बालिकामाथि बर्बरता

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ भदौ ।
मंगलवार राती गुर्भाकोट नगरपालिकामा दुई बालिका बलात्कृत भए । तीजको नाच हेर्न छिमेकीको घरमा गएका १५ र १७ वर्षीया दुई बालिकालाई स्थानीय दुई युवाले नजिकैको विद्यालयमा लगेर जबरजस्ती करणी गरेका हुन् । बलात्कार गर्ने दुई जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक जना फरार छन् । उनको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसुदन न्यौपानले जानकारी दिए ।
यस्तै गत असार २८ गते राती १२ बजे गुर्भाकोट नगरपालिकाकै ५२ वर्षीय लोकबहादुर कामीले आफन्तकै ११ वर्षीय छोरीलाई बलात्कार गरे । त्यसको एक महिना बित्न नपाउँदै साउन १९ गते गुर्भाकोटसँग सिमाना जोडिएको भेरीगंगा नगरपालिकाका एक युवाले छोरीलाई बलात्कार गरे । कोठा सफा गर्ने बहानामा छोरीलाई बोलाएर जबरजस्ती करण गरेका हुन् । बुबाले आफूमाथि पटक–पटक बलात्कार गरेको ती बालिकाले प्रहरीसामु बयान दिएकी छिन् । आमा उपचार गर्न कोहलपुर गएको समयमा आमाको रिसले छोरीमाथि बलात्कार गरेको उनी आफैले समेत स्वीकार गरिसकेका छन् ।
यी घटना त बलात्कारका केही दृष्टान्त मात्रै हुन् । सुर्खेत जिल्लामा पछिल्लो समय बलात्कारका घटनाहरू बढ्न थालेका छन् । त्यसमा पनि विशेष गरेर बालिकाहरू बर्बर बलात्कारको सिकार भइरहेका छन् । केही महिनाअघि दुई जना छात्रा बलात्कार गरेको आरोपमा पञ्चपुरी नगरपालिकाका एक शिक्षक पक्राउ परेका थिए । कक्षा ७ मा पढ्ने २ बालिकालाई चकलेटसँगै यौन उत्तेजना बढाउने औषधि खुवाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी गत चैत्र १३ गते एसईई परीक्षा दिन बावियाचौरमा डेरा गरेर बसेकी पञ्चपुरी नगरपालिकाकै १८ वर्षीया गौरीकला रोकायको सामूहिक बलात्कारपछि हत्या भयो । किशोरी बलात्कारमा बावियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी नगरपालिका ८ का २८ वर्षीय खुमप्रसाद बास्तोला र उनका भाइ २० वर्षीय लक्ष्मी बास्तोला अहिले पुर्पक्षका लागि थुनामा छन् । यसरी जिल्लामा लगातार बालिकामाथि बर्बर रूपमा बलात्कार गरिएका घटनाहरू सार्वजनिक भइरहेका छन् । त्यसमा पनि प्रहरी, शिक्षक र आफन्तबाटै बलात्कारका घटना हुनुले सामाजिक असुरक्षाको अवस्था भयावह देखाएको छ ।
पछिल्ला केही महिना यता भएका घटना मात्र होइन पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने पनि जिल्लामा बलात्कारका घटना डरलाग्दो रूपमा देखिएका छन् । आर्थिक वर्ष २०७२÷२०७३ मा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३८ वटा जबरजस्ती करणका मुद्दा दर्ता भएका थिए भने त्यसको पछिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७३÷०७४ मा ३५ वटा र गत आर्थिक वर्ष २०७४÷०७५ मा ३६ वटा बलात्कार सम्बन्धीका मुद्दा प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्षको एक महिना मात्रै सात वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
यी त सार्वजनिक भइ उजुरी तथा मुद्दा दर्ता भएका बलात्कारका घटना मात्र हुन् । त्यसबाहेक घर–समाजको डर, धाकधम्की, ज्यानकै जोखिम हुने, बेइज्जतिको डर आदिका कारण धेरै पीडित महिला, किशोरी तथा बालिकाले आफूमाथिको अत्याचार सार्वजनिक गर्न सकेका छैनन् । दर्ता भएका घटनालाई हेर्ने हो भने पनि बलात्कारका धेरै घटना आफन्तबाटै भएका छन् । बलात्कारका केही घटना अदालतसम्म
पुगेका छन् भने केही अनुसन्धानकै क्रममा रहेका छन् । बलात्कारका कतिपय घटना भने प्रहरी कार्यालयसम्म पुग्दैनन् । बलात्कार जस्तो जघन्य अपराध पनि लेनदेनका आधारमा मिलापत्रमा टुंगिने गरेका छन् । विशेष गरी आफन्तबाट हुने बलात्कारका घटना प्रहरीसम्म आइनपुग्ने गरेको प्रहरीको भनाइ छ ।

कडा कानुनको माग
दिनानु दिन बलात्कारका घटना बढेसँगै सुर्खेतका महिलाहरूले बलात्कार रोक्न कडा कानुन बनाउन माग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सुर्खेतले बलात्कारीलाई फाँसी दिने कानुन ल्याउन माग गर्दै सरकारलाई ज्ञापनपत्र बmुझाएको छ ।
कानुन फितलो हुँदा दिन प्रतिदिन बलात्कारका घटना बढ्दै गएको ठहर गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । संगठनले बुधवार बलात्कारविरुद्ध विभिन्न मागहरू राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत् केन्द्र सरकारलाई ज्ञापन–पत्र बुझाएको हो । एक्काइसौं शताब्दीमा पनि महिलाहरू यौनजन्य हिंसाको शिकार हुनु परेको दर्दनाक अवस्थाको निराकरण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग छ । स्थानीय मंगलगढीचौकदेखि नाराजुलुससहित महिलाहरू जिल्ला प्रशासन कार्यलय पुगेका थिए । देशमा पछिल्लो समयमा बढ्दै गइरहेका बलात्कार तथा महिला हिंसाका घटनाप्रति सरकार गम्भीर हुन ज्ञापन–पत्रमार्फत् उनीहरूले आग्रह गरेका छन् ।

प्रकाशित मितिः   ७ भाद्र २०७५, बिहीबार १३:२६