‘बालमैत्री शासन कायम गर्छौं’
सुर्खेत, ७ भदौ । (साबिस)
स्थानीय सरकारका प्रतिनिधि र सांसदहरूले बालमैत्री स्थानीय शासन कायम गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीवार वीरेन्द्रनगरमा आयोजित बालअधिकार, दिगो विकासका लक्ष्य, बालमैत्री स्थानीय शासन र बालबालिकामा लगानी विषयक जनप्रतिनिधिसँग अन्तरक्रियामा सहभागी उनीहरूले यस्तो बताएका हुन् ।
बालबालिकाहरूको अधिकार संरक्षण गर्नमा प्रदेश र स्थानीय तहहरू गम्भीर रहेको उनीहरूको भनाई छ । अन्तरक्रियामा बोल्दै प्रदेश सभा सदस्य राजु नेपालीले बालअधिकार मैत्री कानुन निर्माण गर्न आफू गम्भीर रहेको बताइन् । बाल संरक्षण विना मुलुकको विकास नहुने भन्दै उनले बालबालिकाहरूको क्षेत्रमा लगानी गर्न सम्बन्धित ठाउँहरूमा आवाज बुलन्द पार्ने उल्लेख गरिन् । बालबालिकाहरूमाथि हुने हिंसाका घटना रोक्न सबै पक्षको साथ आवश्यक रहेको पनि उनले औंल्याइन् ।
अन्तरक्रियामा बोल्दै लेकवेशी नगरपालिकाका उप–प्रमुख शान्ति छन्तेलले आफ्नो नगरपालिकामा बालमैत्री शासन लागू गर्ने प्रतिबद्धता जनाइन् । उनले बालबालिकाहरूको विकास तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरू ल्याएको जानकारी दिइन् । तर आगामी दिनमा आवश्यक कानुन निर्माण गरेर दिगो विकास लक्ष्यलाई पूर्णता दिन बालमैत्री शासन कायम गर्नमा कुनै कसर बाँकी नराख्ने उप–प्रमुख छन्तेलले उल्लेख गरिन् ।
अन्तरक्रियामा सल्यान, जाजरकोट, दैलेख र सुर्खेतका १८ जना बालबालिकाहरूको सहभागिता छ । समाज जागरण केन्द्र (स्याक) नेपालको समन्वय, सेभ द् चिल्ड्रेनको सहयोग तथा कन्सोर्टियम नेपालको आयोजनामा सो अन्तरक्रिया भएको हो । अन्तरक्रियाको उद्घाटन सत्रमा स्याक नेपालका अध्यक्ष तथा कन्सोर्टियम नेपाल कर्णाली प्रदेशका संयोजक मीना तिवारी, सेभ द् चिल्ड्रेनका बालसंरक्षण अधिकृत बाले विश्वकर्मा, कन्सोर्टियम नेपालका पूर्व अध्यक्ष युवराज घिमिरे, स्याक नेपालका कार्यक्रम संयोजक तेज सोनाम लगायतको उपस्थिति थियो ।
साझा बिसौनी संवाददाता ।