दोबाटोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
विशद दाहाल/नारायण कँडेल
परिचय
वि.सं. २०६८ मा अलग्गै ऐनद्वारा बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाल कर्णाली प्रदेशस्थित जुम्लाको चन्दननाथ नगरपालिकामा अवस्थित छ । नेपाल सरकारले गरिरहेको स्वास्थ्य र मेडिकल शिक्षाको विकेन्द्रीकरणको अभ्यास स्वरूप स्थापित यो संस्थामा हाल धेरै विषयहरूमा विशेषज्ञ सेवाहरू उपलब्ध छन् ।
त्यस्तै यहाँ हाल हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र एनेस्थेसिया असिस्टेन्ट कोर्ष सञ्चालनमा छन् ।
कर्णाली क्षेत्र र वरपरका नौ जिल्ला (जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालीकोट, अछाम, बझाङ, बाजुरा, जाजरकोट) लाई प्राथमिकतामा राखेर स्थापित यो संस्था अब नव निर्मित कर्णाली प्रदेश (थप जिल्लाहरूः दैलेख, सुर्खेत, सल्यान र पश्चिम रुकुम) को एउटै प्रतिष्ठानस्तरको चिकित्सा शिक्षण संस्थाका रूपमा रहेको छ । हालै प्रतिष्ठान अन्तर्गतको अस्पतालको ३०० बेडसहितको आधुनिक भवन सञ्चालनमा आएको छ ।
जुम्लास्थित प्रतिष्ठानको अस्पतालबाट मात्र नभइ विभिन्न जिल्ला अस्पतालहरूबाट समेत प्रतिष्ठान सम्बद्ध विशेषज्ञ चिकित्सकहरूले सेवा दिने कामले पछिल्लो वर्षमा थप गति लिएको छ ।
तर अहिले यो प्रतिष्ठान सफलता र असफलताको निर्णायक दोबाटोमा उभिएको छ । एकतिर देश प्रादेशिक संरचनामा गइसकेको अवस्थामा सिंगो कर्णाली प्रदेशको नेतृत्वदायी शिक्षण र स्वास्थ्य संस्थाका रूपमा यसलाई विकसित गर्ने अवसर प्रदेश र केन्द्रीय सरकारहरूसँग छ भने यसको स्वामित्व र व्यवस्थापन लगायतमा रहेका चुनौतीहरूका कारण यो असफल हुने डर पनि उत्तिकै टड्कारो छ । खास गरी कर्णालीको जुम्ला जस्ता कम जनघनत्व भएका ठाउँहरूमा एमबीबीएस जस्ता कार्यक्रमको औचित्य र सम्भावना दुवै नभएकाले यस्ता ठाउँमा ठूला अस्पताल बनाएर शिक्षणको पाटोलाई सुर्खेत वा नेपालगन्ज जस्ता ठूला सहरमा झार्नुपर्छ भन्ने मत पनि खास गरी काठमाडौंमा बलियो छ । त्यो अवस्थामा एमबीबीएस लगायतका कार्यक्रमहरूका लागि भनेर भएको अरबभन्दा बढी लगानीको अवस्था के हुन्छ भन्ने प्रश्न छ ।
हाल खलंगाबजारस्थित परिसर प्रांगणबाहेक चन्दननाथ नगरपालिकाभित्रै र बाहिर गरी बेसिक साइन्स र अन्य भवनहरूका लागि भनेर प्रतिष्ठानले जग्गा निःशर्त अनुदान पाएकोमा तिनमा थप भौतिक संरचना बनाएर समय लगाएर भए पनि जुम्लाभित्रै सबै सुविधा र संकायहरूसहित शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने वा अहिले नै बिरामीको चाप धेरै भएको सुर्खेत क्षेत्रीय अस्पतालसँग कुनै न कुनै रूपमा सहकार्य गरेर सापेक्षतः छिटो एमबीबीएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने भन्ने प्रश्न कायम छ ।
हालको अवस्था
१. स्वास्थ्य सेवा
पतिष्ठानमा उपलब्ध सेवाः
यस क्षेत्रमा सुर्खेतभन्दा माथि विशेषज्ञ तहको सेवाको सख्त अभाव भएको समयमा खुलेको यस प्रतिष्ठानमा हाल नौ विषयका २३ विशेषज्ञ चिकित्सकहरू कार्यरत छन्
(हेर्नुहोस्, टेबल १) । साथै १२ जना मेडिकल अधिकृतहरूसमेत कूल ३५ जना चिकित्सकहरू अहिले कार्यरत रहेका छन् । अन्य जनशक्तिको विवरणका लागि हेर्नुहोः टेबल २ ।
टेबल १ः चिकित्सकहरूको संख्या
विषय चिकित्सक संख्या
हाड जोर्नी ४
एमडीजीपी २
सर्जरी ३
बाल रोग ३
इन्टरनल मेडिसिन १
मानसिक रोग १
स्त्री तथा प्रसुति रोग ३
दन्त रोग २
एनेस्थेसिया ४
मेडिकल अधिकृत १२
नोटः रेडियोलोजिस्ट नरहेकाले अल्ट्रासाउण्ड सेवा एमडीजीपी चिकित्सकहरूद्वारा दिइने
टेबल २ः अन्य जनशक्ति
प्रकार संख्या
नर्सिङ्ग ६४
प्रयोगशाला प्राविधिक ९
फार्मेसी ५
एक्स रे ६
अस्पतालको चारतले भवनमा रहेका ३०० बेडमध्ये हाल पहिलो दुई तलामा इमर्जेन्सी, प्रयोगशाला, विभिन्न वार्डहरू र अपरेशन थिएटर सञ्चालनमा छन् भने बाँकी दुई तला प्रयोगमा आइसकेका छैनन् ।
सामान्य शल्यक्रियाहरूबाहेक केही जटिल प्रकृतिका शल्यक्रियाहरू पनि संस्थानमा भइसकेका छन् जसमध्ये हेमिआथ्रोप्लास्टी (आधा जोर्नी प्रत्यारोपण) र मेरुदण्डको शल्यक्रिया पर्छन् । त्यस्तै प्रसूति सम्बन्धी जटिलताका कारण ज्यान जोखिममा परेका हुम्लाका दुई बिरामीलाई हेलिकप्टरबाट अन्यत्रको सट्टा प्रतिष्ठानमा ल्याएर सफल उपचार गरिएको छ । प्रसूतीकै एक जटिल रक्तस्रावको बिरामीलाई १४ जना व्यक्तिबाट ताजा रगत निकालेर दिएरसमेत ज्यान जोगाउने शल्यक्रिया गरिएको छ ।
जिल्लागत सेवा
यसै वर्षदेखि कालिकोट जिल्लामा प्रत्येक महिनाको १५ र २८ गत र मुगुमा प्रत्येक महिनाको २ गते विशेषज्ञ चिकित्सकहरूद्वारा ओपीडी सेवा सञ्चालित हुन्छ । त्यस्तै डोल्पामा तीन वर्षदेखि प्रतिष्ठानले एमडीजीपी चिकित्सक राखेर एकीकृत आकस्मिक मातृ तथा शिशु स्याहार सेवा
(सीईओएनसी) सेवा दिंदै आएको छ भने हुम्लामा एक एएसबीए र एक नर्स राखेर सीइओएनसी सेवा दिइरहेको छ ।
त्यस्तै जाजरकोटमा एक स्त्री रोग विशेषज्ञ र एक नर्ससहित सीईओएनसी सेवा उपलब्ध गराएको छ भने सुर्खेतस्थित अञ्चल अस्पतालमा हाल तीन विशेषज्ञ चिकित्सकहरू (सर्जरी, हाडजोर्नी र एनेस्थेसिया विभाग) प्रतिष्ठानबाट खटाइएका छन् । त्यस्तै कालिकोट, मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोट र सल्यान जिल्लामा पाठेघरको अपरेशन क्याम्प पनि प्रतिष्ठानले नै सञ्चालन गरेको छ ।
२. शैक्षिक कार्यक्रमहरू
४० सीट क्षमतासहितको हेल्थ असिस्टेन्ट कार्यक्रमको अहिले तेस्रो वर्ष चल्दैछ भने ४० सीटकै नर्सिङ्ग कार्यक्रमको पाँचौं वर्ष चल्दैछ र दुई ब्याचका नर्सहरू यहाँबाट निस्किेसकेका छन् । त्यस्तै यसै वर्षदेखि एनेस्थेसिया असिस्टेन्ट कार्यक्रममा चार जना विद्यार्थी अध्ययनरत छन् । हालसालै प्रतिष्ठानले नर्सिग काउन्सिलसँग १० सीट ब्याचलर इन मिडवाइफरी कार्यक्रमका लागि समेत अनुमति पाइसकेको छ ।
थप भौतिक सम्पत्ति
चेरिया चौरमा ४२२ रोपनी र धितामा १०० रोपनी जग्गा स्थानीयबासीले प्रतिष्ठानका लागि निःशुल्क अनुदान दिएका छन् जसमध्ये बेसिक साइन्सका लागि आवश्यक भवनहरू चेरिया चौरमा र नर्सिङ्ग तथा अन्य कार्यक्रमहरूका लागि भवन बनाउने अवधारणा ल्याइएको छ । यसबाहेक अरु जग्गा पनि प्रतिष्ठानलाई प्राप्त हुने विभिन्न चरणहरूमा रहेको छ ।
क्रमश
साझा बिसौनी संवाददाता ।