाड गाउँपालिका बनाइएको छ । यो गाउँपालिको पूर्वमा सिम्ता गाउँपालिका, पश्चिममा दैलेखको गुराँस गाउँपालिका, दक्षिणमा लेकवेशी नगरपालिका र दक्षिण–पश्चिममा वीरेन्द्रनगर नगरपालिका रहेकाछन् ।
यो गाउँपालिका सुर्खेतको सबैभन्दा सानो गाउँपालिका हो, जसमा ६ वटा वडाहरू छन् । भौगोलिक रूपमा विकट भएता पनि यहाँको हावापानी एकदमै राम्रो मानिन्छ । लाग्छ, भौगोलिक हिसाबले यो गाउँपालिका सुर्खेत जिल्लाकै विकट (दुर्गम) गाउँपालिकामा पर्दछ । यहाँ ठूल–ठूला भीरपाखा, छाँगा–छहरा र अत्यन्तै सुन्दर झरनाहरू पनि छन् । भौगोलिक विकटताका कारण यो अवस्थासम्म आइपुग्दा पनि यस गाउँपालिकासम्म सडक, सञ्चार, स्वास्थ्य र शिक्षाको राम्रो व्यवस्था भएको छैन । केही रूपमा विस्तार भएका सडक, सञ्चार, स्वास्थ्य र शिक्षाको सुविधा पनि मौसमे खेती जस्तै भएका छन् ।
देशले तीन तहको निर्वाचन गरी जनप्रतिनिधि निर्वाचित भइ नेतृत्व सम्हालेको एक वर्ष बितिसक्दासमेत विकाश निर्माणले गति लिन सकेको छैन । यो गाउँपलिकाका बासिन्दा गरिबी, रुढीबादी परम्परा र पछौटेपनबाट पिल्सिएका छन् । यहाँ खेतीयोग्य जमिन भएता पनि सिँचाइ अभावका कारण खेतीको लागि आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ । यस क्षेत्रमा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, फापर, जौ र जुनेल जस्ता पहाडी खेतीहरू पनि वर्षामा निर्भर हुने गर्दछन् । यी बाहेक कृषकहरूले जिविकोपार्जनका लागि बेमौसमी खेती तथा नगदे बालीको खेती गर्नको लागि सिँचाइको विकास हुन जरुरी देखिन्छ । यहाँको प्रकृतिले हामीलाई विकटता मात्र होइन धेरै अवसर पनि दिएको छ । अग्ला–अग्ला छाँगा छहरा, गुफा र मनै लोभ्याउने झरनाहरूको विवेकपूर्ण तवरले प्रयोग गर्नसके प्रशस्त अवसर पनि हुनेछन् ।


चिङ्गाड गाउँपालिकाको वडा नं. ४ स्थित गुराँसे झरनाको ठिक उत्तरतर्फ रहेको ‘मालिका’ सुर्खेतको सबैभन्दा अग्लो चुचुरो हो । यो चुचुरोसम्म सडक विस्तार गर्नसके आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने र यसले गाउँपालिकाकै समृद्धिमा टेवा पुग्ने देखिन्छ । यसको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने अपेक्षा गर्न सकिन्छ । वर्षायाममा अत्यन्त सुन्दर हरियाली देखिने यो चुचरोमा हिउँदमा हिउँ पर्दा सेताम्य देखिने रमाइलो दृष्य यसको अर्को आर्कषक पक्ष पनि हो । चुचुरोको आसपास क्षेत्रको जंगलमा पाइने सेतबोक्रा र बाबियो जो नेपाली कागज बनाउन प्रयोग गरिन्छ भने तितेखर, हर्रो, बर्रो, अमला अन्य थुप्रै वनस्पति तथा जडिबुटी आयुर्वेदिक औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । टिमुर, अल्लो, अलैची खेती गरी निर्यात गरे यस गाउँपालिकाको बेरोजगारी समस्या सहजै हल हुने देखिन्छ ।
स्थानीय तहमै आधुनिक खेती प्रणाली तथा स्वरोजगारमूलक तालिम प्रदान गर्नसके विदेशिने युवाहरूको सख्यामा कमी आउनेछ भने अर्कोतर्फ रोजीरोटीका लागि प्रदेशिनुपर्ने बाध्यताको अन्त्य हुनेछ । यो चुचरोमा सदियौंदेखि काठ र ढुंगाबाट निर्माण गरिएको मन्दिर छ । जुन ‘मालिका बज्यै’ को नामले प्रसिद्ध छ । मालिका बज्यैको मन्दिर धार्मिक र ऐतिहासिक रूपले उत्तिकै परिचित छ । यहाँ प्रत्येक वर्ष श्रावण शुक्लपक्षको पूर्णिमाको दिन अर्थात् ऋषि तर्पणि (रक्षा बन्धन) मा धुमधाम मेला लाग्ने गर्दछ । ऋषि पूर्णिमाको अघिल्लो दिन पूर्णिमा ब्रत बसेका भक्तजनहरू चतुर्दर्शी तिथीका दिन आएर वर्षभरीका आफ्ना सबै दुःख टाढा होउन, एक वर्षसम्म कुनै कष्ट भोग्न नपरोस् भन्दै भजन–कृतन गरी बत्ती बाली मनले चाहेको पूरा होस् भनि आशिष माग्दै जागराम बस्ने गर्दछन् ।
मन्दिरमा चर्तुदशी तिथिका दिन बत्ती बाल्नको लागि दैलेख जिल्लाको कट्टी, बाँसे, मनघर,पग्नाथ जाजरकोट जिल्लाको थालारैकर, सीमा, जुँगाथापचौर, साल्मा र सुर्खेतको मटेला, रानीबास, अवल्चिङ्ग, पाम्का र रजेनाबाट भक्तजनहरूको ओइरो लाग्ने गर्दछ, भने अर्कोतिर बृद्धबृद्धाहरू मालिका बज्यैका भक्ति भजन गाएर र युवायुवतीहरू लोकदोहोरी भाकामा नाच्ने रमाउने गर्दछन् । यो दिन गाउँदा–गाउँदै, नाच्दा–नाच्दै कतिपय युवायुवती एक आपसमा वैवाहिक सम्बन्धमा गासिन पुग्दछन् ।
जब बिहानीमा सूर्यले लाली छाउँछ, त्यसपछि वैदिक सनातन हिन्दु धर्म संस्कृतिमा आस्था राख्ने भक्तजनहरूले बैदिक मन्त्र उच्चारण गरी आफूले बालेका बत्तीहरू नजिकैको जलाशयमा गइ सेलाउँछन् अनि स्नान गरेर ब्राहमणद्वारा अभिमन्त्रित जनै परिवर्तन गरेर मात्र ध्यान जप गर्ने गर्दछन् । यस दिन सप्तऋषिहरूको पूजा गरी बैदिक मन्त्रद्वारा अभिमन्त्रित रक्षाबन्दन पनि बाध्ने गर्दछन् । उक्त दिन मन्दिरका पूजारी अर्थात् ब्राम्हणले (येन बद्दो बली राजा दानबेन्द्रो महाबलः , तेन त्वां प्रतिबन्ध्नामी रक्षे मा चल मा चल ।।) मन्त्र उच्चारण गर्दै रक्षाबन्धन वा राखी सबै भक्तजनहरूको हातमा बाँधी आर्शीवाद दिने गर्दछन् ।
यस मालिका बज्यैको मन्दिरलाई पर्यटकीय स्थल बनाउन सके यस मन्दिरको महŒव अझै बढ्ने देखिन्छ । सुख, शान्ति, समृद्धि र अमृतत्वको प्राप्ती मानिसको प्रमुख लक्ष्य भएको हुँदा एउटै मन्दिरमा यज्ञ यज्ञादी पूजा अर्चना गर्ने भक्तजनहरूले पनि फरक–फरक किसिमले अर्चना गरेको भेटिन्छ । पण्डित वा पूजारीहरू केही नबोली एकोहोरो पाठ, पूजा मात्र गराउँछन् भने भक्तजनहरू आफ्नो मन, विचार, भावना शुद्ध बनाइ मनोकामना पूरा होस् भन्दै एकाग्र भएर ध्यान गरिरहेका हुन्छन् । यस दिन गरेको पूजाआजाले वर्षभरी कुनै कष्ट नहोस्, दुःख भोग्न नपरोस्, सुख शान्ति होस्, कुनै दैवी घटनामा पनि मालिकाले रक्षा गरुन् भनि गाइको दुधको धार मालिकालाई चढाउने प्रचलन रही आएको छ । यो मेला धार्मिक दृष्टकोणले पनि महŒवपूर्ण मानिन्छ । अष्टमीको दिन मास, मुगी, चना, भटमास केराउ आही गेडागुडी भिजाएर राखी पूर्णिमाको दिन पकाएर रससहित खानाले वर्षाको सर्दी हट्छ भन्ने मान्यता पनि रही आएको छ । धर्म तथा संस्कृतिको संरक्षण सम्वद्र्धन र जर्गेना गर्नु हामी सबैको कर्तव्य तथा अधिकार पनि हो । मनुष्य जीवन लिएर जन्मेको जन्म भूमि, जन्मदिने माता, कुलवंश धर्मको रक्षा गर्न सकिएन भने आफ्नो जीवनको सार्थकता रहँदैन ।
अतः वर्तमान अवस्थामा हामी सबै मिलेर धर्म र संस्कृति बचाउनको लागि आ–आफ्नो क्षेत्रबाट विशेष जोडदिनु पर्दछ । हामी वरपर रहेका तर सञ्चार र विकासको अभावले प्रचारमा आउन नसकेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरूको पहिचान गराउन सके समृद्ध चिङ्गाडको सपना साकार हुने अपेक्षा गर्न सकिन्छ ।

लेखक चिङ्गाड गाउँपालिका–३ सुर्खेत निवासी हुन् ।

प्रकाशित मितिः   ९ भाद्र २०७५, शनिबार १४:४१