ज्यान जोखिममा राखेर विद्यालय
जगतदल जनाला बिक
पञ्चपुरी, ७ भदौ ।
कैलालीको मोहोन्याल गाउँपालिका–३ राङ्गा मलेखाकी खगी सलामी जगन्नाथ माध्यमिक विद्यालय बिजौरामा कक्षा १० मा अध्ययन गर्छिन् । बिहान ५ बजे उठ्छिन्, नास्ता खाइ÷नखाइ गरी ६ बजे नै विद्यालयका लागि निस्कन्छिन् । घुमाउरो बाटो हिँड्नुपर्ने भएकाले पैदल हिँडेर उनलाई सुर्खेतको बिजौरास्थित विद्यालयसम्म पुग्न तीन घण्टा लाग्छ ।
राष्ट्रिय शिक्षा परीक्षा (एसईई) को पूर्व तयारीमा रहेकी सलामीले ट्युसन पढ्न पाएकी छैनन् । ‘घरबाट ट्युसन भेटाउन सकिदैन’ उनले भनिन्, ‘गाउँबाट सिधै बिजौरा जोड्ने पुल नहुँदा पढाइसमेत छुट्छ ।’ बिजौरामा डेरा गरेर अध्ययन गर्नसमेत उनले सकेकी छैनन् । चिनेजानेका आफन्त र सँगै बस्ने साथी नहुँदा कोठा भाडामा बस्न नसकेको उनले बताइन् । उनलाई एसईई बिग्रने होकी भन्ने चिन्ता छ । भन्छिन्, ‘बिहान उठेदेखि साँझ परेसम्म विद्यालय पुग्न र फर्किन ठिक्कै छ । विद्यालय पुग्दाको थकानले साँझ गृहकार्य गर्न नै सकिदैन ।’
सलामीको गाउँ कर्णाली नदीले घेरिएको छ । विद्यालय आउन ज्यान जोखिममा राखेर डुङ्गा चढेर विद्यालय पुग्थिन् । तर, वर्षातसँग कर्णालीको बहाव बढेपछि हाल डुङ्गा सञ्चालनमा आउन सकेका छैनन् । जसले गर्दा उनले विद्यालय बिहानैदेखि साँझसम्म विद्यालयमा बित्छ । जगनाथ माविमा कक्षा नौ मा अध्ययनरत राधिका भुलले भनिन्, ‘कर्णाली नदीमा पुल नहुँदा वर्षामा मात्रै होइन् हिउँदमा समेत जोखिम मोलेर विद्यालय पुग्नुपर्छ ।’ अप्ठ्यारो र भिरालो बाटो भएकाले पानी पर्ने जस्तो मौसम भए विद्यालय नआउने गरेको उनले बताइन् ।
कर्णाली नदीमा पुल नहुँदा त्यस क्षेत्रका विद्यार्थीहरू वर्षेनी वर्षाको समयमा विद्यालय आउन सक्दैनन् । सलामी र राधिका मात्रै होइनन्, मलेखाबाट माध्यमिक तह अध्ययनका लागि २० जना विद्यार्थीहरू बिजौरा पुग्छन् । कर्णालीमा पुल नबन्दा त्यस क्षेत्रका विद्यार्थीहरू ३० मिनेट लाग्ने बाटोमा तीन घण्टा हिँडेर अध्ययन गर्न विद्यालय पुग्ने गरेका छन् । ‘डुङ्गा सञ्चालनमा आएपछि विद्यालय पुग्न ३० मिनेट लाग्छ’ उनले भनिन्, ‘एक महिना हुने वर्षे बिदापछि पनि नियमित पढन् पाइदैन ।’ कर्णाली नदीमा पुल निर्माण गर्नुपर्ने र तत्कालका लागि छात्रवासको व्यवस्था गर्नुपर्ने विद्यार्थीको माग छ । घरबाट विद्यालय पुग्न नसक्ने अवस्था भएकाले स्थानीय सरकारले छात्रबासको व्यवस्था गर्नुपर्ने उनले बताइन् । गाउँ भौगोलिकसँगै वर्षातको समयमा यसक्षेत्रका विद्यार्थीहरूले पढाइबाट वञ्चित हुनुपर्ने अवस्था छ ।
चौकुने गाउँपालिका–१० केउडीबाट बिजौरा अध्ययन गर्न आउने विद्यार्थीहरू पनि पहिरोले बाटो अवरुद्ध भएपछि विद्यालय आउन सकेका छैनन् । स्थानीय सरकारले विद्यार्थीका समस्याप्रति चासो नदिएको विद्यार्थीको गुनासो छ ।
साझा बिसौनी संवाददाता ।