प्रहरीलाई नयाँ भवन

सुर्खेत, ६ भदौ ।
ईलाका प्रहरी कार्यालय मेहेलकुनालाई सुविधायुक्त भवन हस्तान्तरण गरिएको छ । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बुधवार एक कार्यक्रमका बीच भवन हस्तान्तरण गरेका हुन् । नगरपालिको नौ लाख रूपैयाँ लागतमा भवन निर्माण गरिएको हो । नगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त भवनमा चार वटा कोठा छन् । दुई कोठा थुनुवा र अन्य कोठा प्रहरीले प्रशासन सञ्चालन गरिनेछ । भवन निर्माणमा एक लाख बराबरको जनश्रमदान गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर कार्कीले बताए । प्रहरी चौकी मेहेलकुनको पुरानो भवन भत्केपछि नगरपलिकाले नयाँ भवन बनाएको हो ।
नगर प्रमुख पुनले नगरपालिकाको सुरक्षा व्यवस्था मजबुत बनाउन कुनै कसुर बाँकी नराख्ने बताए । उनले शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको मात्र नभइ सम्पूर्ण नगरबासीको भएको बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले कुनै पनि प्रहरीले गलत काममा सहयोग नगर्न आग्रह गरे । प्रहरीको पुरानो भवन भत्किए पछि भाडाको घरमा सञ्चालनमा आएको थियो । नयाँ भवन पाएसँगै प्रहरीलाई थप सेवा प्रवाहमा मद्दत पुग्ने उनले बताए । उनले समाजमा हुने अपराधिक गतिविधि घटाउन नागरिकको महŒवपूर्ण हात हुने भन्दै प्रहरीलाई सघाउन आग्रह गरे । प्रहरीचौकी मेहेलकुनामा दरबन्दी अनुसार प्रहरी छैनन् । मेहेलकुना प्रहरीचौकीमा हाल १३ जनाको दरबन्दी रहेको छ । भवनको उद्घाटन गुर्भाकोट नगरपालिका–८ का वडा अध्यक्ष चित्रबहादुर रेग्मीको अध्यक्षतामा गरिएको हो ।