‘अपराधसँग सम्झौता हुँदैन’

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ भदौ ।
कर्णाली प्रदेशको राजधानी बनेसँगै सुर्खेतमा अपराध नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति लागू गरिने भएको छ । राजधानी भएसँगै जिल्लामा जनघनत्व बढेको र यसले अपराधमा पनि वृद्धि हुने आंकलन सुरक्षा संयन्त्रले गरेको छ । यही कारण पनि सुरक्षा निकायले सुरक्षित सुर्खेत बनाउने गरी रणनीति बनाएको हो ।

हालैमात्र सुर्खेतमा नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आएका छन् । जिल्लामा हाजिर भएसँगै प्रजिअ र एसपीले सुर्खेतलाई सुरक्षित बनाउने अठोट व्यक्त गरेका हुन् । आफूहरू सुरक्षित सुर्खेत बनाउन प्रतिबद्ध रहेको भन्दै जिल्लाको सुरक्षा कमाण्ड सम्हाल्ने दुवै प्रमुखले अपराधसँग सम्झौता नहुने बताए । जिल्लामा हुने अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने भन्दै उनीहरूले यसमा नागरिकको साथ पनि चाहिने उल्लेख गरे ।
यस्तै अपराध न्यूनीकरणमा प्रहरीले प्रभावकारी काम गर्न नसकेको जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालयले सुरक्षा सम्बन्धी नयाँ कार्ययोजना बनाएको छ । प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न र अपराध घटाउन जनतासँग सहकार्य गर्ने योजना तय गरेको हो । जिल्लामा अहिले मुख्यगरी लागूऔषध कारोवार, घरेलुहिंसा, बलात्कार, हत्याहिंसा, महिला तथा बालबालिका बेचविखन, बालविवाह, जुवातास, गण्डागर्दी, अवैध हातहतियार ओसार–पसास र घरेलु मदिरा लगायतका विभिन्न अपराधिक क्रियाकलाप रोक्न प्रहरीलाई चुनौती बनेको छ । जसलेगर्दा समुदायमा शान्ति सुरक्षा प्रदान गर्न नसकिएको प्रहरीले निश्कर्ष निकालेको छ ।
सोही अनुसार नै जिल्ला प्रहरी कार्यालय सुर्खेतले नयाँ रणनीति बनाएर अपराधविरुद्ध शसक्त भएर लाग्ने जनाएको छ । आगामी दिनमा अपराध न्यूनीकरण गर्न प्रहरीले अपराध हुने सम्भावित क्षेत्रका नागरिकसँग सहकार्यको योजना पनि बनाएको हो । अपराध समुदायमा हुने भएकाले नागरिकको सहायता आवश्यक ठहर गर्दै प्रहरीले जनतासँग सहकार्य गर्ने रणनीति तयार पारेको हो । स्थानीय नागरिकको शान्ति सुरक्षा र अपराधको अवस्थाबारे ‘टोल–टोलमा प्रहरी’ अभियान सुरु गरेको सुर्खेत प्रहरीले सुरक्षित समुदायका लागि लगतै कार्ययोजनाको कार्यान्वयन गर्ने जनाएको छ । आमनागरिकको सहयोग र सहकार्यवीना समाजलाई अपराधरहित गतिविधि न्यूनीकरण गर्न कठिनाइ हुने भन्दै कार्ययोजना बनाएर अपराधविरुद्ध प्रहरीले आवश्यक कदम चालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरले बताए । नौ वटा स्थानीय तहमा प्रहरी चौकीमार्फत् अपराध घटाउन जनस्तरमा प्रहरी परिचालन गरिनेछ ।
सुरक्षा रणनीति अनुसार विद्यालय, समुदाय, टोल, गाउँ तथा नगरपालिकामा जनचेतना अभिवृद्धि, छलफल, अन्तरक्रिया तथा सुझाव संकलन गरिनेछ । ‘प्रहरी जनताको सुरक्षामा सधै सचेत छ’ एसपी रजौरले भने, ‘नागरिकको सहयोगविना प्रहरी एक्लैले अपराध न्यूनीकरण गर्न सक्दैन्, जसले गर्दा आमनागरिक र प्रहरीबीचको सहकार्य हामीले थालेका हौं । प्रहरीबाट अपरासँग कुनै सम्झौता हुँदैन, अपराध रोक्न हामी सशक्त बन्नेछौं ।’ सरकारले भदौं १ गतेदेखि नयाँ मुलुकी देवानी तथा फौजारी संहिता कार्यान्वयन थालेको छ । सोही अभियानका क्रममा कार्यान्वयनमा आएको नयाँ कानुन बारे पनि आमनागरिकलाई जानकारी दिने योजना प्रहरीको छ । मुलुकी ऐन कार्यान्वयनबारे
प्रहरीको अन्यौलता हटेको भन्दै एसपी रजौरेले अब जनतालाई सचेत गराउने बताए ।
‘मुलुकमा नयाँ कानुन आएको छ, सोही अवसरमा हामीले जनतासँग सहकार्य गर्ने अभियान चलाउने योजना बनाएका छौं’ उनले भने, ‘ऐनबारे जानकारीसँगै अपराध न्यूनीकरणका लागि आवश्यक सहयोग प्रहरी र जनता परिवार भएर अगाडि बढ्छौं ।’ उनले मुलुकी ऐन अनुसार मानव अधिकारको संरक्षण हुने गरी नै अनुसन्धान प्रभावकारी बनाउने बताए । ‘हामीले सरोकारवाला व्यक्तिहरूसँग आवश्यक छलफल थालेका छौं’ उनले भने, ‘जनताका गुनासो सम्बोधन गर्न र अपराध रहित समाज निर्माणमा प्रहरी केन्द्रित भएको छ । आगामी दिनमा अझै सशक्त भएर लाग्छ ।’ उनले सरकारको नीतिभन्दा पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले थप क्रियाकलापहरू अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
यस्तै प्रमुख जिल्ला अधिकारी विनोदकुमार यादवले समाज रूपान्तरणका लागि नागरिक समाजको सहयोग अपरिहार्य भएको बताए । उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी र प्रशासनले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः   ४ भाद्र २०७५, सोमबार १५:४२